+
+
Shares

महोत्सव र सम्मेलनमा रमाएको २०७६ को साहित्य

गैरआख्यानको दबदबा, कविताको कम प्रभाव

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते ११:४३

१ वैशाख, काठमाडौं । प्रत्येक वर्षको अन्त्यमा त्यस वर्ष भएका मुख्य गतिविधि र उपलब्धिको चर्चा गरिन्छ । साहित्यमा पनि यस्तै समीक्षा गर्ने चलन छ । तर, यसवर्ष लकडाउनका कारण यस्ता समीक्षाहरु ओझेलमा परे ।

विसं. २०७६ भरि नेपाली साहित्यमा के-के भयो, जसले गर्दा नेपाली साहित्य र प्रकाशनलाई प्रभाव परेको छ ? यसबारेमा आसै विश्लेषणहरु आएका छैनन् ।

मुख्यत: पुस्तकमा लगाइएको कर र साहित्यिक बजार (व्यापार) ओरालो लागेको सन्दर्भमा २०७६ को साहित्य केन्दि्रत रहृयो ।
यो वर्ष कविता, कथा, उपन्यास, निबन्ध र आत्मकथाका किताब के कति प्रकाशित भए ? पुरस्कार र साहित्य महोत्सव कस्तो रहृयो ? यिनै विषयसहित वर्ष २०७६ मा भएका मुख्य साहित्यिक गतिविधिको चर्चा गरौं-

गैरआख्यानको दबदबा

यो वर्ष स्थापित लेखकका कमै मात्र आख्यान (उपन्यास र कथा) सार्वजनिक भए । बरु गैरआख्यानतर्फका पुस्तक धेरै सार्वजनिक भए ।

गैरआख्यानतर्फ नेत्र-चिकित्सक सन्दुक रुइतको जीवनी सर्वाधिक चर्चित रहृयो । अलि गि्रपरले लेखेको जीवनीलाई खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् । यस्तै डा. कमल लामिछानेको आत्मकथा ‘अन्तरदृष्टि’ पनि यो वर्ष बजारमा आयो ।

सङ्ग्रौलाकै जीवनी पनि यही चैत्रमा सार्वजनिक गर्ने कार्यक्रम थियो । तर, लकडाउनका कारण सार्वजनिक हुन ढिला हुने भएको छ । पाँच दशकभन्दा बढी साहित्य, राजनीतिक लेख र अनुवादमा कलम चलाएका सङ्ग्रौलाको जीवनी ‘सन्नाटाको एउटा स्वर’ लेखक उज्ज्वल प्रसाईंसँगको सहकार्यमा लेखिएको हो ।

लेखक डा. तीर्थबहादुर श्रेष्ठको ‘नेपाल नखुलेका पाटाहरू’ले पनि इतिहास र विज्ञानमा रुची हुने पाठकलाई आकषिर्त गर्‍यो । राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ पनि यसै वर्ष आयो ।

पत्रकार सुधीर शर्माको अंग्रेजी पुस्तक ‘दी नेपाल नेक्सस’ देखि लिएर अमृता लम्सालको ‘हजुरआमाका कथा’ पनि बजारमा आयो ।

यस्तै आख्यानतर्फ भदौमा अमर न्यौपानेको ‘गुलावी उमेर’, दशैं सेरोफेरोमा सञ्जीव उप्रेतीको ‘हंस’, उषा शेरचनको ‘आधि’ र सरुभक्तको ‘प्रतिगन्ध’ सार्वजनिक भयो ।

पूर्वप्रधान्यायाधीश सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’ पनि यही वर्ष सार्वजनिक भयो । कार्कीको यसअघि ‘न्याय’ नामक आत्मसंस्मरण चर्चामा थियो ।

यसबाहेक नारायण ढकालको ‘तमस’, निरु त्रिपाठीको ‘पेरिस्कानो’, प्रकाश तिवारीको ‘निहारिका’, राजेन्द्र थापाको ‘सकुनी’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, सर्वज्ञ वाग्लेको ‘पुनर्बास’, मुना चौधरीको ‘दुलारी’, अमला अधिकारीको ‘आलय’, रुमन न्यौपानेको ‘अनुगामी’पनि यसै वर्ष प्रकाशित भए ।

कवितामा संख्या बढी, प्रभाव कम

७० को दशक कविता प्रकाशन र काव्य माहोलको सेरोफेरोमा रहृयो । तर, ०७२ सालको भूकम्पपछि नेपाली कवितामा केही सिथिलता देखियो । नाम चलेका कविहरूको कवितासंग्रह बजारमा आउनु दुर्लभ बन्न पुग्यो । कवितासँगै गीतसंग्रह प्रकाशित हुने क्रम पनि ओरालो लाग्यो । यही क्रम वर्ष २०७६ मा पनि कायम रहृयो ।

वर्षको सुरुमा धर्मेन्द्रविक्रम नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ र मध्यतिर सुन्दर कुरुपको ‘पृथ्वीको अविष्कार’ सार्वजनिक भयो । यस्तै १० जना युवाकवि समेटिएको कवितासंग्रह ‘उज्यालोका मालीहरू’ महेश पौड्यालको सम्पादनमा फागुन महिनामा बजार आयो ।

व्यंग्य र कवितामा आफ्नो विशिष्ट पहिचान बनाएका कवि विमल निभाको तेस्रो कवितासंग्रह ‘जोकरको बन्दुक’ मंसिरमा प्रकाशित भयो ।

रुपेश श्रेष्ठको ‘घिन्ताङ घिसी ट्वाक’, मणी लोहनीको ‘मृत्युको अघिल्तिर’, बादलदेवी चाम्लिङको ‘वीर्यको जमिन’, नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’, र निमेषराज सापकोटाको ‘खोज्दै हिँड्दा आफैंलाई’ प्रकाशित भयो ।

माघ महिनामा चार सय जनाभन्दा बढी आदिवासी जनजाति कविका कविता समेटिएको कवितासंग्रह ‘इतर आवाज’ दक्षिण कोरियाबाट सार्वजनिक भयो । ‘इतर आवाज’को सम्पादन स्वप्नील स्मृति र पराजित पोमुले गरेका हुन् ।

यसबाहेक राष्ट्रिय स्तरको कविता विमर्श, कविता महोत्सव र कविता सम्मेलन आधा दर्जनको संख्यामा मात्र भए । नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने कविता महोत्सवबाहेक अन्य कविता प्रतियोगिता छायामा परे ।

नाटकमा सम्भावना

वर्ष २०७६ मा सर्वाधिक चर्चामा रहृयो नाटक, ‘महाभोज’ । अनुप बरालको निर्देशनमा र भारतीय लेखक मन्नु भण्डारीको यो नाटक भदौ भदौ महिनाभरि प्रदर्शन भयो । वर्षको अन्त्यमा विराटनगरमा पनि यो नाटक पुगेको छ । ‘महाभोज’को नेपाली अनुवाद विप्लव प्रतीकले गरेका हुन् ।

वर्षको सुरुमा नाटककार घिमिरे युवराजको लेखन र निर्देशनमा ‘आँधीको मनोरम नृत्य’ प्रदर्शन भयो । ‘अर्को कुरुक्षेत्र’, ‘जनयुद्ध जारी छ’, ‘योगमाया’ पनि प्रदर्शन भयो । नीलम कार्की निहारिकाको उपन्यास योगमाया आधारित रहेर टंक चौलागाईको निर्देशनमा बनेको उक्त नाटकले महिला अधिकारकर्मीलाई बढी आकर्षित गर्‍यो ।

यस्तै जीवन बरालको निर्देशनमा प्रदीप नेपालको नाटक ‘बर्बरिक’ पनि असार महिनामा प्रदर्शन भयो । सुनिल पोखरेलको निर्दैशनमा प्रज्ञा भवनमा तीन दिन चलेको ‘अनि माक्र्स फर्किए’ नाटकले पनि दर्शकको साथ पायो ।

वर्षको अन्त्यमा शिल्पी थिएटरले नाटकलाई य्ट्युबमा राख्ने कामको सुरुवात गर्यो । यस्तै लकडाउनलाई केन्द्रमा राखेर भर्चुअल नाटक महोत्सव पनि सुरु भयो ।

