Comments Add Comment

जुम्लाका सबै तहमा आरडीटी हुने

३ वैशाख, जुम्ला । जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएकाहरुको र्‍यापिड डाइगोनोस्टिक टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली खटिएको छ । यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको कोरोना भाइरसको आरडीटी गर्न थालिएको हो ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोली हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर द्रूत निदानात्मक परीक्षण गर्न थालिएको हो ।

जिल्लामा विदेशबाट भित्रिएकाहरुका कारण गाउँमा त्रास सिर्जना भइरहेको छ । गाउँमा आएर स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्न थालेपछि स्थानीयवासीमा खुसी छाएको तिला गाउँपालिका वडा नं १ की उमाकला सार्कीले बताइन् ।

यसैबीच, तातोपानी गाउँपालिकाका छ स्वास्थ्य संस्थामा ६/६ का दरले २४ थान पीपीई जनस्वास्थ्य कार्यालय जुम्लाले दिएकाले काम गर्न सजिलो हुने स्वास्थ्य शाखाले जनाएको छ।

यसैबीच, जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिकाले कोभिड-१९ स‌ंक्रमितका लागि तयार गरिएका दुई सय ६६ शय्याको क्वारेन्टाइन खाली हुँदै गएको छ । तातोपानी गाउँपालिकाले ६४ शय्याको क्वारेन्टाइनमा १२ र हिमा गाउँपालिकाले ३० शय्याको क्वारेन्टाइनमा २० जनालाई राखेको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment