Comments Add Comment

जहाँ बन्दैछ कोरोनाविरुद्ध लड्ने हतियार

३ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढिरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निँदै पुग्छन् ।

वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन् । एम्बुलेन्स किन गएका होलान् भनेर जिज्ञासा पनि आमरूपमा उत्पन्न हुन सक्छ । विश्व स्वास्थ्य संगठन र सरकारले तय गरेको मापदण्ड विपरीत गएर भने विश्वविद्यालय परिसरमा कुनै भिडभाड गरिएको छैन । आखिर के छ त ? विश्वविद्यालय परिसरमा ।

जवाफ सहज छ, राष्ट्रिय आविष्कार केन्द्र । नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउनेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महावीर पुनले विश्वविद्यालय परिसरमा नै केन्द्र स्थापना गरेका छन् । केन्द्रमा आजकल दैनिक २० जना दिनरात नभनी काम गरिरहेका छन् ।

केन्द्रका प्रमुख पुन पोखरामा छन् । तर, उनी पोखरामा रहेको भान कोही कसैलाई पनि छैन । केन्द्रमा भइरहेको काम कारबाहीको बारे उनले श्रव्यदृश्य माध्यमबाट निगरानी मात्रै गर्दैनन्, निर्देशनसमेत दिन्छन् ।

कोरोनाको संक्रमणबाट जोगाउने लक्ष्यका साथ राष्ट्रिय आविष्कार केन्द्रमा महत्वपूर्ण काम भइरहेको छ । विश्वव्यापी रूपमा नै कोरोनाको महामारी बढ्दै गएको बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ, केन्द्रले । पीपीई मिलाउने र पट्याउने काममा विगत १० दिनदेखि खटिँदै आएका पर्वतका अमबहादुर रोकालाई पनि सङ्कटको समयमा दिनरात नभनी काम गर्दा पनि थकाइको महसुस भएको छैन ।

कोभिड-१९ लागेका मानिसका लागि खाना औषधि पुर्‍याउन रोबोट बन्दैछ । सो कार्यका लागि इन्जिनियर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत छ जनाको समूहले काम गरिरहेको छ । फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ । बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन।

फ्याकिएका सामान नै प्रयोग गरेर रोबोट तयार हुँदैछ । सोमबार डेमो गरिसकिएको छ । ‘स्वचालित बनाउनका लागि आवश्यक प्रणाली जडान हुँदैछ। अब केही दिनमा तयार पार्छौँ, यसले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनु पर्ने आवश्यकता हुँदैन,’ इन्जिनियर शंकर ढकालले भने ।

उनका अनुसार, अबको केही दिनमै रोबोट तयार हुनेछ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा विभिन्न तीन तल्लामा कोरोनाका बिरामी उपचार गर्ने स्थान बन्दैछ । आईसीयू तयार हुँदैछ । वीरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल सबै क्षेत्रमा १५ देखि २० वटा रोबोट तत्कालै आवश्यक परेको छ । माग पनि उत्तिकै आइरहेको छ, केन्द्रलाई । कोरोनाको उपचार गराइरहेका बिरामी र चिकित्सकबीच कुनै पनि समयमा प्रत्यक्ष सम्पर्क नहोस्, खाना तथा औषधि पुर्‍याउनसमेत सहज होस् भनेर नै रोबोट तयार पारिएको इन्जिनियर कार्कीले बताए ।

इन्जिनियर गौरव दासको चटारो पनि उस्तै छ । दासलगायतको समूहले सब्जी कोठी बनाइरहेको छ । किसानले तरकारी १० देखि ४० दिनसम्म जस्ताको तस्तै राख्न सक्छन् कोठीमा । गाडीबाट घरघरमा पुर्‍याएर बिक्री गर्नसमेत सकिन्छ । त्यसमा डिस इन्फेक्सन च्याम्बर राखिएको छ । त्यसले जुनसुकै भाइसर पनि मारिदिन सक्छ । त्यसभित्र एक प्रकारको कृतिम ओजोन तह बनाइएको छ ।

‘योसँगै गौरवकै नेतृत्वमा पीपीई, ग्लोब्स, मास्क डिसइन्फेक्सन गर्ने यन्त्रको आविष्कार गरिरहेको छ । काम अन्तिम चरणमा रहेको छ । एक प्रकारको अल्ट्रा भायोलेट रे युक्त (यूभी) बनाइँदै छ । त्यो झण्डै ओभन जस्तै हुन्छ । केही दिनमा तयार हुँदैछ,’ दासले भने ।

त्यसभित्र एक प्रकारको बक्सा हुन्छ । त्यहाँ राखेपछि एक पटक प्रयोग गरिएका सामान फेरि प्रयोग गर्न सकिने गरी भाइरसरहित बनाइन्छ । व्यक्तिगत स्वास्थ्य एवं सुरक्षात्मक सामग्रीको अभाव भइरहेको बेलामा निर्मलीकरण गरेर पनि प्रयोग गर्नसक्ने ओभन जस्तै यूभी बनाउन लागिएको दासले जानकारी दिए ।

जनकपुर निवासी २६ वर्षका गौरव मेकानिकल इन्जिनियर तथा जुनियर वैज्ञानिक हुन् । दुई वटा शोधको त उनसँग ‘प्याटेन्ट राइट’ नै छ । सब्जी कोठी र दर्जी उनको प्याटेन्ट राइट भएका अविष्कार हुन् । दास थापाथली इन्जिनीयरिङ अध्ययन संस्थानका विद्यार्थी हुन् ।

स्यानिटाइजिङ टनेल

स्यानिटाइजिङ टनेल पनि गौरव कै नेतृत्वमा बनिरहेको छ । के छ त यसको विशेषता ? हाम्रो प्रश्न थियो, दासलाई । बिरामी, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले आवतजावत गर्दा, बाहिर गएर आउँदा त्यो टनेलले पूरै शरीर ‘स्यानिटाइज’ गर्छ । त्यस्तै खालको टनेल टेकु अस्पतालमा जडान गरिएको छ । त्यो आयातित हो ।

दासको समूहले फालिएका र काम नलाग्ने सामग्रीबाटै टनेल बनाइएको हो । सो मेसिनले हातमा स्यानिटाइज गरे झैँ पूरै यसबाट शरीरलाई स्यानिटाइज गर्न सकिन्छ । जसले गर्दा एक मानिसबाट अर्को मानिसमा भाइरस सर्न पाउँदैन । मेसिनले नै शरीरमा एकैचोटी  स्यानिटाइज गर्ने प्रविधि यसमा जडान गरिएको छ ।

एम्बु ब्याग

आविष्कार केन्द्रमा निर्माण भइरहेको अर्को सामग्री हो एम्बु ब्याग । अहिले पनि कतिपय ठाउँमा अक्सिजन दिँदा म्यानुअल पम्पिङ गर्ने गरिन्छ । अस्पतालमा अब यो तयार भएपछि मेसिनले अटोमेटिक रूपमा पम्प गर्छ । भेन्टिलेटरमा यो खालको मेसिन राख्दा झनै प्रभावकारी हुन्छ । अस्पतालमा वा एक ठाउँबाट अर्को ठाँउमा बिरामी लैजाँदा एम्बु ब्यागले ठूलो काम गर्छ ।

गम्भीर बिरामीलाई अक्सिजन पम्पिङ गर्दा हात प्रयोग गर्नु पर्दैन । सिधै मेसिनले गर्न मिल्ने गरी यो बनाउन लागिएको हो । हाल त्यस्तो खालको ब्याग देशभरी जम्मा पाँच सय मात्रै होला ढकालको दाबी छ ।

एरोसल बक्स

कोरोनाको शङ्का लागेका बिरामीको स्वाब परीक्षणका क्रममा सबैभन्दा बढी संक्रमणको जोखिममा चिकित्सक नै हुन्छ । उपचारका क्रममा बिरामीले वाकवाक गर्छ, ह्याच्छयुँ गर्छ, त्यसबेला त्यो थुक चिकित्सक नर्ससम्म आउन नदिनका लागि नयाँ बाकस आविष्कार गरिएको ढकाल बताउँछन् । जसको नाम ‘एरोसल बक्स’ राखिएको छ ।

एउटा बाकसमा सिसा लगाइएको हुन्छ । हात छिर्न मिल्ने गरी दुई वटा प्वाल बनाइएको छ । बिरामी बेडमा रहेको बेलामा आवश्यक परीक्षण र उपचारका क्रममा यो बक्स प्रयोग गरिन्छ । विभिन्न अस्पतालबाट यसको माग भइरहेको छ । चितवनको कलेज अफ मेडिकल साइन्सेज र शिक्षण अस्पतालबाट समेत माग आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment