+
+
Shares

लकडाउनमा पनि बुटवल नारायणगढ सडक विस्तार गर्ने तयारी

सुवास पण्डित सुवास पण्डित
२०७७ वैशाख १ गते १४:२२

३०, चैत, चितवन । लकडाउनको समयमा पनि नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम अघि बढाउने तयारी भएको छ ।

आयोजनाको पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले लकडाउनमा गर्न सकिने कामको सूची, मोडालिटी बनाएर अघि बढ्ने तयारी भएको बताए ।

आयोजनाको पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर क्षेत्रमा पर्ने ९ ठूला पुलमध्ये ३ वटाको काम तत्कालै अघि बढाइने अधिकारीले जानकारी दिए । त्यसका लागि कामदार, प्राविधिक तथा सामग्री जुटाउन थालिएको अधिकारीले जानकारी दिए ।

कावासोती पूर्व र पश्चिममा एक÷एक वटा तथा लोकाहा खोलामा पल निर्माण सुरु गर्ने तयारी छ । ‘सडक विस्तारमा पुलको कामलाई क्रिटिकल पार्टका रुपमा लिइन्छ, अरु कामको स्पीड दिन सकिए पनि पुलले निर्धारित समय लिन्छ’ उनले भने, ‘सडक विस्तार भइसक्दा पनि पुल सकिएन भने त्यसले आयोजना नै प्रभावित हुने भएकोले पुल बनाउन सुरु गछौं ।’

कामदार स्थानीय नै भएकोले क्वारेन्टाइनमा राखेर काम गराउन सकिने आयोजना प्रमुख अधिकारीको भनाइ छ । त्यस्तै सडकको दायाँबायाँको भाग कटिङ र पुलिङको काम मेसिन र थोरै जनशक्तिबाट पनि गर्न सकिने भएकोले यी काम पनि अघि बढाउने गरी छलफल भएको छ ।

यसै आयोजनाको पश्चिम खण्ड दाउन्नेदेखि बुटवलको राजमार्ग चौराहासम्मको ४८.५ किलोमिटर खण्डको काम भने तत्काल अघि नबढ्ने भएको छ । पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेले कोरोना भाइरस संक्रमणको जोखिम कम नभएकाले आयोजना अघि बढाउने विषयमा छलफल नभएको बताए ।

तर सडक क्षेत्रका विद्युत, टेलिफोनका पोल सार्ने र खानेपानीको पाइप हटाउने विषयमा भने छलफल भएको बताए । पश्चिमी खण्डमा साना, मध्यम, ठूला पुल, कल्भर्ट गरी दुई सय ७६ संरचना बन्छन् । त्यसमा ९ वटा ठूला पुल बन्नेछन् ।

सडक खण्डमा ४६ हजार २ सय ९४ रुख काट्नुपर्नेछ । केही क्षेत्रमा रुख काट्ने काम भएका छन् ।

नारायणगढदेखि बुटवलसम्मको एक सय १३ किलोमिटर लामो सडक फराकिलो बनाउन २०७५ पुसमा ठेक्का सम्झौता भएर चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यायस गरेका थिए । सडक विस्तार गर्न एसियाली विकास बैंकले १६ अर्ब ९९ करोड ५२ लाख ऋण सहयोग गरेको छ । तर सडक निर्माणको हालसम्मको काम निकै सुस्त छ ।

दुबै खण्डको निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

२०७५ पुस ४ गते ठेक्का सम्झौता भएको सडक विस्तारको काम २०८० साउन २२ गतेसम्ममा सक्ने लक्ष्य छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?