Comments Add Comment

एप्पल एयरपड्सको ब्याट्रीले जसलाई अर्बपति बनायो

एप्पलको वायरलेस इयरफोन अर्थात् एयरपड्सको सफलताको कथा निकै लोभलाग्दो छ ।

यो सानो डिभाइसले एप्पलका लागि अर्बौं डलर कमाइदिएको छ । सन् २०१९ मा एप्पलको कुल आम्दानीको ७१ प्रतिशत एयरपडको बिक्रीबाटै हासिल भएको थियो । जबकि, आइफोनजस्तै अन्य उत्पादनहरू एयरपडको तुलनामा पछि परे । अझ पछिल्लोपटक बजारमा आएको एयरपड्स प्रोसँगै एप्पलले हेडफोनको बजारमा आफ्नो पकड अझै दह्रिलो बनाएको छ ।

एयरपड्सले केवल एप्पललाई मात्रै अर्बौं डलर कमाइदिएको होइन । यसले एउटा जर्मन कम्पनीको भाग्य पनि चम्काइदिएको छ र उक्त कम्पनीका अस्ट्रियन मालिकलाई पनि अर्बपति बनाइदिएको छ ।

जर्मन कम्पनी फार्ता र यसका मालिक अस्ट्रियन नागरिक माइकल टोनर अर्बपति हुनुको कारण अरू केही नभई एयरपड्सको ब्याट्री नै हो । फार्ता कम्पनीले एयरपड्सका लागि ब्याट्री उत्पादन गर्दै आएको छ ।

एप्पल एयरपड्सका लागि सूक्ष्म ब्याट्री उत्पादन गर्ने अस्ट्रियन उद्योगी माइकल टोनर अहिले अर्बपति बनेका छन् । उनले फार्ता कम्पनी सन् २००७ मा ४ करोड डलरमा खरिद गरेका थिए । साढे दुई वर्षअघि फ्रान्कफर्ट स्टक मार्केटमा सूचीकृत भएको यो कम्पनीको बजार मूल्य अहिले २ अर्ब ८० करोड डलर छ ।

फार्ता कम्पनीको भाग्य बदल्नका लागि यसका मालिक टोनरको चलाखी र भाग्य दुवैले काम गरेको छ । फार्ता खरिद गरेसँगै माइकल टोनरले एयरपड्सका ब्याट्री उत्पादनका लागि एप्पलसँग सम्झौता गरे । ततपश्चात उत्कृष्ट ब्याट्री उत्पादन गर्दै एप्पललाई आपूर्ति गर्न थालेको फार्ताले अहिले हेडफोनकोे ब्याट्रीको बजारमा आधा हिस्सा ओगट्न सफल भएको फोर्ब्सको तथ्यांकले देखाउँछ । उत्पादन लागत कम तर मूल्य उच्च भएकाले यो सूक्ष्म ब्याट्रीको व्यापारमा ४० प्रतिशतभन्दा धेरै नाफा हुने बताइन्छ ।

फार्ताले केवल एप्पलसँग मात्र होइन, ब्याट्री उत्पादनका लागि सामसुङ, सोनी तथा जाब्रालगायतका कम्पनीसँग पनि सम्झौता गरेको छ ।
सन् २०१९ मा कम्पनीले ४० करोड डलर आम्दानी गर्यो । सोही वर्ष टोनर पहिलोपटक फोर्ब्सको अर्बपतिको सूचीमा पर्न सफल भए । फार्ता कम्पनीमा उनको ५६ प्रतिशत सेयर रहेको छ । उनको उच्च सफलताका कारण अस्ट्रियन मिडियाले उनलाई थ्री हन्ड्रेड पर्सेन्ट म्यानको उपमा दिने गरेको छ ।

टोनरले फोर्ब्ससँगको कुराकानीमा भनेका छन्, ‘माइक्रोब्याट्रीसँगै हामी यो बजारमा अग्रणी बनिरहेका छौं, जहाँ हरेक वर्ष ५० देखि ६० प्रतिशतको विस्तार भइरहेको छ । आगामी १० वर्षभित्रमा जो कोही स्मार्टफोन प्रयोगकर्तासँग इयर ग्याजेट हुनेछ । त्यसैले यो क्षेत्रमा वृद्धिको ठूलो सम्भावना छ ।’

सन् २००७ मा फार्ता कम्पनी खरिद गर्न कसैले पनि नचाहेको बेला आफू बोलकबोल गर्ने एक्लो खरिदकर्ता रहेको उनी सम्झिन्छन् । उनले खरीद गर्ने बेला फार्ता कम्पनीको नगद प्रवाह ऋणात्मक अवस्थामा थियो । तर एप्पलसँगको सम्झौता भएका कारण सबै कुरा राम्रो भएको ठानिएको थियो ।

एप्पल तथा सामसुङजस्ता कम्पनीहरूले मूल्य तथा गुणस्तरमा कुनै सम्झौता नगरी ब्याट्री उत्पादनको माग गर्ने भएको हुँदा र आफ्नो उत्पादनहरू गुणस्तरीय भएको हुँदा फार्ता कम्पनीले भावी दिनमा अझै प्रगति गर्ने दाबी उनको छ ।

टोनर भन्छन्, ‘हाम्रो उत्पादनको गुणस्तर अब्बल छ । त्यसैले हामीले राम्रो मूल्यको माग गर्दछौं । एप्पल र सामसुङका हेडफोनको मूल्य चर्को हुने भएकाले यसको सबैभन्दा महत्त्वपूर्ण पाटपुर्जाको रूपमा रहेको ब्याट्रीको मूल्य ५ युरोको पर्ने कुरा अस्वभाविक होइन । तर अस्वभाविक त त्यसबेला हुन्छ जब महँगो हेडफोनको ब्याट्री ८ महिना पनि टिक्दैन ।’
फोर्ब्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment