Comments Add Comment

मौसमी बाजा कहिले बज्छ प्रधानमन्त्रीज्यू ?

लकडाउनको १५ औं दिन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरे । सरकारले कोरोना संक्रमण फैलिन नदिन र फैलियो भने नियन्त्रण गर्नका लागि पूर्ण तयारी गरेको भन्दै धैर्य भई सरकारको निर्देशन पालना गर्न उनले आग्रह गरे ।

सम्बोधनमा प्रधानमन्त्रीले सोमबारसम्मको नमूना परीक्षण, मुलुकभरको आइसोलेसन, क्वारेन्टाइन अनि सातै प्रदेशमा सुरु गरिएको कोरोना भाइरसको नमुना परीक्षणको फेहरिस्त दिए ।

प्रधानमन्त्रीको पूर्ण तयारीभित्रको तयारी भने गर्भ मै रह्यो । उनले अबको दुई हप्ता थप चुनौतिपूर्ण रहेको पनि बताए । लक्षण प्रकट हुने अवधिमात्रै नभई समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि भएकाले महामारीको संक्रमण फैलिन नदिन लकडाउनलाई पालना गर्न पनि आग्रह गरे ।

कोरोना संक्रमणको लडाइँको पहिलो घेरामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा यस अभियानमा विभिन्न भूमिका निर्वाह गरेका सबैको योगदानलाई स्मरण गरे । अनि जीउज्यान जोखिममा राखेर सूचना प्रवाहमा अहोरात्र खटिएका सञ्चारकर्मी र समग्र मिडियाप्रति आक्रोश पोख्न पनि बिर्सेनन् ।

प्रधानमन्त्रीले भने ‘सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । ’

प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्रीको खरिदमा मिडियाले औंल्याएको आर्थिक अनियमितालाई सिधै ढाकछोप गरे । ‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्ने छैन,’ उनले पुरानै शैलीमा भने, ‘कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ ।’

मिडियाले सरकारलाई कामै गर्न नसक्ने गरी गलत प्रचार गरेको आरोप पनि प्रधानमन्त्रीले लगाउने प्रयास गरे । सरकारको सुस्त शैली देखेका मिडियाले नमूना परीक्षण बढाउन दबाव दिँदै समाचार सम्प्रेषण गरे । लकडाउन बढाउँदैमा समस्या समाधान हुँदैन, लकडाउनसँगै नमुना परीक्षणलाई बढाऊ भने ।

भारतीय सीमाबाट नेपाल छिरेका कोरोना संक्रमणको जोखिममा रहेका मान्छेको सही तथ्यांक राखेर आवश्यक निगरानी गरेको भए मिडियाले विदेशबाट आएका मान्छे खै ? भनी प्रश्न गर्ने थिएन ।

संक्रमण फैलिँदै गर्दा अन्तराष्ट्रिय उडान रोक, विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख भने मिडियाले । अझै पनि चैत ४ हवाई माध्यम हुँदै नेपाल आएका सबैको सम्पर्कमा सरकार पुग्न सकेको छैन, लौन तिनीहरुको सम्पर्कमा पुग भन्यो मिडियाले ।

जब स्वास्थ्य सामाग्री खरिदमा आर्थिक अनियमितताका बारेमा मिडियाले प्रश्न उठाए, अनि प्रधानमन्त्रीलाई लाग्यो, बेमौसमी बाजा ।

मिडियाले आर्थिक अनियमिताको लहरोको जरा बालुवाटारसम्म फैलिएको पटाक्षेप गरे, प्रधानमन्त्रीलाई लाग्यो, सरकारलाई असफल देखाउन र आफ्ना स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा ।

आर्थिक अनियमिताबारे छानविन गर्ने प्रतिवद्धतासँगै कमजोरी औंल्याइदिएकोमा धन्यवादको आशा गरेका मिडियालाई उनले भने ‘यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’ मिडियाले प्रधानमन्त्रीकै चाहनाबमोजिम कस्तो मौसमी बाजा बजाउनुपर्थ्यो त ? त्यो पनि भनिदिएको भए मिडियालाई सजिलो हुन्थ्यो ।

वरिष्ठ पत्रकार तीर्थ कोइराला भन्छन् ‘सरकारले जति कुरा जानकारीमा लिएको छ, मिडिया हुँदैनथ्यो भने सरकारले त्यति जानकारी लिन सक्दैनथ्यो । सारा ठप्प भएको अवस्थामा धेरै कुराको जानकारी मूलधारको मिडिया र सोसल मिडियाबाट आएको छ । मिडियाले गर्दै गरेन भन्न मिल्दैन । यो नगर्ने हो भने, के गर्ने हो भन्ने पनि मिडियाप्रति असन्तुष्ट व्यक्तिहरुबाट सुन्न पाए हुन्थ्यो ।’

बरिष्ठ पत्रकार कोइराला अगाडि भन्छन्, ‘राम्रो कामलाई त राम्रो भनेकै छौं नि उहाँहरु कसले नराम्रो भन्यो भनेर खोजेर पढ्नुहुन्छ । नेगेटिभ कुराहरु नोटिसमा लिनु राम्रो हो । कमजोरी भए सुधार्न तत्परता देखाउनुपर्छ । नभए तथ्यसहित आउनुपर्‍यो ।’

अर्का पत्रकारिताका अध्येता भानुभक्त आचार्य भन्छन् ‘नमुना परीक्षण व्यापक हुनुपथ्र्यो तर भ्रष्टाचार व्यापक भयो । म्यासिभ्ली भयो । सर्वसाधारण धन कमाउन छोडेर सास जोगाउन घरभित्र बसेका छन् । तिनका प्रतिनिधिहरु सास छोडेर कमाउन लागेका छन् ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त प्रधानमन्त्रीको सम्बोधनलाई चुनावी भाषणको जवाफी शैलीको संज्ञा दिएका छन् । उनले टुईट गर्दै भनेका छन् ‘यो आरोप–प्रत्यारोपको समय होइन । यो ज्ञान हामी सबैलाई भन्दा बढी प्रधानमन्त्रीलाई ज्ञान हुनुपर्छ । हामी सबै यहाँको साथमा छौं । आंैल्याइएका कमजोरीहरु अन्त्य गरौं । युद्धस्तरमा कार्य गरौं । रह्यो चुनावी भाषणको जवाफी शैली । पहिले कोरोनालाई जितौं, तबसम्म यो साँचांै हुन्न ?..’

सुरक्षा निकायका एक उच्च पदाधिकारी भन्छन्, ‘सुरक्षा निकायमा भर्ना गर्दा जहिले स्वस्थ्य व्यक्ति हेरिन्छ । अस्वस्थ्य व्यक्तिले सिंगो पल्टनलाई नेतृत्व दिन सक्दैन भनेर नै स्वस्थ्य व्यक्ति छानिएको हो । जब मान्छे शारीरिकरुपमा कमजोर हुन्छ, ऊ आफ्नो रणनीतिमा विश्वास गर्नुभन्दा अरुले उठाउन सक्ने औंला काट्न उद्दत्त हुन्छ । अहिलेको अवस्था शत्रुलाई पनि मिठो बोल्ने र ढाडस दिने समय हो । विश्वलाई नै हेरांै न ।’

‘मुलुकभरका ८ हजार बढी कार्यकर्तालाई परिचालन नगरी घरभित्रै थुनिएको छ । मैदानमा जोखिम मोलेर काम गर्नेको सातो लिने काम भयो । कोरोना संक्रमणको जोखिम क्षेत्रमा चुनाबमा घरदैलो पुगेजस्तै पुगेर प्रत्येक घरबाट एकजनाको नमुना संकलन गरिनुपथ्र्यो,’ नेकपाका एक नेताले भने ‘नेतृत्वले काम गरेर देखाउने हो, वाकयुद्ध गर्ने होइन । विगतदेखि हुँदै आएको यो युद्ध रोकिनुपर्छ । संकटको बेला सूचना सम्प्रेषणमा सरकार कस्तो छ, स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको कर्मकाण्ड तपाईले पनि देखिरहनुभएको छ ।’

जनतामा लकडाउन थप्दै जाने अनि कोरोना भाइरस संक्रमणको नमुना परीक्षणलाई बर्षभरि कखरामा सीमित राख्ने ? अनि भन्ने ‘कोरोना संक्रमण रोक्ने अचूक हतियार लकडाउन नै हो ।’ लकडाउन अनिवार्य छ । तर, लकडाउनसँगै सम्भावित र जोखिममा रहेकाहरुको नमूना परीक्षण तत्कालको आवश्यकता हो ।

कोरोना संक्रमणको भय र त्रासमा बन्द कोठामा बस्ने सर्वसाधारणको मनोविज्ञान सत्ता सञ्चालनको नेतृत्वले कहिल्यै बुझदैन । यो प्रवृत्ति नेपालमा मात्रै होइन, विश्वका शक्तिशाली राष्ट्रका प्रमुखमा पनि देखिएको छ । जनता चाहन्छन् कम्तिमा हाम्रा प्रधानमन्त्रीले विश्वबाट सिकुन् र जनताको जीउको सुरक्षाको प्रत्याभूति गरुन् । कोरोनाको माहामारी फैलन दिनबाट रोकुन् ।

मिडिया अनि जनताले भनिरहेका छन् । सरकार दक्षिण कोरिया र अमेरिकाबाट पाठ सिक । समय खेर नफाल । कोरोना भाइरसले न अमेरिकालाई चिन्छ, न दक्षिण कोरियालाई । तर, दक्षिण कोरियाले कोरोना भाइरसलाई चिन्यो, अमेरिकाले चिनेन ।

‘नमुना परीक्षणलाई व्यापक पारेमा मात्रै कोरोना भाइरस विरुद्धको लडाइमा विजय प्राप्त गरिन्छ भन्ने सन्देश दक्षिण कोरियाबाट सिक र नमुना परीक्षणको दायरा बढाऊ । आज मिडियाले यही भनिरहेको छ ।

जनस्वास्थ्य विज्ञहरुले सदूरपश्चिम प्रदेशमा कोभिड १९ संक्रमणका ४ बिरामी फेला परेपछि तत्काल उच्चस्तरको निगरानी गर्नुका साथै ठूलो परिमाणमा नमुना परीक्षण नगरे स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिइसकेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले सावधानी नअपनाइए सुदूरपश्चिममा कोरोना संक्रमण डढेलोको तहमा फैलन सक्ने चेतावनी दिइसकेका छन् ।

सरकारलाई अहिले बजार मूल्य भन्दा २ सय प्रतिशत बढी महंगोमा ओम्नी ग्रुपले ल्याएको ७५ हजार थान र्‍यापिड टेस्ट कीट प्रयोग गर्नुछ । विज्ञहरुले र्‍यापिड टेस्ट कीटबाट गरिने परीक्षणमा सत प्रतिसत सत्यता नहुने बताएका छन् । मिडिया फेरि पनि भन्छ– सरकार र्‍यापिड टेस्ट नभई पीसीआर प्रविधिबाट नै नमूना परीक्षण गर । सम्भावित जोखिमलाई खेलाँची नगर । गम्भीर अनि संवेदनशील बन ।

विश्वभर कोरोना संक्रमितको संख्या दैनिक ५०/६० हजारको दरले बढिरहेको छ । यसको नमुना परीक्षणमा हुने एक मिनेटको ढिलाई पनि धेरै महंगो पर्छ । विज्ञहरुले दिएको चेतावनीलाई नजरअन्दाज गर्ने सरकारको तौरतरिकामा मिडियाले खबरदारी गरिरर्‍यो । सरकार, तिमी यसलाई पनि बेमौसमी बाजा भन्छौ ?

नागरिक शिक्षामा सरकार कहाँ छ ?

सरकारले टेलिफोनका घण्टीमा निरन्तर होम क्वारेन्टाइनमा बस्न र आइसोलेसन बस्न भनिरहेको छ । सूचना प्रवाहमा यो अत्यन्तै प्रभावकारी हो । क्वारेन्टाइन र आईसोलेसनको अर्थ कति जनाले बुझेका छन् सरकार स्वयंले बुझेको छैन ।

सोमबार सरकारले १५ दिनको क्वारेन्टाइन बसेर घर फर्किएपछि पनि क्वारेन्टाईनमा बस्न भन्यो । काठमाडांै र शहरको जीवनशैली हेरेको सरकारले सहजै भन्दियो होम क्वारेन्टाइन । क्वारेन्टाइन र लकडाउनलाई जनताले कफ्र्यु बुझेका छन् । बिहान–साँझ जम्बो टिममा हिँड्ने क्रम रोकिएको छैन । मिडियाले भन्यो–लकडाउन र क्वारेन्टाइन भनेको कफ्र्यु होइन । घर, बाहिर ननिस्क ।

परिवारकै सदस्य भए पनि एक व्यक्तिदेखि अर्को व्यक्तिसँगको संसर्ग निषेध गर्नु क्वारेन्टाइन हो । शहरमा बस्ने केही धनाढ्य परिवारमा कोठै कोठा छन् र उनीहरुको जीवनशैलीमा क्वारेन्टाइन बस्न सजिलो पनि छ । तर, ग्रामीण क्षेत्रमा अझै पनि कयांै घरपरिवार यस्ता छन्, जहाँ परिवारका सबै सदस्य लस्करै सुत्नुको विकल्प छैन । तिनका लागि के गर्‍यो सरकारले ? मिडियाले फेरि भन्यो– सरसफाइको चेतना पुगेन । साबुनपानी र सेनिटाइजरको व्यवस्था गर ।

नेपाली मिडियाले सरकारलाई समयमै सचेत हुन आग्रह गर्‍यो । अन्तर्राष्ट्रिय उडान रोक, विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख भन्यो । यसो भन्दै गर्दा मिडियाले त्रास र भम फैलाएको आरोप लगायो सरकारले । जनताको अत्याधिक विश्वास जितेको सरकारका विभागीय मन्त्रीले क्वारेन्टाइनमा राख्न सक्दैनौं भनी ओठे जवाफ दिए । विश्वभर कोरोनाको संक्रमण फैलँदै गर्दा हाम्रा सरकार र सरकारमा रहेका मन्त्रीहरुमा अत्याधिक महत्वकांक्षा र अति शक्तिशालीको अहं मडारिएर आयो ।

भ्रमण बर्ष २०२० लाई सफल पार्नु थियो । नेपाललाई कोरोनामुक्तको घोषणा गरियो । नेपाल वायुसेवा निगमले उडान सुरु गर्ने भन्दै केहीलाई विदेश शयर पनि गराइयो ।

त्यतिबेला चीनबाट नेपाल फर्किएका एकजना विद्यार्थीलाई कोरोना संक्रमण देखिइसकेको थियो । उनलाई घरमै बस्न भनियो । पछि परीक्षण गर्दा निको भइसकेको भनियो । उनको सम्पर्कमा को–को थिए, आजसम्म सरकारले तिनको खोजी गर्न आवश्यक ठानेको छैन ।

मिडिया आज पनि भन्दैछ, लक्षण नदिने कोरोना संक्रमणका व्यक्तिहरु खोज, कन्ट्याक्ट टे«सिङ्ग गर । औंलामा गनिने नमुना परीक्षणले लामो समय लिँदा कोरोनाको संक्रमण भुसको आगो बनेर फैलन सक्छ । सरकार यसलाई पनि तिमी बेमौसमी बाजा ठान्छौ ?

मिडियाले यो पनि भनिरह्यो कि सबैलाई साथमा लिएर राज्यको संकट विरुद्ध लाग । सरकारको मात्रै मुख ताकेर नबस । सरकार एक्लैले सक्दैन यो संकटको सामना गर्न । र, मिडियाले लकडाउनको महत्व र पालना पनि सिकाइरह्यो । सरकार तिमी अझै कन्जुस्याई गर्छौ मिडियाको भूमिकालाई एक शब्द खर्च गर्न ?

सरकारले अहिले बालुवाटार, सिंहदरबार र शीतलनिवास भन्दा बाहिर दृष्टि पुर्‍याउन छाडेको छ । यो नेकपाकै नेता कार्यकर्ताले अनुभूत गरेको कुरा हो ।

भ्रष्टाचार नगर्ने र हुन नदिने प्रधामन्त्रीको प्रतिवद्धतामा आँच नपुगोस् भनेर मिडियाले देखाएको आर्थिक अनियमिततको भ्वाङ्गलाई उनले शल्यक्रिया नगरिकनै टालिदिए । उल्टो, मिडियाले अनावश्यक कुप्रचार गरेको प्रधानमन्त्रीले दाबी गरे ।

सुुदुरपश्चिम प्रदेशमा देखिएको कोरोना संक्रमणको भयावह स्थिति नियन्त्रणमा सरकारले बजाएको मौसमी बाजाको धुन सुन्न लालायित छन् जनता । कहिले बजाउनुहुन्छ प्रधानमन्त्रीज्यू मौसमी बाजा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment