Comments Add Comment

लकडाउन र कोरोनापछिको रणनीति के ?

विश्व नै आज कोभिड-१९ को संकटबाट गुज्रिरहेको छ । यो संकट मूलत: मानव जातिको ज्ञान, चेतना, व्यवहार र संस्कृतिमाथि आएको संकट हो । यसभन्दा पनि अगाडि धेरै संकटहरु नआएका होइनन्।

तर, त्यसको समाधान पनि मानवजातिले नै सहकार्य, समन्वय र ज्ञान र विवेकको माध्यमबाट नै गरेको थियो । आज पनि विश्वले कोभिड-१९ ले दिएको महासंकटको समाधान पनि मानवजातिबाट अवश्य नै खोजिरहेको छ ।

हाम्रोजस्तो विकासोन्मुख राष्ट्र नेपाल पनि कोरोना भाइरसको संक्रमणविरुद्ध लडिरहेको छ । अहिलेसम्म ९ जनामा यसको संक्रमण देखिसकेको छ । समयमा नै सचेत हुन नसक्दा र सरकारले पर्याप्त पूर्वतयारी गर्न नसक्दा विद्यमान जटिल परिस्थितिसँग जुध्न केही असहज र अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।

जसरी कोरोना भाइरसले जात, वर्ण, लिंग, धर्म, राजनिती केही नभनी विश्वमा नै सन्त्रास फैलाएको छ । त्यसैगरी यसको समाधान गर्न विश्वमा नै साझेदारी, देशभित्र पनि सबै दल, नागरिक समाज, सबै जनताको ऐक्यवद्धता र सक्रियतामा निर्भर गर्छ ।

त्यसैले आज कोभिड-१९ ले विश्व संकटमा छ । हामी पनि संकटको केन्द्रमा नै छौँ । विश्वव्यापी रुपमा नयाँ बहसको थालनी भएको छ । साथै सबै राष्ट्रसँग सहकार्यको हात पनि बढिरहेको छ । हिजोको मूल्य, सोच, व्यवहार र अवस्थाबाट आज काम गर्ने अवस्था छैन । विकसित होस वा विकासोन्मुख राष्ट्र नै किन नहोस् । यससँग लड्न सामर्थ्य, उच्च मनोबल जुटाउन सत्प्रयास गरिरहेका छन् ।

हामीले पनि यसको नियन्त्रणमा अहिलेसम्म भएका कमीकमजोरी, पूर्वतयारीको अवस्था, विद्यमान स्वास्थ्य संरचना, गुणस्तरीय उपकरण, स्वास्थ्य क्षेत्रमा देखिएको परनिर्भरता, अहिलेसम्म भोगेका कठिनाई र समस्याबाट केही पाठ सिक्नु नै पर्छ ।

यो महासंकटमा नेपाली जनाताले सरकारले गरेको लकडाउनलाई नियमपूर्वक पालना गर्दै सरकारले खेलेको भूमिका, प्रतिपक्षको उपस्थिति, नागरिक समाज र तीन तहमा सरकारका जनप्रतिनिधिहरुले यस सन्दर्भमा गरेको व्यवस्थापनलाई नेपाली जनताले नजिकबाट नियालिरहेका छन् ।

यस्तो संकटको घडीमा हामीले कस्तो रणनीति अपनाएका छौँ। निर्वाचनका बेला जनतासमक्ष भोट माग्दा कस्तो प्रतिवद्धता गरेका थियौँ । त्यो सबै स्मरण गर्दै हरेक राजनीति गर्ने नेतृत्व वर्गले जनतामाथि आइपरेका समस्यालाई समाधान गर्न नयाँ सोच, शैली र व्यवहार प्रदर्शन गर्दै नयाँ पुनःनिर्माणमा जुट्नुपर्छ । त्यसैले, एउटा दृढ र उच्च आत्मबलका साथ कोरोनाको महाव्याधिबाट नेपाली जनतालाई सुरक्षित गर्दै हतियारविनाकोे तेसो विश्वयुद्धलाई नेपाली जनताले जित्नु नै पर्छ ।

नेपाली जनता कहिल्यै हारेका छैनन् । त्यसैले अब कोरोनापछिको रणनीतिका बारेमा यही लकडाउनका बेलादेखि नै सोचौँ। व्यवहार बदलौँ, आफू पनि सुरक्षित रहौँ, अरुलाई पनि सुरक्षित राखौँ भन्ने निम्न रणनीति अपनाउनुपर्छ ।

१. स्वास्थ्य सेवालाई प्राथमिकता

भनिन्छ, स्वास्थ्य नै धन हो । शिक्षा र स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो । योविना राष्ट्र अगाडि बढ्न सक्दैन ।

विगतमा हामीले धेरै भौतिक संरचना निर्माण गर्‍यौँ । तर, स्वास्थ्य क्षेत्रमा जुन रुपले प्राथमिकताका साथ देशभरि प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य चौकी, अस्पतालको निर्माण गर्नुपर्ने थियो, त्यो गर्न सकेनौँ । यसका लागि पूर्वाधार विकास, गुणस्तरीय उपकरण र दक्ष स्वास्थ्यकर्मीको पनि व्यवस्था गर्न सकेनौँ। त्यसैले आज कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न हामा विद्यमान स्वास्थ्य संरचना पर्याप्त छैनन् ।

तसर्थ, आज असहज र अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । त्यसैले अहिले स्थानीय, प्रदेश र केन्द्र तहमा कोरोनाको उपचार गर्न निर्माण भएको संरचनालाई दीर्घकालीन रुपमा विकसित गर्दै सरकारीकरण गरी सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्न जरुरी छ । आगामी राष्ट्रको अधिकांश बजेट पनि स्वास्थ्य सेवाका क्षेत्रमा नै खर्च गरिनुपर्छ ।

२. जीवनशैलीमा परिवर्तन

कोरोनापछिको हाम्रो जीवनशैली परिवर्तन हुन जरुरी छ । जथाभावी खानपान, भिडभाडमा हिँडडुल, नचाहिँदो तडक–भडकलाई बदल्नुपर्छ । हाम्रो सोच आचरण, शैली, व्यवहार आदिलाई रुपान्तरण गर्दै मानवताको प्रदर्शन, समाज र राष्ट्रको उत्थानमा निरन्तर लाग्नुपर्छ । त्यो निरन्तर यात्राका लागि हामीमा असीम धैर्य, दूरदृष्टि र सकारात्मक सोचको आवश्यकता पर्छ । त्यसैले हाम्रो आचरण र व्यवहार बदल्नु नै पर्छ ।

३. आर्थिक संकटको निवारण

कोरोनाको महामारीले विश्व अर्थतन्त्रलाई ठप्प पारेको छ । आर्थिक मन्दीको असर नेपालमा पनि पर्ने निश्चित छ । पर्यटन, निर्माण, वैदेशिक रोजगारी र उद्योगधन्दा आर्थिक मन्दीको प्रत्यक्ष असर पर्ने देखिन्छ ।

यी सबै क्षेत्रलाई माथि उठाउन सरकारले न्यायोचित र वैकल्पिक रणनीति ल्याउन अत्यन्त आवश्यक छ। त्यसैले देशको अर्थतन्त्रमा सामान्य नदेखिने । तर, आन्तरिक रोजगाारी सिर्जना गर्ने, स्थानीय उपभोक्ताको माग र आपूर्तिलाई सहज बनाइराख्न ग्रामीण तथा शहरमा परिवारिक खेती, अनौपचारिक घरेलु उद्योगधन्दा, साना र मझौला व्यापारले महत्वपूर्ण भूमिका खेलेका छन् ।

तर, यसलाई संरक्षण गरिनुपर्छ भने नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन घरेलु उत्पादनमा बढावा, वैदेशिक रोजगारीका विकल्प, आत्मनिर्भर कृषि बनाइरहनुपर्छ । नयाँ पर्यटन क्षेत्रको सम्भावनाको खोजी गरिनुपर्छ भने निजी क्षेत्रलाई पनि प्रोत्साहन गरी आर्थिक संकटको निवारण गरिनुपर्छ ।

४. अत्यावश्यक सेवाको प्रभावकारी संयन्त्र

कोरोनाको महामारीमा हामी सबैले भोगिरहेको मुख्य कुरा भनेको अत्यावश्यक सेवा प्रभावकारी नहुनु नै हो । जनताले कोरोनाको जोखिम मोल्दै अत्यावश्यक वस्तु खाद्यान्न, नुन, तेल, ग्यास र तरकारीको जोहो गर्न बाहिर निस्कनुपर्ने असहज परिस्थितिको सिर्जना भएको छ । त्यसैले त्रासदीपूर्ण महामारीका बेला जोखिम उठाएर जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले नै अत्यावश्यक सेवा प्रदान गर्ने संयन्त्रको निर्माण गरिनुपर्छ ।

६. निम्न आय र आश्रित वर्गको तथ्यांक

अहिले सरकारले निम्न आय र विपन्न वर्गलाई स्थानीय तहमार्फत राहत स्थानीय तहका पालिकाका जनप्रतिनिधिहरुले गरिब, असहाय, विपन्न वर्गको तथ्यांक लिन जुटिरहेका छन् । राहत वितरण गर्न पनि सही तथ्यांक नहुँदा असजिलो भएको भन्ने जनपतिनिधिको गुनासो पनि आइरहेको छ । त्यसैले अब आउने दिनमा बेलैमा निम्न आय र आश्रित वर्गको तथ्यांक संकलन गरी चुस्तरुपमा राखेमा यस्तो विपतको घडीमा जनतालाई राहत वितरण गर्न सजिलो हुन्छ । साथै जनताको गुनासो पनि जनप्रतिनिधिले सुन्नुपर्दैन ।

७. परनिर्भतालाई न्यूनीकरण

अहिलेको अवस्थाबाट हामीले एउटा पाठ सिक्नु नै पर्छ । जबसम्म हामी आत्मनिर्भर हुन सक्दैनौँ, तबसम्म यस्ता विपतसँग जुध्न असजिलो पर्छ । जस्तो– आज पीपीई, किट, भेन्टिलेटरदेखि औषधिसम्म अर्को देशको मुख ताक्नुपर्ने अवस्था भएकाले स्वास्थ्यकर्मीले जोखिम मोल्नुपरेको छ भने कोभिड-१९ को परीक्षण द्रूत गतिमा हुन सकेको छैन । त्यसैले अब हामीले यस्ता परनिर्भतालाई न्यूनीकरण गर्ने उपायलाई बेलैमा अवलम्बन गर्नुपर्छ ।

८ विपत व्यवस्थापन प्राधिकरणको निर्माण

नेपालमा पटक–पटक ठूला विपतहरु आइरहेका छन् । जस्तो-महाभूकम्प ट्रोनाल्डो, बाढीपहिरो आदि महामारी राष्ट्रलाई विपत आइपर्दा एकद्वार प्रणाली अपनाउन केन्द्रीय स्तरमा समन्वयकारी निकाय विपत व्यवस्थापन प्राधिकरणको निर्माण गरिनुपर्छ । जसले गर्दा यस्ता विपत आउँदा फेरि यसको निवारण गर्न सजिलो हुन्छ ।

९ सूचना प्रविधिमा अभ्यस्त

लामो लकडाउनले सबै सरकारी र निजी क्षेत्र, सेवा केन्द, बैङ्क, पसल, व्यापारिक केन्द्र बन्द हुँदा ठूलो समस्या उत्पन्न भएको छ । यी सबै प्रणालीलाई इन्टरनेट, मोबाइल बैंकिड, अनलाइन सपिङ वा विद्युतीय प्रणालीको कारोबार गर्ने व्यवस्था गर्न सकिन्छ । त्यसैले अब सूचना प्रविधिमा अभ्यस्त हुनपर्छ ।

१०. नेतृत्वमा इमान्दारिता र पारदर्शिता

राज्य सञ्चालन गर्ने नेतृत्व प्रधानमन्त्रीदेखि मन्त्री एवं कर्मचारीसम्म इमान्दारिता र पारदर्शिता भएन भने जतिसुकै राम्रा संयन्त्र बनाए पनि संकटसँग जुध्न सकिँदैन । जस्तो– आज स्वास्थ्य सामग्रीको खरिदमा अनियमिताका कुरा बाहिरिँदा पनि राज्य सञ्चालन गर्ने प्रमुख व्यक्ति अर्थात अन्य निकायहरु पारदर्शी हुनैपर्छ ।

११. राज्यका सबै संयन्त्र चुस्त दुरुस्त हुनुपर्ने

राज्यका सबै संयन्त्रहरु चुस्त दुरुस्त र चलायमान नहुँदासम्म महाव्याधि र संकटबाट मुक्ति पाउन सकिँदैन । हरेक समस्याको समाधान समन्वय, सहकार्य र साझेदारी नै हो ।

(सांसद संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment