
२८ चैत, डोटी । डोटीमा दुई सय १३ जनामा र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिएको छ । र्यापिड टेस्ट गरिएका सबै व्यक्तिहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले दिएको जानकारी अनुसार शुक्रबार डोटीका बोगटान फुड्सिल, सायल, आदर्श र बडीकेदार गाउँपालिकाका दुई सय १३ जनाको टेस्ट गरिएको हो । जसमध्ये २२ जना महिला र एक सय ९१ जना पुरुष रहेका छन् ।
आदर्शमा दुई महिला सहित २५, बडीकेदारमा एक महिला सहित ६३, सायलमा पाँच महिलासहित २५ र बोगटान फुड्सिलमा १४ महिलासहित एक सय जनामा उक्त परीक्षण गरिएको मलासीले जानकारी दिए ।
‘सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले हामीलाई र्यापिड टेस्ट गर्नका लागि दुई सय ८० वटा किट पठाएको थियो,’ मलासीले भने, ‘सोहीअनुसार हामीले टेस्ट गरेका हौँ ।’ मलासीले शनिबार थप परीक्षण गरिने बताए ।
परीक्षणका क्रममा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिनु डोटी र मुलुककै लागि खुसीको कुरा भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनले भने ‘थप सावधानीअपनाएर सबै सुरक्षित हुन म आम डोटीवासीलाई अनुरोध गर्दछु ।’
विभिन्न मितिमा नेपाल भित्रै र बाह्य मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिएको मलासीले बताए । उनले थपे ‘अब होम क्वारेन्टाइनमा बसेकाहरुको पनि परीक्षण गर्ने तयारी छ ।’ होम क्वारेन्टाइनमा बसेकाहरुको तथ्यांक उपलब्ध गराउन सबै स्थानीय तहका स्वास्थ्य इकाइलाई पत्राचार गरिसकिएको मलासीले जानकारी दिए ।
प्रतिक्रिया 4