पुरस्कार र सम्मान

प्रायः साहित्यतर्फको पुरस्कार दिँदा निकै निन्दा-चर्चा हुने गर्छ । ७० को दशकको सुरुवाति वर्षमा दिइएका अधिकांश साहित्यिक पुरस्कार विवादित बने । तर यस वर्षको पुरस्कारमा भने अघिल्ला वर्षझैं विवाद आएन ।

सामान्य टीकाटिप्पणी र बधाइमा पुरस्कार कार्यक्रम सम्पन्न भए ।

यस वर्षको मदन पुरस्कार -वर्ष २०७५ भरि प्रकाशित पुस्तकबाट) इतिहासविद् योगेशराजको ऐतिहासिक उपन्यास ‘रणहार’ले पायो ।

भक्तपुरका राजा रणजित मल्लको जीवन र तत्कालीन गोरखा-काठमाडौं उपत्यका युद्धबारे लेखिएको ‘रणहार’ले मदन पुरस्कार जित्दा संस्मराणात्म निबन्धसंग्रह ‘छुटेका अनुहार’ले पद्मश्री पुरस्कार पायो ।

मदन पुरस्कार गुठीले नै दिने जगदम्बाश्री पुरस्कार बैरागी काइँलाले पाए । खेमकला-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दिने पद्मश्री सम्मान इतिहासकार महेशराज पन्तलाई र पद्मश्री पुरस्कार निबन्धकार रमेश सायनको ‘छुटेका अनुहार’लाई दिइयो ।

‘साताको साहित्य पुरस्कार’ कवि सीता तुम्खेवाले पाइन् भने अमेरिकाबाट दिइने अनेसास पुरस्कारबाट भारतीय नेपाली साहित्यकार लीलबहादुर क्षत्री पुरस्कृत भए । नेपाल कलासाहित्य डटकम प्रतिष्ठानले दिने राष्ट्रिय कलाश्री पुरस्कार गायक तथा लेखक गणेश रसिक र कलाश्री सम्मान गायक प्रेमध्यवज प्रधानले पाए ।

साथै यसै वर्षदेखि मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको राशी दुई लाखबाट बढेर चार लाख पुग्यो ।

महोत्सव र सम्मेलनमा रमाएको साहित्य

‘अहिलेको साहित्य मेला-महोत्सवमै रमाइरहेको छ’ भनेर युवाकवि स्वप्नील स्मृतिले अन्तवार्ता दिए । यस्तै आख्यानकार एवं साहित्यिक पत्रकार अविनाश श्रेष्ठले पनि ‘आजको बिकाउ साहित्यले हामीलाई कहीँ पुर्याउँदैन भनेर’ दिएको अन्तर्वार्ता यसै वर्ष आए ।

यसले नेपाली साहित्यमा बढीरहेको सम्मेलन तथा महोत्सवमाथि व्यंग्य गरेको प्रष्ट हुन्छ । फागुनमा निकै तामझामका साथ धनगढीमा ‘विश्व नेपाली साहित्य सम्मेलन’ भयो भने हरेक वर्ष हुने आइएमई नेपाल लिट्रेचर फेस्टिभल पोखरा र जनपुर संस्करण नाम दिई दुई ठाउँमा आयोजना भयो ।

यस्तै असोज पहिलो सातामा ‘इलाम साहित्य सम्मेलन’ले नेपाली साहित्यको ध्यान केन्द्रीत गर्यो । साहित्यको किल्ला मानिने पूर्वी नेपालको इलाममा भएको उक्त सम्मेलनमा साहित्यकार, कलाकार, पत्रकार र राजनीतिक विश्लेषको उपस्थिति थियो ।

यस्तै, लिम्बू कविहरूको ‘कविता तङ्सिङ’ काठमाडौं र झापामा सम्पन्न भयो । अन्तरराष्ट्रिय मातृभाषा दिवसको कार्यक्रम, दाङमा भएको मिनी लिट्रेचर फेस्टिभल र माघ महिनामा काठमाडौंमा भएको ‘किताब जात्रा’ वर्षका प्रमुख कार्यक्रम बनेर देखिए ।

महोत्सवमा साहित्यको चर्चासँगै समसामयिक राजनीति, इतिहास र अधिकारका सेसन पनि प्रशस्त भए । महोत्सवका मञ्चमा अधिकांश वक्ता र प्रस्तोता दोहोरिएको पाइयो ।

जापान, दक्षिण कोरिया, कतार र संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराका साहित्यिक कार्यक्रमले पनि यो वर्ष निरन्तरता पाए ।

स्रष्टाको अवशान

अग्रज साहित्यकारको निधनले साहित्य जगतमा निकै तरंग ल्याउने गर्छ । त्यसबेला नै दिवंगत साहित्यकारले गरेका मुख्य योगदान र कृतिको चर्चा हुने गर्छ ।

यस वर्ष साहित्यकार डीपी भण्डारीको निधन भयो । निबन्ध विधामा कलम चलाउने प्राध्यापक भण्डारीको चैत्र १ गते निधन भयो । यस्तै बाल साहित्यकार विनय कसजू, कुबेर गर्तौला, भारतीय नेपाली साहित्यकार हायमनदास राई, वीण हाङ्खिम, इन्द्रबहादुर गुरुङ र लक्खीदेवी सुन्दासको निधन भयो ।

कवि दुर्गा दाहाल, कवि एवं कलाकार उपेन्द्र पागलको पनि वर्ष २०७६ मा निधन भयो ।

समीक्षकको मत

समीक्षक राजकुमार बानियाँ

अधिकांश समीक्षक तथा समालोचक २०६२ पछिको एक दशक नेपाली साहित्यले नयाँ आयामसहित गति लिएको स्वीकार्छन् । तर, भूकम्पपछि साहित्यको लेखन र गतिविधि दुवैमा निष्कृयता छाएको उनीहरू बताउँछन् । सरकारी पक्षबाट साहित्यमा उल्लेख्य केही काम नभएको अवस्थामा लेखकहरू निजी प्रकाशन गृह र समूहगत साहित्यिक गतिविधिमा संलग्न छन् ।

पछिल्लो केही वर्ष र २०७६ को साहित्य नक्क्लबमोजिम नक्कल मात्र भइराखेको बताउँछन् समीक्षक राजकुमार बानियाँ । उनका अनुसार संख्यामात्र वृद्धि भएको साहित्यले साहित्यको जग बलियो बनाउँदैन ।

‘गुणवत्ताको दृष्टिले कमजोर रहेको हाम्रो साहित्यमा कृतिभन्दा व्यक्तिको नाम हाबी छ’, उनले भने ।

सिर्जनाकै सवालमा कुरा गर्दा दलित, महिला र मधेसका मुद्दाले निरन्तरता पाएको समालोचक बिन्दु शर्मा बताउँछिन् । ‘तर मुद्दामाथि केन्द्रित बुलन्द सृजना आउन सकेको छैन’ उनले भनिन् ‘राजनीतिक स्थिरता भयो भने साहित्यमा पनि स्थिरता आउँछ, यो वर्ष साहित्यमा स्थिरता देखियो ।’

साहित्यमा स्थिरता के हो त ? शर्मा भन्छिन्, ‘नयाँ विचार, चेतना र दृष्टि नहुनु स्थिरता हो ।’ वर्ष २०७६ को साहित्यमा अघिल्ला वर्षको तुलनामा न्यून उत्साह छाएको उनी बताउँछिन् ।

यद्यपि, फागुन र चैतमा बढी साहित्यिक गतिविधि र विमर्श बढी हुने बताउँछन् समीक्षक सोझो गाउँले । कोरोनाले गर्दा त्यो अवरुद्ध भएकाले वर्ष २०७६ को साहित्य तुलनात्मक रुपमा झन् कमजोर देखिन पुगेको उनको मत छ ।

कोरोनाको त्राश र महामारीले सर्जको मनस्थितिमा पनि प्रभाव परेको उनी तर्क गर्छन् ।

गाउँले भन्छन्, ‘विचारधारा, दर्शन र दृष्टिकोणमा संघर्ष ह्रास भइरहेको समय छ । अभियान र आन्दोलन सिथिल हुन पुगेका छन् । अनि त्राश र संसयको प्रभाव प्रत्यक्ष पर्‍यो ।’

तर, गुणात्मक समीक्षा र हार्दिक आलोचना यो वर्ष साहित्यमा निकै कम पाएको समीक्षक राम लोहनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?