Comments Add Comment

लकडाउनमा उद्योग खोल्न उद्योगी नै अनिच्छुक

कर्मचारी व्यवस्थापन र बजारको समस्या

२७ चैत, काठमाडौं । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेयता अत्यावश्यक वस्तु उत्पादन गर्ने बाहेकका उद्योग-कलकारखाना ठप्प छन् । सरकारले पर्याप्त स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर बन्द उद्योगहरु खोल्न सकिने बताए पनि उद्योगीहरुले चासो दिएका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगभित्र रहेका कामदार बाहिर नआउने र बाहिरका व्यक्ति भित्र नजाने गरी ‘क्वारेन्टाइन’ बनाएर उद्योग चलाउन आग्रह गरेको छ । तर, उद्योगीहरु अहिलेकै अवस्थामा उद्योगहरु चलाउँदा खर्च मात्रै थपिने र कामदारको व्यवस्थापनमा जटिलता आउने तर्क गर्छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ब्यापार-व्यवसाय प्रभावित भएको अवस्थामा उद्योग मात्रै खोलेर अर्थ नहुने बताए । अत्यावश्यकीय औषधी, ग्यास, खाद्यान्न, खानेपानी लगायतका उद्योग सञ्चालनमै रहेको भन्दै उनले त्यसबाहेकका सामग्री लकडाउन अवधिभरि उत्पादन गर्न नसकिने उल्लेख गरे ।

‘लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि सरकारी नीति अनुरुप उद्योगहरु खुल्छन्,’ उनले भने, ‘अहिले अन्य उद्योग खोलेर त्यहाँका कामदार र उत्पादन कहाँ कसरी व्यवस्थापन गर्ने ? समस्या हुन्छ ।’

कामदारको समस्या

बजारमा अत्यावश्यक सामान उत्पादन गर्न चलिरहेका कतिपय उद्योगले हाल कामदार व्यवस्थापनमा समस्या भोगिरहेका छन् । श्रमिकले महामारीको जोखिममा पनि दैनिक कार्यालय आउनुपर्दा झन्झट मान्ने गरेको उद्योगी बताउँछन् ।

‘कतिपय श्रमिकमा अरु क्षेत्रका कामदार घरमा बसेरै तलव-सुविधा पाइरहेका छन्, म चाँही किन कार्यालय जाने भन्ने सोच पनि छ,’ एक उद्योगीले नाम नबताउने शर्तमा भने, ‘त्यसैकारण चालु हालतका उद्योगहरुले थप पारिश्रमिक दिने गरी काम लगाइरहेका छन् ।’

कतिपय उद्योगमा काम गर्ने कामदारलाई घरपरिवारले काममा रोक्ने समस्या छ । कतिपयलाई घरबेटी र छरछिमेकीले पनि बाहिर-भित्र नगर्न चेतावनी दिने गरेका छन् । सबैतिर संक्रमणको त्रास भएकाले उद्योग आउने/जाने गरिरहेका कामदारसँग छिमेकी र परिवारका सदस्य नै डराउने अवस्था रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोर बताउँछन् ।

‘सरकारले भित्रै कामदार राखेर चलाउन भनेको छ, तर ठूलो संख्यामा कामदार व्यवस्थापन गर्न र उनीहरुबीच सामाजिक दूरी कायम राख्न सहज छैन,’ उनले भने, ‘त्यसैले लकडाउन खुल्ने अवधिसम्म प्रतिक्षा गर्नु नै उत्तम हुने देखिन्छ ।’

केही उद्योगका श्रमिकले लकडाउनपछि पनि उद्योग खोलिरहने व्यवस्थापनको निर्णयको ट्रेड युनियनमार्फत प्रतिकार नै गरेका थिए । उनीहरुले उद्योगमा बस्दा आफूहरु असुरक्षित हुने र काममा लगाउने हो भने खानपान, बसोबास, सुरक्षाको पर्याप्त प्रवन्ध, दोब्बर तलबको माग गरेका थिए । त्यसका कारण कतिपय उद्योगले खुला राख्ने निर्णय कार्यान्वयन गर्न सकेका थिएनन् ।

खै बजार ? 

अहिले अत्यावश्यकीय वस्तुबाहेकका अन्य मालसमानको उत्पादन गर्दा पनि बजारमा बेच्न सकिने अवस्था छैन । सरकारले खाद्यान्न, तरकारी र फलफुल पसलहरु मात्रै खोल्न दिएको छ ।

विकास निर्माणको काम पनि रोकिएको छ । यसले गर्दा अन्य वस्तु उत्पादन गरेका उद्योगहरुले बजारमा सामान पठाउन सक्ने अवस्था छैन । परिसंघका अध्यक्ष मोर लकडाउनका कारण ब्यापार बन्द हुँदा वितरण प्रणाली ठप्प भएको बताउँछन् ।

‘एक त माग नै छैन, बिक्री-वितरण ठप्प छ, उत्पादन गरेर मात्रै के गर्ने ?’ उनी भन्छन्, ‘मानौं अहिले सिमेन्ट उत्पादन गरियो भने कहाँ लगेर बेच्ने ?’ मोरले बजारको  चक्रमै प्रभाव परेकाले उद्योग मात्रै चल्नुको औचित्य नहुने बताए ।

सरकारले उत्पादित वस्तु बजारसम्म लैजाने सवारीलाई पास उपलब्ध गराउने बचन दिएको  छ । अत्यावश्यक वस्तु बोकेमा सवारीले गुड्न पनि पाएका छन् । तर, अन्य माल वस्तुको भने उत्पादन र वितरण नभएकाले ढुवानी गर्नुपर्ने अवस्था नै छैन ।

कच्चा पदार्थ पर्याप्त

अहिले उद्योगहरुलाई कच्चापदार्थको ठूलो समस्या भने छैन । यहाँ उद्योग बन्द भए पनि नाका आएका कच्च्ापदार्थको जाँचपास पनि गरिएको छैन । तर, सरकारले उद्योग खोल्ने भए कच्चापदार्थ आयात गर्न दिने बताएको छ ।

तर, उद्योगीहरु यहाँ प्लान्ट बन्द भएकाले अहिले कच्चापदार्थको अभाव पनि नरहेको र नाकामा र आईपुगेको कच्चापदार्थ हतार-हतार छुटाउन आवश्यक नरहेको बताउँछन् ।

कतिपय उद्योगलाई भने लकडाउन खुलेपछि भारतसहित तेस्रो मुलुकबाट कच्चापदार्थ ल्याउन समस्या पर्ने डर छ । भारतमा लकडाउन लम्बिने सम्भावना रहेको र अन्य मुलुकमा पनि संक्रमण फैलिरहेकाले आयातित कच्च्ापदार्थका भरमा चल्ने उद्योगका मालिकहरु चिन्तामा छन् ।

परिसंघका अध्यक्ष मोर कच्चा पदार्थहरुको आयात सहज रुपमा हुने व्यवस्था गर्न सरकार जिम्मेवार हुनुपर्ने बताउँछन् । अवस्था सामान्य भएपछि उद्योगहरु चल्ने वातावरण तयार गर्न उद्योगीहरु पनि लाग्नुपर्ने उनको भनाइ छ ।

संकटको चिन्ता

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा अहिलेकै अवस्थामा उद्योगहरु सञ्चालन गर्न समस्या रहेको बताउँछिन् । सरकारले उद्योग चलाउने वातावरण बनाउन सहजीकरण र प्रोत्साहन गरिरहे पनि बन्द बजार, जटिल बनेको उद्योग तथा कामदारहरुको व्यवस्थापन लगायतका कारण समस्या परेको उनको भनाइ छ ।

‘अहिले सबैजसो क्षेत्रमा उद्योगधन्दा बन्द छन्, यसबाटक कति हानी-नोक्सानी भयो भनेर हामीले प्रभाव अध्ययन गर्न थालेका छौं,’ उनले भनिन्, ‘करिब २० दिनमा त्यसको प्रतिवेदन आएपछि कोरोनाका कारण कति उद्योग, कसरी कति प्रभावित भए भन्ने स्पष्ट हुन्छ ।’

नेपालको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ५.६ प्रतिशत छ । पछिल्ला वर्षमा उत्पादनमुलक उद्योगको योगदान नगन्य परिमाणमा मात्रै वृद्धि भइरहेको थियो ।

लोडसेडिङबाट मुक्ति पाएपछि केही सुधारिएको औद्योगिक क्षेत्रलाई कोरोनाले फेरि समस्यामा पारेको छ । सरकारले भने उद्योग क्षेत्रमा कोरोना संकटको न्युन मात्रै प्रभाव पर्ने बताएको छ । तर, लकडाउन लम्बिएर संकट गहिरिने चिन्ता थपिएको उद्योगीका विभिन्न संघ संगठनहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment