Comments Add Comment

राहत वितरणका झाँकी : एक डल्लो साबुन दिन यस्तो सकस !

२६ चैत, काठमाडौं । सरकारले देशव्यापी लकडाउन गरेसँगै देशभित्र ‘हुने खाने वर्ग’ र ‘हुँदा खाने वर्ग’ बीच स्पष्ट विभाजन रेखा कोरिएको छ । हुनेखाने वर्गका मानिसहरु होम क्वारेन्टाइनमा बसेर थरिथरि परिकार ‘ट्राइ’ गरिरहेका छन् र, त्यसको फोटो सामाजिक सञ्जालमा हालेर आफ्नो ‘औकात’ प्रदर्शन गरिरहेका छन् । हुँदा खाने वर्गचाहिँ दैनिक गुजाराका लागि राहत माग्न अनेक ठाउँ हात फैलाइरहेका छन् ।

सरकारले स्थानीय तहमार्फत विपन्न परिवारहरुको छनोट गरि राहत बाँड्ने रणनीति लिएको छ । यस्तै, विभिन्न संघ–संथा र व्यक्तिले पनि आ–आफ्नै शैलीले राहत बाँडिरहेका छन् । तर, यतिबेला राहत वितरण कम्ता चुनौतिपूर्ण छैन । सामाजिक दुरी कायम गर्दै पीडितका हातसम्म राहत सामग्री पुर्‍याउनु छ ।

त्यसको फोटो पनि खिच्नैपर्‍याे । सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने शैलीमा राहत बाँड्न जनप्रतिनिधि र संघ–संस्थाले विभिन्न उपाय लगाइरहेका छन् ।

अहिले विभिन्न भागभंगिमामा राहत वितरण गरिएका थुपै्र तस्वीर सामाजिक सञ्जालमा सेयर भइरहेका छन् । ती तस्वीर हेर्दा नचाहेर पनि हाँस्न कर लाग्छ । थोरै सामग्री दिनलाई दर्जनौं व्यक्तिहरु वरिपरि झुम्मिएका हुन्छन् । अनि गोदान गरेको शैलीमा मुख्य दातालाई सबैले छुन्छन् । सबैको अनुहारमा गौरवपूर्ण मुस्कान हुन्छ, यति गरेपछि समाजसेवीको दर्जामा परियो भन्ने भावसहितको ।
आज एउटा तस्वीर खुबै भाइरल भइरहेको छ । तस्वीरमा दाताले राहत बाँड्न निकै मौलिक जुक्ती लगाएका छन् । उनको हातमा एउटा लामो भाटो छ, जसको माथिल्लो भागमा थोरै चिरा पारिएको छ । त्यो चिरामा उनले एउटा सानो वस्तु (सम्भवतः सावुनको डल्लो) चेपेका छन् । अनि त्यो लामो भाटो पिडितसम्म पुग्नेगरि तेस्र्याएका छन् ।

झट्ट हेर्दा लाठीचार्ज गरेको प्रतीत हुन्छ । अलि नियालेर हेर्दा सेल्फी स्टिक प्रयोग गरेर तस्वीर पो खिचिरहेका हुन् कि भन्ने पनि लाग्छ । तेस्रो प्रयासमा मात्रै तपाईंले बुझ्न सक्नु हुन्छ कि राहत वितरण रहेछ ।

यतिबेला लकडाउनले धेरैको रोजिरोटी खोसिएको छ । दैनन्दिन काम गरेर गुजारा गर्नुपर्ने वर्ग नराम्ररी प्रताडित भइरहेको छ । त्यसैले उनीहरुलाई राहतको खाँचो छ । तर, राहत वितरण गर्दा सरल तरिका अपनाउन सकिन्छ । अनावश्यक भिड जम्मा गर्नु आवश्यक हुन्न ।

फोटो खिच्नु पनि अपरिहार्य नहोला । दुरी कायम गर्दै राहत दिनलाई यतिसाह्रो चटक आवश्यक पर्दैन । सामग्रीहरु एक ठाउँमा राखेर पीडितहरुले पालैपाले लैजाने व्यवस्था गर्न सकिन्छ । चर्चाको लोभ गर्दा राम्रो काम गर्दा पनि अनावश्यक रुपमा हाँसोको पात्र बन्न पुगिन्छ ।

राहत वितरणका उटपट्याङ दृश्यहरु अहिले मात्रै देखिएका होइनन् । भूकम्पदेखि शीतलहरसम्ममा गर्दा यस्ता दृष्यहरु देखिने गरेका छन् । सामाजिक सञ्जालमा भेटिएका केही तस्वीर हामीले संकलन गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment