Comments Add Comment

कोरोना परीक्षण गर्न तीन जिल्लाबाट ८०२ नमुना संकलन

२६ चैत, काठमाडौं । कोरोना संक्रमित बिरामी पत्ता लगाउन सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा नमुना संकलनको दायरा बढाएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम र दीपायल तथा कर्णाली प्रदेशका जुम्ला र सर्खेतबाट नमुना संकलन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारबाट अछाम, जुम्ला र सुर्खेतबाट आठ सय दुई वटा स्वाबको नमुना संकलन गरिएको छ । आठ सय दुई नमुनाहरु पीसीआर टेस्टका लागि संकलन गरिएको र काठमाडौं ल्याइसकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा नेपालीहरु सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा भित्रिएकाले सरकारले र्‍यापिड टेस्ट र पीसीआर टेस्टका लागि नमुना संकलन तथा परीक्षण गर्दै आएको छ । कैलाली जिल्लामा स्थानीय स्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएलगत्तै सरकारले र्‍यापिड टेस्टका लागि टोली परिचालन गरेको थियो ।

मन्त्रालयका अनुसार बुधबारबाट कैलाली र कञ्चनपुरमा परिचालित टोलीले एक सय ९८ वटा नमुना संकलन गरेको छ । यी नमुनाहरु र्‍यापिड किट र स्वाब गरी दुबै किसिमका रहेका डा. देवकोटाले जानकारी दिए ।

यसैगरी, सुदूरपश्चिम प्रदेशको अर्को जिल्ला दीपायलमा बिहीबारबाट नमुना संकलनको काम थालिएको छ । ‘दीपायलबाट तीन सय वटा नमुना संकलन गर्ने लक्ष्य छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म १९ सय ६५ वटा र काठमाडौं उपत्यकाबाहिर ४ सय ६१ वटा गरी कूल २३ सय ६६ नमुना परीक्षण गरिएको छ । यद्यपि कोरोना संक्रमित नयाँ व्यक्ति थपिएका भने छैनन् ।

डा. देवकोटाले भने, ‘यसको दायरा बढाइरहेको अवस्थामा आज पनि करिब एक सय ८० वटा केसका नमुनाहरु रन भइरहेको अवस्था छ । उपत्यका बाहिरबाट संकलन भएर आउने क्रम पनि जारी छ र नमुना परीक्षणको दायरा बढिरहेको छ । काठमाडौं र काठमाडौं उपत्यकाबाहिर हामीले नमुना संकलनलाई तीब्र पारेका छौँ ।’

१३४ जना आइसोलेसनमा, आठ हजार पाँच सय ८० जना क्वारेन्टाइनमा

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र काठमाडौं उपत्यका बाहिर गरी कुल एक सय ३४ जनालाई आइसोलेसनमा राखिएको छ । काठमाडौंमा १२ जना र काठमाडौं उपत्यकाबाहिर एक सय २२ जना आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

यसैगरी क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरु सबैमा कन्ट्याक्ट ट्रेसिङको काम सकिएको मन्त्रालयले जनाएको छ । हालसम्म कैलालीमा चार जना तथा बागलुङ र काठमाडौंमा २–२ जना गरी कुल आठ जना कोरोना संक्रमितको उपचार जारी छ । नेपालमा फेला परेका पहिलो संक्रमित भने उपचारपछि घर फर्किइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment