Comments Add Comment

जर्मनीमा लकडाउन खुकुलो पार्ने तयारी

४ वैशाख, काठमाडौं । जर्मनीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न जारी राखेको लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

जर्मन चान्सलर एन्जेला मार्केलले देशभर जारी लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छन् । जारी लकडाउनले कोरोना महामारी नियन्त्रणउन्मुख रहेकाले लकडाउनलाई खुकुलो बनाउन लागिएको मार्केलको भनाइ छ ।

‘कोरोनाविरुद्ध लड्न हामीले अवलम्बन गरेको उपायबाट मध्यम सफलता हात लागेको छ,’ मार्केलले कोरोना नियन्त्रण प्रयासको सफलताबारे चर्चा गर्दै भनेकी छन् ।

मार्केललाई उधृत गर्दै बीबीसीले जनाएअनुसार, आगामी सातादेखि त्यहाँका केही निश्चित पसलहरू खुला रहने छन् । आगामी मे ४ देखि विद्यालयहरू पनि विस्तारै पूर्ववत् सञ्चालनमा ल्याइने मार्केलले उल्लेख गरेकी छन् ।

धार्मिकलगायतका ठूला सभा गर्न लगाइएको प्रतिबन्ध भने आगामी अगस्ट ३१ सम्म जारी रहने बताइएको छ । लकडाउन खुकुलो पारिए पनि मानिसहरूको भीडभाड हुने बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र हल र संगीत भेन्यु भने हाललाई बन्द नै रहने छन् ।

लकडाउन खुकुलो पारिए पनि सोसियल डिस्ट्यान्सलगायतका नियम भने आगामी मे ३ सम्म यथावत् रहने उनको भनाइ छ । किनमेल र सार्वजनिक यातायात प्रयोगको दौरानमा मास्कलगायतका सुरक्षात्मक उपाय निरन्तर अवलम्बन गरिराख्न पनि मार्केलले सुझाएकी छन् ।

जर्मनी कोरोनाबाट प्रभावित हुने विश्वको चौथो मुलुक हो । जोन हप्किन्स युनिभर्सिटीका अनुसार, हालसम्म यहाँका १ लाख ३४ हजार ७ सय ५३ जना मानिसमा यसको संक्रमण देखिएको छ । यहाँका ३ हजार ८ सय ४ मानिसले भने यो प्राणघातक रोगका कारण ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment