+
+
Shares

दक्षिण कोरियामा सत्तारूढ पार्टीको जित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १०:२३

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीबीचमा भएको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीले जित हात पारेको छ । सामाजिक दूरी र उल्लेख्य सतर्कता अपनाएर सम्पन्न भएको निर्वाचनमा राष्ट्रपति मून जाइ इनको डेमोक्रेटिक पार्टीले कुल तीन सयमध्ये एक सय ६३ सिट जितेको हो ।

सत्तारुढ गठबन्धनको अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट जित्ने अनुमान गरिएको छ । यससँगै सत्तारुढ गठबन्धनको राष्ट्रिय सभामा एक सय ८० सिट पुग्न सक्ने बताइएको छ । विपक्षी युनाइटेड फ्युचर पार्टीले भने निर्वाचनमा एक सय तीन सिट जित्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियामा सत्तारुढ डेमोक्रेटिक पार्टीले स्पष्ट बहुमत ल्याउनुलाई कोरोना भाइरसविरुद्ध सरकारले चालेको कदमको अनुमोदनको रुपमा हेरिएको छ । यससँगै दक्षिण कोरियामा सन् १९८७ को प्रजातान्त्रिक निर्वाचनपछि सबैभन्दा ठूलो बहुमतको सरकार देखिएको हो । साथै १६ वर्षपछि दक्षिण कोरियामा वामपन्थी पार्टीले स्पष्ट बहुमत पाएको हो ।

कोरोना भाइरसको महामारी नियन्त्रणको लागि दक्षिण कोरिया सफल भएको मानिएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । साथै दुई सय २९ जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियाले भाइरस नियन्त्रणको लागि आफ्नो प्रयास भने जारी राखेको छ । सरकारका अनुसार अहिले दक्षिण कोरियामा ६० हजार मानिस क्वारेन्टाइनमा छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?