Comments Add Comment
कोरोना प्रकोपपछिको हाम्रो सहर :

अब पनि पुरानै गल्ती दोहोर्‍याउने कि सुध्रिने ?

चिल्लो पिच सडक, दायाँबायाँ मनै लोभ्याउने बगैँचाको तस्वीर, खाली सडकको बीचबीचमा देखिने सेता धर्काहरुले काठमाडौंका सडकहरू त्यसै पनि मनमोहित देखिन्छन् । पछिल्लो समय यस्तै काठमाडौंका सडकका तस्वीरहरुले सामाजिक सञ्जाल भरिने गरेको छ ।

झट्ट यी तस्वीरहरु हेर्दा काठमाडौं कुनै विकसित सहरभन्दा कम देखिँदैन । काठमाडौंको वायु प्रदूषणले सुस्ताउने अवसर पाएको छ । नदीहरु बिस्तारै प्रदूषणको भारबाट मुक्त हुँदैछन् । समग्रमा कुनैसमयको कुरूप काठमाडौंमा यतिबेला वसन्तको बहार सुन्दर देखिन थालेको छ  ।

साैरभ ढकाल

कोरोना प्रकोप सम्भवत हाम्रो पुस्ताको सबैभन्दा ठूलो संकट हो । इतिहासले धेरै ठूला ठूला महामारी र संकटको सामना गर्‍यो । दूरदर्शी तत्कालीन शासकहरुले महामारीलाई दुःखको रुपमा नभएर अवसरकारको रुपमा त्यसको सदुपयोग गरे । कसैले त्यसलाई नियमित प्रक्रियाको रुपमा माने । जसले महामारीलाई अवसरको रुपमा माने उनीहरू उदाहरणीय बने । जसले महामारीको समयलाई सदुपयोग गर्न सकेनन् उनीहरुलाई इतिहासले धिक्कार्ने बाहेक केही गर्न सकेन । हामी त्यही दोबाटोमा छौँ । कता जाने हाम्रै राजनीतिक नेतृत्व र आम मानिसको हातमा छ ।

इतिहासमा घटेका महामारीहरु, जसले ठूलाठूला राजनीतिक व्यवस्था परिवर्तन पनि कतिपय ठाउँमा महामारीकै कारण भयो । कतिपय महामारीले मुलुकको मुहार फेर्ने अवसर पनि दिएको छ । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै महामारीको अनेक खराब पक्षसँगै कुनै सुखद् र सकारात्मक पक्ष समेत पर्याप्त देखिन्छ ।

इतिहासलाई हेर्ने हो भने सन् १३४९ अर्थात् विसं १४०६ को समयताका विश्व एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण एक दशकमा नै विश्वका एक तिहाइ मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए । तर, यही महामारीले लामो समयसम्म युरोपमा जरा गाडेर बसेको सामन्ती व्यवस्था ढल्यो । किसानहरुले समेत आफ्नो श्रम अनुसारको मूल्य पाउन सफल भए ।

त्यसपछिका महामारीले पनि ठूलाठूला अवसरहरु दिएका छन् । शताब्दीसम्म बिग्रिएको जलवायु परिवर्तनको असरलाई कम गराउनेदेखि नयाँनयाँ आविस्कार र जीवनशैलीमा समेत परिवर्तन भएका इतिहासहरु हामीसामु छन् । त्यसैले यो महामारी पनि हामी बदलिने एउटा अवसर हो । इतिहासलाई सम्मान गरेर समय सान्दर्भिक रुपमा परिवर्तनका कदमहरु चाल्नु नै आजको आवश्यकता बनेको छ ।

हामी विक्रम संवतको नयाँ वर्ष मनाउँदै छौँ । कोरोना भाइरसको महामारीका कारण यो वर्षको सुरुवात त्यति सुखद् हुन त सकेन । तर, नयाँ वर्षमा नयाँ संकल्प र योजनाका कारण महामारीलाई नै अवसरको रुपमा प्रयोग गरेर नयाँ वर्षलाई सुखद् बनाउन सकिन्छ । यति बेला हामी व्यक्ति, परिवार समाज, गाउँ, सहर साथै विश्वका नागरिक र सरकारले नयाँ वर्षको मौका पारेर नया ढंगले सोच्ने र दूरदर्शी निर्णय लिन नसके कोरोना प्रकोपपछि पनि हामी पुरानै बाटोमा फर्कने छाँै, जुन थप भयावह र विनाशकारी हुने निश्चित छ ।

अवसरको पहिलो पाटो

लकडाउनको समय अघि थपिएका काठमाडौंका कालोपत्रे सडकहरु र त्यसका सेतो धर्का समेत सुन्दरताको केन्द्रमा छन्। यही तस्वीरले समाजिक सञ्जाल भरिएका छन् । कसैले सुन्दरतालाई विश्लेषण गरेका छन् भने कसैले भने यसको आलोचनात्मक पाटो समेत खोज्ने गरेका छन् । फराकिला सडक अबको बाटो होइन भन्ने केहीको मत छ । धेरै जसो विषयगत विज्ञ र नीति निर्मातालेसमेत हतारमा सुन्दरताको बयान गर्दै यो बाटो हाम्रो लकडाउनको ठूलो सफलताको रुपमा ब्याख्या गरेका छन् । तर, हामीले खोजेको बाटो यस्तै हो त ? हाम्रो लागि आवश्यक रहेको बाटो यस्तै हो त ? पक्कै पनि होइन ।

अहिले सुन्दर देखिएका बाटाहरु अबको बढीभन्दा बढीमा एक महिना देख्न सकिएला । त्यसपछिको सुन्दरता हामीले नसोच्ने ? अहिले देवत्वकरण गरिएका व्यक्ति र अहिले सुन्दर भनेर व्याख्या गरिएको बाटो र सुन्दरतालाई नै आलोचना सुरु गर्ने ? होइन । बरु छिटै भावुक बन्नेभन्दा पनि दीगो किसिमको विकासको बारेमा बहस गरौँ ।

हामी पुरानै किसिमको बाटोमा अलकत्रा थपेर क्यामेरामा सुन्दरताको कैद गर्छाैँ । तर, यही सडकमा हामीलाई अत्यावश्यक रहेको फुटपाथ अपांगमैत्री छैन । छेउमा सहज रुपमा यात्रा गर्न सकिने साइकल मार्ग छैन । सडकको छेउमा रुख रोपिएका छन् । तर, रुखको प्रकृति अनुसार कुन रुख कहाँ रोप्ने भन्ने अध्ययन गरिएको पाइँदैन ।

सिंहदरबारअघिको संक्रिटै कंक्रिटको बाटोमा चापको रुख रोप्नुको कुनै औचित्य नहोला । राम्रा राम्रा रुखहरु सहित सहरको बीचबीचमा खेल्ने चौर र बगैँचा । सहज रुपमा यात्रा गर्न सकिने सार्वजनिक यातायातको विस्तार र सधैंभरि कोरोना महामारीको बेलामा जस्तै देखिने सुन्दर नीलो आकाश र स्वच्छ हावाको आवश्यकता हो । जसको बारेमा अहिलेसम्म योजनाको विकास भइसकेको छैन ।

अवसरको दोस्रो पाटो : आत्मनिर्भरता

कोरोना प्रकोपको बेला बजारमा के बिक्री भइरहेको छ भनेर त्यसको सूची बनाइयो भने नेपालमा नै उत्पादन भएका कतिवटा वस्तुको सूची ? पक्कै यो सूचीमा धेरै कुराहरु अट्ने छैनन् । यसको अर्थ हो हामीहरु एकदमै कम वस्तुहरुमा मात्रै आत्मनिर्भर छौँ । यो महामारी यसको लागि पनि एउटा पाठ हो कि हामी आफैँ किन हरेक विषयमा आत्मनिर्भरता तिर नलाग्ने ।

आत्मनिर्भरताको लागि हामीले सबैकुरा आफैँ उत्पादन गर्ने भन्ने भान पनि पर्नसक्छ । त्यो गलत हो । हामीलाई अहिलेको लागि रकेट निर्माणको आवश्यकता छैन । त्यो पनि समय अनुसार आवश्यक हुँदै जाला । हामी सबै कुरामा आत्मनिर्भर हुन सक्दैनौँ । तर, हामीले हाम्रो दैनिक जीवनमा अत्यावश्यक मानेको कुराहरु हाम्रै गतिविधिमा प्रयोग हुने चिज वस्तुहरुबाट तयार पार्न सकिन्छ ।

हामी बस्ने घरहरु, खानपिनको चलनहरु नै हाम्रो आत्मनिर्भर बन्ने बाटोका सारथिहरु बन्न सक्छन् । उदाहरणको लागि खोस्टाबाट चकटी बनाउने, बाँसबाट नाङ्लो लगायतका विभिन्न सामग्रीहरु बनाउन अब सुरु गर्नेुपर्ने देखिन्छ ।

हामी अत्याधुनिक औषधि बनाउन नसकौँला । तर, चिराइँतो र पाँच औंलेको प्रयोगबाट ज्वरो भगाउन भने पक्कै सक्छौँ । सबै कुराको सिप सिकेर आवश्यक सामानको आफैँ प्रयोग गरेर उपभोग गर्न सक्छौँ। जस्तो, कोरोना महामारीको समयमा अमेरिका जस्तो मुलुकमा समेत पीपीईको अभाव छ ।

यस्तो अवस्थामा राष्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिकहरुले पनि एक किसिमको पीपीई त तयार पारेका छन् । यसमा अलिकति गुणस्तर बढाउने हो भने त यसबाट काम चलाउन त सकिन्छ । यसरी सबै किसिमको उत्पादनको लागि मार्ग प्रशस्त गर्दै अत्यावश्यक वस्तुको मात्रै खपत गर्नु आवश्यक देखिन्छ ।

आत्मनिर्भर नहुँदाको एउटा पाठ सिक्ने उपयुक्त मौका २०७२ सालमा भारतले गरेको नाकाबन्दीको समय थियो । त्यसलाई हामीले अवसरको रुपमाभन्दा पनि भारत सरकार र नेपाल सरकारलाई गाली गर्दैमा बितायौँ । त्यही अवसर फेरि दोहोरिएको छ । कम्तीमा हाम्रा सहरहरु थोरै वस्तुको लागि मात्रै भएपनि आत्मनिर्भर बन्न सक्छ । केही समय अघि एउटा समाचार आएको थियो । जसमा पूरै समुदायभरीका सबै घरको छतहरु करेसाबारी बनेका थिए ।

त्यसको केही समयपछि नेपालकै दाङमा नयाँ अभियान चलेको समाचार आयो । जसमा घरघरमा करेसाबारी, भान्साभान्सामा जैविक तरकारी बनाउनेभन्दै अभियान चलाइयो । यही अभियान अब काठमाडौंलाई पनि आवश्यक भएको छ । सबै खालका सहरहरुलाई यसको आवश्यकता परेको देखिन्छ ।

अब कुरा आउँछ केकेमा बन्नसक्छौं हामीहरु आत्मनिर्भर ?

अहिले भारतमा कोरोना महामारी (कोभिड१९) को महामारी चलिरहेको छ । भारतबाट खाद्यान्न आयात नगर्ने हो भने नेपालमा उपभोग्य सामग्रीको अभाव हुन्छ भने सामग्री आयात गर्दा कोरोनाको जोखिम पनि उस्तै धेरै हुन्छ । यस्तो अवस्थामा हामीहरु अत्यावश्यक वस्तुमा आत्मनिर्भर भएको भए ? एकछिन मनन गरौँ त । यस्तो अवस्थामा हामीहरुलाई कति जोखिम कम हुन्थ्यो होला ?

मानिसको लागि अत्यावश्यक गाँस, बास र कपासमा हाम्रो समाज पहिले नै आत्मानिर्भर भइसकेको हो। बिस्तारै आधुनिकतालाई अँगाल्ने र अरुको देखासिखी गर्ने चलनले गर्दा नै बिस्तारै परनिर्भर बन्नु परेको हाम्रो यथार्थ हो । पछिल्लो समय विश्वव्यापीकरणसँगै हाम्रा कपडा उद्योगहरू बन्द भए । हामी चिनियाँ कपडातर्फ आश्रित हुन पुग्यौँ । आखिर यस्तो आश्रय त सुखमा मात्रै रहेछ भन्ने त हामीले भूकम्पको समयमा होस् या महामारीको समयमा पनि देखिरहेका छौँ । यस्तो हो भने हामी अब कपडामा आत्मनिर्भरताको बाटो किन अवलम्बन नगर्ने ?

त्यसैले, आजैदेखि खाली ठाउँमा फोहोरको डंगुर होइन, करेसाको सुगन्धित बास्ना आउने गरी आत्मनिर्भरताको बाटोमा जानुछ । हाम्रै कच्चा पदार्थबाट कम्तीमा सुरुवातमात्रै भएपनि कपडा उद्योगको सुरुवात गर्ने बेला भएको छ । त्यसको विस्तार हुँदै जाला ।

आत्मानिर्भर भनेको सबै कुरा आफैँ नै उत्पादन गर्नुपर्छ भन्ने पनि होइन । कोरोना महामारीपछि अर्कै प्राकृतिक विपत्ति पनि आउन सक्छ । अरु कुनै राजनीतिक संकट आउन सक्छ । त्यस्तो अवस्थामा अत्यावश्यक वस्तुमा अरुको भर नपर्नु नै आफैँमा आत्मनिर्भर हो । विपत्तिको बेला गाडी नचढ्न सकिन्छ। तर, गाँस, बास र कपास सधैँको लागि अत्यावश्यक कुरा हो ।

त्यसैले, स्थानीय तहमा रहेको परम्परागत प्रविधि र नयाँ अन्वेषणलाई जोडेर हामीले समयसापेक्ष जनशक्ति तयार पार्नु आवश्यक छ । यतिबेला कोरोनाको महामारीका कारण धेरै युवाहरु गाउँ फर्किएका छन् । यही समयमा गाउँपालिकाले युवाहरुलाई गाउँपालिकामा नै सिपको सम्मान हुनेगरी राख्न सके यसले आत्मनिर्भरताको लागि बाटो खोल्ने देखिन्छ ।

नयाँ पुस्तालाई कुनै पनि अवस्थामा सिप विकास गराएर यसमा परिचालन गर्न सकिन्छ । महामारीका कारण अब विश्वमा ठूलो रोजगारीको संकट हुनेवाला नै छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने देखिन्छ । यस्तो अवस्थामा स्थानीय तहले युवाहरुलाई गाउँमा नै आत्मनिर्भरता तर्फ आकर्षित गर्न सके यो महामारी नै एउटा अवसरको रुपमा विकास हुने देखिन्छ।

हामीले यो महामारीलाई अवसरको रुपमा लिनको लागि हरित अर्थव्यवस्थाका लागि निम्नलिखित कामहरु गर्न सक्छौँ । जुन बढी प्रजातान्त्रिक, न्यायसंगत र दिगो हुन सक्छ ।

व्यक्तिगत जीवनशैली परिवर्तन

हामीले व्यक्तिगत जीवनशैलीमा परिवर्तन गरेर पनि मुलुकको आत्मनिर्भरता तिर ध्यान दिन सकिन्छ । जसमा घरमा सौर्य प्यानलको विकास, साइकलमा यात्रा गर्ने, रिसाइक्लिङ, जैविक खाद्यवस्तुको उत्पादन र व्यापार आदि हुनसक्छन् । हाम्रा मूल्य मान्यताहरूलाई समेत जीवनशैलीमा प्रतिविम्वित गराएर हामी यसतर्फ अघि बढ्नुपर्ने देखिन्छ ।

राजनीतिक गतिशीलता

व्यक्तिगत तहबाट हरित जीवनशैलीको प्रयोग गरेसँगै त्यसले सिधै राजनीतिक तहमा प्रभाव पार्छ । सडकमा मोटरसाइकल र गाडीभन्दा धेरै साइकल कुद्न थालेभने सडकहरु आफैँ साइकलमैत्री बन्दै जान्छ । राजनीतिक नेतृत्व त्यसतर्फ सचेत बन्छ । यसले राजनीतिक गतिशीलतामा समेत प्रभाव पार्छ ।

अधिकतम उपयोग

आत्मनिर्भरताको लागि सम्भव भएसम्म सबै जसो प्राकृतिक स्रोतहरूको उपयोग गर्नु आवश्यक देखिन्छ । अझ सक्षम र पर्यावरणीय तरिकामा प्रयोग गर्नु झनै आवश्यक छ । हामीले नयाँ टेक्नोलोजीको सुरुवात गर्दा मानवता, परम्परा र संस्कृतिको रक्षा तर्फ सावधानी बढाउनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment