Comments Add Comment

विप्लव समूहका ३ नेता अदालतको गेटबाट पुनः पक्राउ

विप्लव समूहका नेताहरुलाई पुनः पक्रन अदालतको गेट अगाडि तैनाथ प्रहरी । फोटो : युगबोध

३ बैशाख, घोराही । दाङ देउखुरी जिल्ला अदालतको आदेशमा रिहा भएका विप्लव नेतृत्वको नेकपाका तीन जना नेताहरुलाई प्रहरीले पुनः पक्राउ गरी बाँके लगेको छ ।

जिल्ला अदालतको आदेशमा मंगलबार धरौटीमा रिहा भएका केन्द्रीय सदस्यद्वय केशबहादुर बाँठा (सुवास) र सन्तोष सुवेदी (प्रयास) तथा रोल्पा विशेष जिल्ला सचिव पोष्टमान घर्तीलाई प्रहरीले अदालतको गेट अगाडिबाट पुनः पक्रेको हो । सुवेदी सत्तारुढ नेकपाका नेता झक्कु सुवेदीको छोरा हुन् ।

उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी भगवान राजले पुष्टि गर्दै सरकारी कदमको विरोध गरे । ‘कोरोना भाइरसको महामारीको बेला कैदीबन्दीलाई रिहा गर्दै जाने र घरभित्रै सबै सुरक्षित बस्ने भनिरहेको बेला अदालतको आदेशमा रिहा भइसकेका हाम्रा साथीहरुलाई पुनः पक्रेर सरकारले खेलवाड गरिरहेको छ,’ उनले भने ।

राज्यविरुद्ध संगठित अपराधको अभियोग लागेका उनीहरुलाई जिल्ला अदालतले जनही १५/१५ हजार रुपैयाँमा रिहा गर्न आदेश दिएको थियो ।

उनीहरुलाई गत पुस ७ गते पनि दाङ देउखुरी जिल्ला अदालतले जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उनीहरुले प्रहरीले पुनः पक्रने सूचना पाएको भन्दै रिहा हुन अस्वीकार गरेका थिए ।

त्यसपछि उनीहरुलाई तुलसीपुर कारागारमा लगेर राखिएको थियो । केही दिनमै प्रहरीले रोल्पा पुर्यायो । रोल्पा जिल्ला अदालतले जनही ३०/३० हजार धरौटीमा रिहा गर्न आदेश दिए पनि उनीहरुलाई पुनः प्रहरीले पक्रेर दाङ ल्याएको थियो ।

सुरुमा उनीहरु गत असोज अन्तिम साता भारतसँग सीमा जोडिएको दाङको राजपुर गाउँपालिका मुङ्ग्रैटा भन्ने स्थानबाट पक्राउ परेका थिए । यी तीनै जना त्यतिबेला नेत्रविक्रम चन्द (विप्लव)का दाजु एवम् पार्टीका मध्यपश्चिम कमाण्डर वीरजंग, राप्ती व्यूरो इन्चार्ज सुवास बाँठालगायतसँगै पक्राउ परेका २१ जना मध्येका हुन् ।

सो समूहका केही नेताहरु अझै पनि कारागारमै रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment