Comments Add Comment

ओलम्पिक कमिटीले खेलाडीसँग गर्‍यो भिडियो कन्फ्रेन्समार्फत छलफल

२८ चेत काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा खेल संघसँग शुक्रबार भिडियो कन्फ्रेन्समार्फत छलफल गरेको छ ।

एनओसीले आइतबारदेखि अनलाइनमार्फत खेलाडी तथा प्रशिक्षकका लागि मनोवैज्ञानिक कक्षा सञ्चालन गर्नेसमेत जनाएको छ ।

सांसदसमेत रहेका एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले लकडाउनमा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्न र उनीहरुलाई केही समस्या परेको भएको समाधान गर्ने उद्देश्यले भिडियो कन्फरेन्स गरिएको बताए ।

‘खेलाडी र कोचका लागि दैनिक सूचीसमेत तयार गरेर फलोअप गर्ने निष्कर्ष निकालेका छौँ । त्यसैगरी पोषणविद्हरुसँग नियमित सम्पर्क गराएर खेलाडीको खेलअनुसारको डाइट दिनेलगायतको कार्य सुरु हुनेछ ।’

त्यसैगरी, एनओसीले बनाएको डाक्टरको टिमले खेलाडीहरुको सुक्ष्म निगरानी पनि गर्नेछ । कोरोना भाइरस रोकथामका लागि सरकारले ११ चैतदेखि लकडाउन गरेकाले नेपालमा खेलाडीहरु हाल घरभित्रै छन् ।

जसका कारण उनीहरुमा परेको शारीरिक फिटनेसको समस्याका साथै मानसिक समस्याका विषयमा भिडियो कन्फरेन्समा छलफल भएको हो ।

एनओसी अध्यक्ष श्रेष्ठले अहिले भयभित नभई होसियारीपूर्वक बस्ने समय भएको बताए । उनले टोकियो ओलम्पिकको मिति एक वर्षपछि सरेकोले  यसलाई अवसरका रुपमा लिन आग्रह गरे ।

यही वर्ष जुलाई/अगष्टमा हुने तय भएको ओलम्पिक कोरोना भाइरसको कारण एक वर्ष पछि सारिएको हो । अब  ओलम्पिक २०२१ को २३ जुलाईदेखि ८ अगष्टसम्म हुनेछ ।

भिडियो छलफलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीका लागि घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउन थालिएको जानकारी गराएका थिए ।

भिडियो कन्फ्रेन्समा खेलाडी, प्रशिक्षक, डाक्टर, फिजियो र पत्रकार गरी कुल ३५ जना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment