
२८ चैत, काठमाडौं । सरकारले दुई दिनकाबीचमा खसीको मासुमा कालोबजारी गर्ने दुईवटा मासु पसललाई दुई/दुई लाख रूपैयाँ जरिवाना गरेको छ । यसैगरी बढी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने स्टोरहरु पनि कारबाहीमा परेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले शुक्रबार नयाँ बानेश्वरको आइकालु मिट सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
यसअघि बुधबार पनि विभागले बत्तीसपुतलीको मुस्कान मिट सपलाई दुई लाख रूपैयाँ नै जरिवाना तिराइएको हो। विभागले बजार अनुगमन गर्दा आईकालुले खसीको मासु १८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको भेटाएको थियो ।
पछिल्लो दिनमा बाहिरबाट खसी नआएको बहाना बनाएर मासुमा चर्को कालोबजारी भइरहेको छ ।
यसैगरी, आजै कलंकीमा अवस्थित चितवन खाद्य स्टोर्सले बढी मूल्यमा खाद्यान्न बचेको भेटेपछि दुई लाख जरिवाना तिराएको छ । बाफलस्थित न्यूबीके स्टोरले राहत सामग्रीमा म्याद नाघेको सामान प्याक गरेर बेचेको पाइएपछि तीन लाख जरिवाना गराइएको छ ।
प्रतिक्रिया 4