Comments Add Comment

एसएसबीको प्रोपोगाण्डा : भारतमा कोरोना फैलाउन नेपालमा षड्यन्त्र !

भारतीय दाबी आधारहीन रहेको नेपाली पक्षको भनाइ

२८ चैत, काठमाडौं । ‘बहुत बडी खबर’ भन्दै आज केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ ।

भारतीय मिडियाका कतिपय समाचार यति अनर्गल हुन्छन् कि त्यसलाई गम्भीरताका साथ लिनु नै आवश्यक हुन्न । तर, यो समाचारमा चाहिँ भारतीय सीमा सुरक्षा बल (एसएबी) कै हवाला दिइएको छ । इन्डिया टुडेले यस विषयमा भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाएको छ ।

४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल पनटोका रामगढवाका कमाण्डरले सो पत्र लेखेका हुन् । पत्रमा नेपालको पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिकाका जालिम मुखियाले भारतमा कोरोना फैलाउने षडयन्त्र गरिरहेको सूचना आएको दाबी गरिएको छ ।

गत ३ अप्रिलमा प्रेषित पत्रको व्यहोरा यस्तो छ,

‘अत्यन्त विश्वस्त सूत्रहरुबाट प्राप्त सूचनाअनुसार पर्सा जिल्ला (नेपाल), जानकी टोला, जगन्नाथपुर गाउँका जालिम मुखिया नाम गरेका एक व्यक्ति भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेका छन् । उनी नेपालबाट अवैध हातहतियार र नक्कली नोटको भारतमा ओसारपसार गर्नसमेत संलग्न छन् । यसका साथै, उनले लकडाउनका क्रममा विभिन्न मुस्लिम देशमा काम गरिरहेका भारतीय मुस्लिम नागरिकलाई सीमा पार गराउने जिम्मेवारी पनि लिएका छन् । सूत्रका अनुसार ५–६ जना पाकिस्तानी नागरिकसहित दुई सय जनाजति भारतीय मुस्लिम (मुस्लिम राष्ट्रमा काम गरिरहेका) नेपाल आएका थिए र उनीहरु अहिले चन्दनबस्रा र खैरवा गाउँमा रहेका मदरसाहरुमा बसिरहेका छन् । सुत्रका अनुसार ४०–५० संदिग्ध भारतीय मुस्लिम नागरिकहरु आज आइपुग्ने छन् र आगामी दिनमा अरु धेरै आउन सम्भावना छ । सूत्रका अनुसार यी नागरिकहरुले शरीरको तापक्रम घटाउन प्यारासिटामोल ट्याबलेट खाइरहेका छन् र उनीहरु कोरोना पोजिटिभ हुन सक्छन् । तपाईंको सूचनाका लागि यो पत्र प्रेषित गरिएको छ र सरोकारवाला निकायका साथै नेपालको जिल्ला प्रशासनका अधिकारीहरुलाई सतर्क तुल्याउन अनुरोध गरिन्छ ।’

एसएसबीको यही पत्र समावेश गर्दै पश्चिम चम्पारण, बेतियाका जिल्ला पदाधिकारी कुन्दन कुमारले बेतिया प्रहरीलाई अर्को पत्र लेखेका छन् । उक्त पत्रमा नेपाल–भारत सीमामा यथेष्ट सतर्कता अपाउन र सन्दिग्ध गतिविधिलाई कडा निगरानी गर्न आग्रह गरिएको छ । साथै, नेपालसँग सीमा जोडिएका सात जिल्लाका एसपीहरुले थानेदारलाई चिठ्ठी लेख्दै भारत र नेपालका गुप्त बाटोहरुमा नजर राख्न भनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यस विषयमा बिहारका डीजीपी गुप्तेश्वर पाण्डेयले भारतीय च्यानल टिभी नाइनसँग छन्, ‘हाम्रो नेपालसँग जोडिएका बोर्डरका सबैलाई सतर्क रहन भनिएको छ । अर्को देशबाट भारत छिर्न असम्भव छ ।’

को हुन् जालिम मुखिया ?

एसएसबीको पत्रमा जालिम मुखियाको नाम–ठेगाना उल्लेख भए पनि परिचय खुलाइएको छैन । तर, इन्डिया टिभीको रिपोर्टमा भने उनी जगरनाथपुर गाउँपालिकाका प्रमुख भएको उल्लेख गर्दै तस्वीर पनि देखाइएको छ ।

पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । मधेसी समुदायमा गाउँका अगुवालाई मुखिया भनेर सम्बोधन गर्ने गरिन्छ । त्यसैले एसएसबीले ईंगित गरेका व्यक्ति उनै अध्यक्ष जालिम मियाँ नै भएको अनुमान गरिएको छ ।

एसएबीले उनी जाली नोट र अवैध हतियार ओसारपसारमा संलग्न रहेको गम्भीर आरोप लगाएको छ । उनी नेकपा अध्यक्ष प्रचण्डसँग निकट नेता हुन् । उनी विगतमा काठ तस्करीलगायत केही विवादमा मुछिए पनि जाली नोट र अवैध हतियारको कारोबारमा संलग्नताबारे पर्साको प्रहरी स्रोतले अनभिज्ञता दर्शायो ।

भारतीय मिडियाले आफ्नो तस्वीर राख्दै समाचार प्रशारण गरेपछि मियाँले फेसबुकबाट संक्षिप्त प्रष्टीकरण दिएका छन् । त्यसमा उनले भनेका छन्, ‘(भारतसँग) हाम्रो मित्रताको सम्बन्ध छ, रोटीबेटीको सम्बन्ध छ । जालिम मियाँले यस्तो षड्यन्त्र गर्ने कारण के छ ? चाइनामा जालिम मियाँले कोरोना फैलाएको हो ? अमेरिका, फ्रान्स, इटली सारा देशमा जालिम मियाँले फैलाएको हो ? यो संकटको समयमा केही राजनीतिक व्यक्तिबाट मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ । कि ममाथि लागेको आरोप प्रमाणित गरियोस्, सजाय भोग्न तयार छु । होइन भने ममाथि षड्यन्त्र गर्नेहरुलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गर्छु। यस विषयमा मैले गृह मन्त्रालयलाई एसएमएस पठाएको छु । जिल्लाका सीडीओसँग पनि समन्वय गर्नेछु ।’

जगरनाथपुर गाउँपालिकाले आजै एउटा विज्ञप्ति जारी गरी भारतीय मिडियामा प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत अमितकुमार गिरीले जारी गरेको विज्ञप्तिमा कुनै तथ्य–प्रमाणविना नेपाली नागरिकको चरित्र हत्या गरिएको भन्दै यो विषयमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावाससँग खेद प्रकट गर्नुपर्ने माग गरिएको छ ।

सीमा वारपार गराउन ‘असम्भव’

यस विषयमा हामीले पर्सा जिल्ला प्रशासन र प्रहरीसँग कुरा गर्दा दुबैले यस विषयमा भारतीय पक्षबाट कुनै पत्र वा सूचना नआएको बताए । अहिलेको अवस्थामा सीमा वारपार गर्न सम्भव नै नरहेको उनीहरुको भनाइ छ ।

पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्त यसो भन्छिन्,

‘अहिले नेपाल र भारत दुबै देशमा पूर्ण लकडाउन छ । भारतपट्टि अझै बढी कडाई छ किनकी उनीहरुसँग एसएसबी धेरै संख्यामा छन् । यस्तो अवस्थामा कसैलाई लुकिछिपी नेपालबाट सीमा पार गराउन सम्भव नै छैन । एसएसबीले छिर्न दिन्छन् र ? त्यसैले यो आधारहीन कुरा हो । जिल्लामा हामीले लकडाउन कडाईका साथ पालना गराइरहेका छौँ। यसका लागि हामीलाई कसैको पत्र आउनै पर्दैन । हामी सतर्क नै छौँ । जिल्लाका सबै गाउँपालिकासँग निकट रहेर काम गरिरहेका छौँ ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत यसो भन्छन् :

‘भारतीय मिडियामा आएको समाचारको बारेमा सुनेको छु । तर, हामीसँग भारतीय पक्षबाट औपचारिक रुपमा कुनै कुरा आएको छैन । सीडीओ सा’ब आज व्यस्त हुनुहुन्छ । भोलि बसेर छलफल गर्नेछौँ ।

यतिबेला कसैले सीमा वारपार गर्ने अवस्था हुँदैन । लकडाउन भएपछि हाम्रोतर्फ एपीएफको जनशक्ति बढाएर आई टु आई कन्ट्याक्ट गर्न मिल्ने अवस्था बनाइएको छ । कोही पनि प्रहरीको आँखा छलेर छिर्न सम्भव छैन ।

पहिले चाहिँ लुकिछिपी आउने गरेका थिए । केही दिनअघि जालिमजीको गाउँमा भारतबाट लुकिछिपी आएका केही मुस्लिम नेपालीलाई हामीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका थियौँ । त्यही आधारमा उनीहरुले शंका गरेका हुन् कि ? उनीहरुलाई हामीले पर्सामा एक दिन क्वारेन्टाइन राखेर सम्बन्धित जिल्लामा पठाइसकेका छन् । उनीहरुमध्ये १४ जना रौतहटका, १३ जना सप्तरीका र ८ जना बाराका थिए । उनीहरु सबै अहिले आआफ्नै जिल्लामा क्वारेन्टाइनमा छौँ । पर्साका व्यक्तिहरुलाई चाहिँ हामीले यहीँ क्वारेन्टाइनमा राखेका छौँ । उनीहरु दिल्लीमा भएको जमातमा भाग लिएर आएका हुन् कि भनेर स्थानीय समुदाय पनि सतर्क छन् ।’

एक सय ८९ भारतीय पर्साको क्वारेन्टाइनमा

गत १८/१९ गते करिब पाँच सयको संख्यामा भारतीयहरु रक्सौलतर्फ जान आएका थिए । तर, लकडाउनले रोकिए । उनीहरुमध्ये एक सय ८९ जना भारतीयलाई पर्सा जिल्ला प्रशासनले क्वारेन्टाइनमा राखेको छ । बाँकी चाहिँ नजिकै रहेका आफ्ना आफन्तकहाँ गएको सहायक सीडीओ बस्नेतले जानकारी दिए । यसरी रोकिएकाहरु मुसलमान मात्र होइनन् । प्राय ज्याला-मजदुरी गर्नेहरु छन् ।

भारतीय नागरिकहरुलाई ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको छ । उनीहरुलाई तीन टाइम खान दिइन्छ । भारतबाट नेपाल आउन खोज्नेलाई पनि भारतले क्वारेन्टाइनमा राखेको छ । तर, आफूहरुलाई नारकीय अवस्थामा राखिएको नेपालीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment