Comments Add Comment

दूध बिक्री भएन, त्यसैमाथि घाँसको समस्या थपियो

२९ चैत, रामेछाप । मन्थली नगरपालिका-१ का रमेश कार्कीको गोठमा अहिले एउटा भैँसी र ६ वटा भर्खर बियाएको गाई छन् । उनको गोठमा माउबाच्छा गरी १० वटा गाई छन् ।

व्यवसायिक रुपमा पशुपालन गरी मन्थलीका डेरीहरुमा दूध बिक्री गर्दै आएका उनको व्यवसाय अहिले संकटमा छ । दूध डेरी सञ्चालकहरुले दूध खरिद नगरिदिँदा अहिले उनलाई उत्पादन गरेको दूधको व्यवस्थापन गर्न गाह्रो भएको छ । दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । तर, डेरीले दिन बिराएर एक साँझको मात्र दूध लिइदिन्छ । बाँकी दूध बिक्री हुँदैन । लकडाउनले गर्दा २० दिनदेखि यो क्रम चलिरहेको छ । हामी त बर्बाद नै भयौँ’, कार्कीले भने ।

‘दूध बिक्री भएको छैन । तराईबाट पराल र दाना ल्याउनु पर्ने, गाडी नचलेर दाना ल्याउन पाइएको छैन । दूध त बिक्री भएन भएन । घाँस र दाना नहुँदा गाई बचाउन पनि मुस्किल हुने भयोʹ, उनले चिन्ता व्यक्त गरे ।

मन्थली-१ कै यज्ञप्रसाद ढुंगेलको समस्या पनि त्यस्तै छ । मन्थलीको डेरीमा दूध बिक्री गर्ने गरेका उनलाई पनि डेरीले दूध नलिइदिँदा समस्या परेको छ । ʹदुई दिनमा एक साँझको दूध त डेरीले लिइदिन्छ, बाँकी तीन साँझको दूध कसरी व्यवस्थापन गर्ने ?’, उनले गुनासो गरे ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि देशव्यापी रुपमा भएको बन्दाबन्दी र स्थानीय प्रशासनले सदरमुकाम मन्थली बजारमा जारी गरेको निषेधाज्ञाको कारण मन्थली बजारको व्यापार व्यवसाय ठप्प भएको छ । सदरमुकाममा मन्थली बाहिरका मानिसहरु नआउँदा बजारमा किनबेच ठप्प छ । स्थानीय प्रशासनले बिहान ३ घण्टाको लागि मात्र दूध, तरकारी, खाद्यान्न तथा ग्यास पसलहरु खोल्न अनुमति दिएको छ ।

बजारमा किनबेच ठप्प भएकोले किसानहरुबाट यस अघि लिने गरेको दूध उठाउन नसकिएको चिरञ्जिवि डेरीका सञ्चालक भानुभक्त श्रेष्ठ बताउँछन् । तैपनि दिन बिराएर दूध लिने गरेको उनले बताए ।

‘किसानहरुलाई समस्या छ, तर बजारमा दही दूध जाँदैन । त्यसैले सबै दूध उठाउन सकिएको छैन’, श्रेष्ठले भने ।

मन्थलीमा दुई वटा दूध डेरी सञ्चालनमा छन् । मन्थली बजार र डेरीलाई लक्षित गरेर मन्थली बजार आसपासको क्षेत्रका किसानहरुले तीन सयभन्दा बढी गाई पालेका छन् । ती गाईबाट उत्पादन हुने सयौं लिटर दूध अहिले बिक्री नहुँदा किसानहरु समस्यामा परेका छन् ।

घाँस र दाना ल्याउन नपाउँदा अहिले गहुँको छ्वाली खुवाएर गाई पाल्नु पर्ने बाध्यता रहेको किसानहरु बताउँछन् । अझै लकडाउन खुल्ने संकेत नदेखिएपछि किसानहरु थप चिन्तित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment