Comments Add Comment

चीन के गरिरहेको छ ?

चीनमा कोरोना संक्रमण फैलिरहेका बेला (कोरोना भाइरस प्रकोप संक्रमण संगको युद्धमा लडिरहँदा) केही देशहरु बाहेक प्राय धेरै देशहरु रमिता हेरेर बसे । चीनले अपनाएको बाटो त्यत्ति प्रजातान्त्रिक र समय सान्दर्भिक नभएको (जनताको स्वतन्त्रता हरण गरिएको) भनी कुरा काट्दै मात्र बसिरहे । उनीहरूले महामारी प्रकोपलाई खासै गम्भीर रुपमा लिएनन् ।

एक्कासी ती देशहरुमा पनि महामारी ह्वात्तै बढेपछि मात्रै गम्भीररूपमा लिन थाले कि यो भाइरस कत्तिको खतरनाक हो भनेर ।

चीनले महामारी प्रकोपको महायुद्ध लडिरहेको बेला केही देश पाकिस्तान, दक्षिण कोरिया, जापान, इरान, रुस लगायतका देशले भौतिक तथा नैतिक सहयोग गरे र धेरैले चिनियाँ जनताको मन जित्यो।

अहिले चीनमा कोरोना भाइरस महामारी प्रकोप लगभग नियन्त्रण भइसकेको छ । यही अप्रिल ४ मा कोरोना भाइरस महामारीबाट ज्यान गुमाएका सर्वसाधारण जनता तथा उद्धारमा खटिँदा ज्यान गुमाएका सहिदहरुप्रति देशभरि एकैसाथ हार्दिक समवेदनासहित मौनधारण पनि
गरियो ।

यतिबेला विश्व रोइरहँदा कोरोनाको उद्गमस्थल चीन साँच्चै के गरिरहेको छ त ? के चीन पनि पहिले अरु देशहरु जस्तै रमिता हेरेर बसिरहेको छ ? यो जिज्ञासा अन्य देशका नागरिकहरूलाई हुन सक्छ ।

यदि विश्वले चीन यतिबेला सुतेर रमिता हेरिरहेको छ भनेर दोष लगाउँछ भने त्यो उनीहरु आफैंमा उब्जिएको भ्रम हुनेछ।

योबेला चीन पहिले आफूलाई सहयोग गर्ने देशहरुको गुण मात्रै तिरिरहेको छैन । आफूले सिकेको अनुभवहरु विश्वलाई बाँड्न आतुर छ र बाँडिरहेको छ । चीनबाट सबैभन्दा पहिला विज्ञसहितको सहयोगी टोली इरानमा पठाएको थियो । त्यसपछि युरोपको इटाली, स्पेन, एसियाको पाकिस्तान, क्याम्बोडिया, फिलिपिन्स, दक्षिण अमेरिकाको भेनेजुएला लगायतका देशहरुमा पनि विज्ञसहितको सहयोगी टोली पठाइसकेको छ। चीनले मानवीय क्षति न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

अहिले चीन कोरोना भाइरस प्रकोपका कारण झन्डै ४ खर्ब अमेरिकी डलर बराबरको घाटाबाट सिथिल भएको आफ्नो अर्थतन्त्रलाई उकास्न लागि परिरहेको छ । रात दिन नभनी काम गरिरहेको छ । चीनमा लगभग ९५ % कामदारहरु काममा फर्किसकेका छन् भने त्यति नै प्रतिशत
फ्याक्ट्रीहरुले उत्पादन गरिरहेको छ ।

बिशेष गरी यो बेलाको विश्व बजारको मागलाई ध्यानमा राखी धेरैजसो गैरमेडिकल फ्याक्ट्रीहरु मेडिकल मास्क बनाएर बितेका दुइ तीन महिनाको घाटा पूर्ति गरी केही हदसम्म नाफा आर्जन गर्न
अग्रसर छ । २०२० अप्रिल पहिलो साता सम्म आइपुग्दा चीनले विश्वबजारमा ३ सय देखि ४ सय करोड मेडिकल मास्कको मात्रै व्यापार गरिसकेको छ । जसमा इटालीले मात्रै झन्डै २ करोड २० लाख मेडिकल मास्क चीनबाट किन्यो ।

यतिबेला विश्वमा शायद एउटा मात्र देश नाफामा गइरहेको छ र त्यो देश चीन हो भन्दा फरक नपर्ला ।

चीनबाट निर्यात भएका मेडिकल सामग्रीहरुका गुणस्तरको बारेमा केही देशमा भने विवाद पनि भयो । पच्छिलो समय नेदरल्याण्ड सरकारले चिनियाँ मेडिकल सामग्रीको गुणस्तर कम भएको भनी प्रश्न उठाएपछि चिनियाँ संचार जगतमा यसले ठुलै तरङ्ग उत्पन्न गरायो । जसमा, चीन सरकारलाई यसको उत्तर दिनसमेत लगाइयो ।

नेपालमा पनि चीनबाट लगिएको मेडिकल सामग्रीको गुणस्तर बारेमा प्रश्न उठाइएको छ । यो काण्डमा नेपाल पक्ष या चीनियाँ पक्ष को दोषी छ ? भनेर चिनियाँ सरकारको बिशेष मेडिकल टोलीले अध्यन गरी नै रहेको होला ।

अहिले चीन सरकारले विदेशमा रहेका चिनियाँ दूतावासको माध्यमबाट ती देशमा रहेका आफ्ना जनतालाई मेडिकल सामग्री उपहारस्वरुप वितरण गरिरहेको छ । यसको अलावा, उक्त देशलाई तत्कालै आवश्यक पर्ने मेडिकल सम्बन्धी सामग्रीहरु उपहार दिएर स्थानीय जनताको मन जित्न पनि सफल भइरहेको छ ।

यहाँ स्वदेशमा रहने जनताहरुले भने चीन सरकारले विश्व संकटमा आफ्नो अब्बलपन प्रमाणित गर्न सफल भएकोमा गर्व गरिरहेका छन् ।

यति बेला केही चीनियाँ नागरिकहरूले वोईपो, क्यू क्यू , वि च्याट आदि जस्ता सामाजिक संजालमार्फत धनी देशहरुले पैसा तिरेर मेडिकल सामग्री खरिद गर्न सक्ने भएकाले उनीहरूलाई चीन सरकारले उपहार स्वरुप दिनुहुन्न । यदि उपहार स्वरुप दिने नै हो भने अर्थतन्त्र कमजोर भएको देशहरुलाई दिनुपर्छ भन्ने गुनासो पनि पोखिरहेका छन्।

उहान सहरमा कोरोना भाइरसले प्रताडीतहरुलाई सहयोग गर्ने संघ–संस्थाहरु यतिखेर आफ्नो च्यानलबाट विश्वका विभिन्न देशमा सहयोग गरिरहेका छन् । जसमा ज्याक मा फाउन्डेसन र आलिबाबा समूह, चिनियाँ अन्तरास्ट्रिय सांस्कृतिक प्रचार केन्द्र अग्रपंक्तिमा उभिएर चीनको प्रतिनिधित्व गरिरहेका छन् ।

अप्रिल पहिलो सातासम्म नेपालले पनि झन्डै ५ टन बराबरको विभिन्न मेडिकल सामाग्रीहरु सहयोगका रुपमा प्राप्त गरिसकेको छ । जसमा झन्डै १ लाख प्रति मेडिकल मास्क मात्रै रहेको छ ।

विश्व स्वास्थ संगठनले कोरोना महामारी प्रकोपका कारण विश्वभर ९० प्रतिशत अर्थात् १ करोड ५० लाखभन्दा बढी बिद्यार्थीहरु प्रभावित भएको भनिरहँदा चीन भने विस्तारै विद्यालय जीवनमा फर्किन खोजिरहेको छ । राजधानी बेइजिङ र कोरोना भाइरस उद्गम स्थल हुपेइ प्रान्त बाहेक अरू प्रान्त तथा स्वशाशित क्षेत्रहरुले अप्रिल महिनाको दोस्रो सातादेखि आंशिक या पूर्णरुपमा
विद्यालय खोल्ने भइसकेका छन् ।

जनावरी अन्तिम साताबाट पूर्ण रुपले बन्द भएको नयाँ कोरोना भाइरस उद्गम सहर उहान पनि झन्डै सवा दुइ महिनापछि अप्रिल ८ बाट खुल्ला गरिएको छ । बेइजिङ् लगायत देश भरिका मूख्य पर्यटकीय स्थलहरु पनि यहि महिनाको सुरुदेखि बिस्तारै खुल्ने क्रममा छ।

चीनको व्यवस्थापन प्रणालीलाई देख्दा अहिले धेरै देशमा चीनको प्रशंसा भइरहेको छ । यसबेला विश्वले नै चीनको सहयोगको अपेक्षा गरिरहेको छ । यहीँबाट सबैले बुझ्नुपर्छ कि एउटा देशमा आइपरेको समस्या विश्वभरिको समस्या हो ।

त्यसैले एक अर्कालाइ दोषारोपन गर्नुभन्दा सहयोग गरेर समस्या हल गर्न अग्रसर भयौँ भने विश्व संकटमा गाँजिनुपर्दैन ।

(राई हाल बेइजिङ्गमा अध्यनरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment