
२६ चैत, काठमाडौं । नायिका केकी अधिकारी भान्सामा खासै समय दिँदैन थिइन् । पकाउन पनि केही नआउने । चिया पकाउनु पर्दा पनि मन आत्तिन्थ्यो ।
खासमा त उनलाई पहिले फुर्सदै हुँदैनथ्यो । भान्सामा पस्यो, खायो, चुठ्यो, निस्कियो । अनि अरु नै कामको ध्याउन्न ।
तर, अहिले उनलाई फुर्सदै फुर्सद छ । त्यसैले यो समयको सदुपयोग गर्दै विभिन्न परिकार बनाउन सकिरहेकी छन् । अहिलेसम्म पेनकेक, आलुचप, गर्लिक मसरुम, आलुदम लगायत परिकार बनाउन खप्पिस बनेको उनले बताइन् ।
केकीले युट्युवको सहारामा यी परिकार बनाउन सिकेकी हुन् । त्यसैले युट्युव नै उनका लागि गुरूसरह भएको छ ।
उनी भन्छिन्, ‘मलाई पकाउनेबारे केही ज्ञान नै थिएन । जे सिकेँ, युट्युब हेरेर नै सिके । अहिले त अलिअलि परिकारहरु बनाउन जान्ने भइसकेँ ।’
यो मानेमा केकीको क्वारेन्टाइन बसाइँ लाभदायक भएको छ । उनी थप्छिन्, ‘धेरै कुरामा लकडाउन फाइदाजनक भएको छ । पकाउने सिकेँ । त्योसँगै आराम गर्ने समय पाएको छु। परिवारलाई समय दिन सकेको छु ।’
०००
नायिका वर्षा सिवाकोटी पनि भान्सामा खासै नपस्ने नायिका हुन् । पकाउने सीप उनको पनि थिएन ।
तर, अहिले वर्षाले पनि धेरै परिकार बनाउन सिकेकी छिन् । उनले अहिले मासुका आइटमहरु, खिर, हलुवा, अचारलगायतका परिकारहरु निकै मीठो बनाउँछिन् ।
वर्षा भन्छिन्, ‘पहिला म कमै मात्र किचेन छिर्थेँ । त्यसैले पकाउने राम्रो सीप थिएन । अहिले त म मीठो बनाउँछु ।’
वर्षाले पाककला आफ्नै आमाबाट सिकेकी हुन् । उनी भन्छिन्, ‘मेरो गुरू मेरी आमा नै हुन् । अचार बनाउन चाहिँ मैले युट्युबबाट सिकेँ। अरु मम्मीबाट नै सिकेकी हुँ ।’
वर्षा आफूलाई खान मन लागेको परिकार बनाउने गर्छिन् । त्यसमा जेसुकै पनि पर्नसक्छ ।
०००
कहिल्यै भान्सा नछिरेकी अर्की नायिका हुन्, रेखा थापा । उनलाई भान्साको काम फिटिक्कै आउँदैन थियो । तर, अहिले रेखा घरमा नितान्त एक्लै छिन् । त्यसैले आफ्नो लागि आफैँ पकाउनु पर्ने बाध्यता छ ।
उनी भन्छिन्, ‘पहिला त काम गर्ने दिदीले पकाएर दिनुहुन्थ्यो । अहिले उहाँ पनि बिदामा हुनुहुन्छ । आमा पनि विराटनगरमा । मेरो लागि आफैँ पकाइरहेकी छु ।’
रेखाले पकाउन सिकेको पहिलो परिकार हो, जाउलो । रेखा भन्छिन्, ‘मैले जाउलो पकाउन सिकेको छु । सबैकुरा एकै ठाउँमा हालेर पकाउने भएकाले सजिलो नै लाग्छ ।’
रेखा प्रायः उसिनेको खानेकुराहरु खाने गर्छिन् । त्यसैले उनले अन्य धेरै परिकार बनाउन सिकेकी छैनन् । उनी हरेक कुरालाई उसिनेर खाने गर्छिन् ।
रेखा भन्छिन्, ‘अहिले म स्वास्थ्यलाई लिएर निकै सर्तक छु । त्यसैले बोइल्ड खानेकुराहरु नै खाइरहेको हुन्छु ।’
रेखाले भाडा माझ्न पनि सिकेको बताइन् । उनले थपिन्, ‘मैले सिकेको अर्को कुरा भनेको भाडा माझ्न हो । अहिले त टिलिक्क पारेर भाँडा माझ्न जान्ने भइसकेँ ।’ अबको दिनमा एक्लै भएपनि पकाएर खान सक्ने आँट रेखामा आएको छ ।
०००
नायिका वर्षा राउत भान्साका काम गर्न रुचाउनेमा पर्छिन् । उनलाई पकाउन रमाइलो लाग्छ । उनी भन्छिन्, ’खाना बनाउनु त मेरो रुचि नै हो । मलाई थरीथरीका परिकारहरु बनाउन मनपर्छ ।’
उनलाई धेरै मान्छे भएको समयमा खाना बनाउन झनै रमाइलो लाग्छ । उनी भन्छिन्, ‘अहिले त सबैजना घरमा नै हुनुहुन्छ । त्यसैले पनि भान्सामा म नै अगाडि सर्ने गर्छु ।’
यो क्वारेन्टाइन बसाइँमा उनले सिकेको नयाँ परिकार पास्ता हो । उनी भन्छिन्, ‘मलाई विशेष गरेर नेपाली खानाको परिकारहरु बनाउन मनपर्छ । क्वारेन्टाइन बसाइँमा युट्युब हेरेर पास्ता बनाउन सिकेको छु ।’
०००
मुम्बईबाट फर्केकी नायिका बेनिशा हमाल अहिले सेल्फ क्वारेन्टाइनमा छिन् । उनी भान्सामा धेरै समय बिताउँछिन् । उनले धेरै परिकारहरु बनाउन सिकिसकिन् ।
बेनिशा भन्छिन्, ‘क्वारेन्टाइन बसाइँमा मैले सिकेका परिकारहरु धेरै छन् । मैले पास्ता, पेनकेक, प्रोटिन केक, आलु परठा, मम, सेलरोटी बनाउन सिकेको छु ।’
बेनिशाले यी परिकारहरु बनाउन केही युट्युबबाट सिकेकी हुन् भने केही परिकार बनाउन आफ्नो दिदीको सहयोग लिएकी छिन् ।
‘सेलरोटी र मम बनाउन मैले दिदीबाट सिकेँ, बेनिशा भन्छिन्, ‘अन्य परिकारहरु चाहीँ युट्युबबाट नै सिकेको हुँ ।’
बेनिशा आफूलाई माछाका परिकारहरु बनाउन मनपर्ने बताउँछिन् ।
०००
नायिका पूजा शर्मा पनि भान्सामा छिरिरहेकी हुन्छिन् । तर, पकाउन उति पोख्त छैनन् ।
क्वारेन्टाइनको बसाइँले उनलाई भान्सामा धेरै पटक पुर्याएिको छ । उनले रसगुल्ला र मम बनाउन सिकेकी छिन् ।
पूजा भन्छिन्, ‘मलाई रसगुल्ला ट्राई गर्न मन थियो । त्यो रहर पूरा भएको छ । मैले घरमा नै मम पहिलोपटक बनाएँ ।’
पूजालाई भान्सामा छिरेर चिकेन आइटमहरु बनाउन खुबै जाँगर चल्छ । उनलाई मन पर्ने परिकार भएकाले पनि चिकेन पकाउन उनी आफैँ अघि सर्छिन् ।
०००
नायिका प्रियंका कार्कीले भने लकडाउनको समयमा कुनै नौलो परिकारको अभ्यास गरेकी छैनन् । उनलाई त्यो फुर्सद पनि छैन ।
प्रियंका भन्छिन्, ‘म अहिले जस्ट अनादर लभ स्टोरीको दोस्रो सिजन र दुई विदेशी प्रोजेक्टमा काम गरिरहेको छु । त्यसैले नयाँ टेस्ट गर्ने समय नै छैन ।’
प्रियंका नयाँ परिकार अभ्यास गर्नको लागि बाहिर सामान लिन जानुपर्ने भएकाले अहिले त्यो सम्भव नभएको बताउँछिन् ।
‘नयाँ टेस्ट गर्न त सामान त्यही अनुसारको हुनुपर्यो । जुन सामान हामीसँग हुँदैन,’ प्रियंका भन्छिन्, ‘लकडाउनले गर्दा पूरै बन्द छ । सामान ल्याउन गाह्रो छ । त्यसैले नयाँ टेस्ट गर्न पनि गाह्रो छ ।’
प्रियंका नयाँ घरमा श्रीमान् आयुष्मान देशराज जोशीसँग बस्दै आएकी छिन् । त्यहाँ प्रियंका आफैँ खाना बनाउँछिन् । उनी भन्छिन्, ’हामी दुबै खानाका शोखिन हैनौँ । त्यसैले एकपटक पकाएको खानेकुराले दुई चोटीलाई पुगिहाल्छ । त्यो माथि हामी दिनमा एकचोटी मात्रै खाना खान्छौँ ।’
०००
भान्सामा कम मात्रै छिर्ने नायिकामा पर्छिन्, स्वस्तिमा खड्का । उनलाई साधारण खाना बनाउन आउँछ । तर, नयाँ परिकारहरु बनाउन उनले कुनै अभ्यास गरेकी छैनन् ।
स्वस्तिमा भन्छिन्, ‘घरमा हेल्प गर्नेहरुले नै खाना बनाउनुहुन्छ । मैले त्यस्तो नयाँ केही अभ्यास गरेको छैन ।’ आफू ‘फुडी’ नभएकाले जे दिएपनि मीठो मानेर खाइदिने स्वस्तिमा बताउँछिन् ।
अन्य धेरै सेलिब्रेटीहरु भान्सामा छिरिरहेको समयमा स्वस्तिमालाई किन भान्सा छिर्ने रहर भएन त ? भन्ने प्रश्नमा उनले भनिन्, ‘छिर्दै नछिर्ने भन्ने होइन । तर, नयाँ परिकार अभ्यास गर्ने भनेर छिरेको छैन ।’
प्रतिक्रिया 4