Comments Add Comment

कोरोना संकट र समाजवादको भ्रम

कोरोना संकटपछिको विश्व व्यवस्था कस्तो होला ? कस्तो हुनु पर्ला ? वैश्विक लकडाउनको यो घडीमा अनेकौं दृष्टिकोणहरू प्रकट भइरहेका छन् । ‘महाशक्ति’हरूको हैसियत फेरिने, आर्थिक मन्दी आउने, बेरोजगार आन्दोलन हुने, खाद्य संकट देखापर्ने आदि अड्कलबाजीमा प्रायः सबैको स्वीकारोक्ति नै देखिन्छ । तर, महामारी कहिले समाधान हुन्छ भन्ने विषयकै टुंगो छैन । त्यसैले भावी वैश्विक सम्भावना र समाधानको विषय अझै पनि अन्यौलमै छ ।

यद्दपि केही सम्भावना र चुनौतीहरू भने क्षितिजमा प्रकट हुन थालेका छन् । सम्भावना यो हो कि कोरोना महामारीको परिघटनाबाट मानव जातिले ठूलो सवक सिक्नेछन् ।

खासगरी विगतका मूर्खतापूर्ण चिन्तन र मूल्यमान्यताको समीक्षा गर्नेछन् । आफ्नै अहंकार र महत्वाकांक्षाका कारण यस प्रकारका विपत्ति आएको कुरा बुझ्ने छन् । आफ्ना आस्था र मूल्यमान्यताहरूको विषयमा नयाँ बहसको सुरुवात गर्ने छन् । भविष्यका लागि स्वस्थ एवं समुन्नत वैकल्पिक बाटो तय गर्न प्रयास गर्ने छन् ।

तत्काल यसको परिणाम यो हुन सक्छ कि लकडाउन खुलेलगत्तै घर कोठामा भोकभोकै बस्न बाध्य भएका श्रमजीवी समुदाय आ–आफ्ना सरकारविरुद्ध विद्रोहमा उत्रिन सक्छन्

तर, माथिका सम्भावनाभन्दा पनि तत्काल चुनौती नै प्रवल देखिन्छ । चुनौती यो हो कि, अब के गर्ने भन्ने प्रश्नमा नै अन्यौल छ । कोरोना संकट पछिको समाजका चुनौतीहरूलाई पार लगाउने खालको सर्वस्वीकार्य वैकल्पिक सामाजिक व्यवस्थाको नमुना काहीँ उपलब्ध छैन । प्राज्ञिक स्तरमा जे–जस्ता धारणाहरू बनेका छन् ती आजका राज्य सञ्चालक र आम मानिहरूका लागि सुरुवातमै विश्वसनीय हुने छैनन । त्यसैले बढीभन्दा बढी सम्भावना यो हुन सक्छ कि आगामी वर्षहरू वैश्विक स्तरमै चरम अराजकता र अन्यौलका वर्ष हुनेछन् ।

यस प्रकारको अराजकता कतै निरंकुशता, कतै परम्परागत राष्ट्रवाद र कतै सामाजिक अतिवाद जस्ता रुपरंगमा प्रकट हुन सक्छ । परिणामतः आगामी दशक उपद्रव र अराजकताको दशक पनि बन्न सक्छ ।

पूर्वानुमानित संकट :
विश्व आर्थिक मञ्चले सन २०१९ मा प्रकाशित गरेको ‘विश्व जोखिम प्रतिवेदन’ को चौधौं संस्करणले विश्वमा जम्मा पाँच प्रकारका आसन्न जोखिम तर्फ संकेत गरेको थियो ।

पहिलो, अर्थतन्त्रको जोखिम, दोश्रो, पर्यावरणीय जोखिम, तेश्रो, भू–राजनीतिक जोखिम, चौथो, सामाजिक जोखिम र पाँचौं प्राविधिक जोखिम । यी जोखिमहरू प्रकृति, जीवन र समाजको स्वभावविरुद्धका मनुष्यका कृयाकलापका कारण बढिरहेको तथ्यलाई पनि किटान गरिएको थियो ।

यी जोखिममध्ये संक्रामक रोगको प्रसार र सम्भावित स्वास्थ्य संकटको जोखिमलाई सामाजिक जोखिममा समावेश गरिएको थियो । स्मरणीय छ, यो अनुमान पहिलोपल्ट गरिएको थिएन, केही वर्ष अघिदेखि नै लगातार यसकोे संकेत गरिएको थियो । आज त्यही पूर्वानुमानित जोखिम, संकटमा रुपान्तरण भएको छ । यसको अर्थ, अहिलेको स्वास्थ्य संकट अकल्पनीय र हठात् पैदा भएको संकट होइन । यो पूर्वअनुमानित संकट नै हो ।

प्रतिवेदनले माथिका पाँच प्रकारका जोखिमलाई अन्तरसम्बन्धित र अन्तरनिर्भर देखाएको छ । साथै यी जोखिमसँगै जेलिएका अन्य दर्जनौं उपजोखिमहरूको सञ्जाल पनि देखाएको छ । जो आपसमा अन्तरसम्बन्धित छन् । एउटामा समस्या आउँदा सारा सञ्जाल प्रभावित हुन्छ । आज यो अनुमान पनि यथार्थमा रुपान्तरण भएको छ । अर्थात् कोरोना भाइरस नामको स्वास्थ्य संकटले विश्वको अर्थतन्त्र, भूराजनीतिदेखि प्रविधि र संस्कृतिसम्मलाई प्रभावित पारिदिएको छ।

तर, बिडम्बनाको कुरा, संकटको पूर्वाभाष पाउँदा पाउँदै पनि ‘महाशक्ति’हरूले यसबाट बच्नको लागि कुनै वैश्विक पूर्वतयारी गर्न आवश्यक ठानेनन् । प्रतिवेदनलाई केवल कागजमा सीमित गरियो । कार्यान्वयन गर्ने विषय बनाउन जरुरी ठानिएन । जसको परिणाम आज सारा विश्वले भोगिरहेको छ ।

अहिले जोखिम, संकटमा रुपान्तरण भएर विश्वव्यापी भइसक्दा पनि ‘महाशक्ति’हरूको दृष्टिकोण र व्यवहारमा गुणात्मक बदलाव आएको छैन । अर्थात् वर्तमान समस्यालाई बहुआयामिक मानिएको छैन । साथै, दिगो समाधानका उपाय खोजिएको छैन । बरु बिल्कुलै प्राविधिक समस्याको रुपमा व्यवहार गरिराखिएको छ । यो किटाणुले पैदा गरेको समस्या हो, भ्याक्सिन वा औषधि पत्ता लागेपछि समाधान हुन्छ भन्ने सोच बनाईएको छ । यसले जोखिमलाई झन् बढाएको छ।

संकटमाथि संकट

कोरोना महामारी यतिबेला विश्वव्यापी त्रासदीको विषय बनेको छ । यद्धपि यही संकटले नै मानव सभ्यतालाई सिध्याइहाल्छ भन्ने होइन । ढिलो चाँडो यो समस्याको समाधान अवश्य खोजिने छ । तर, कोरोना संकट समाधानपछिको समाज पूर्ववत रहनेछैन । यो एउटा ‘क्रमभङ्ग समाज’ हुनेछ ।

क्रमभङ्ग समाज भन्नुको अर्थ आगामी दिनमा समाजमा यस्ता प्रश्न र समस्याहरू पैदा हुनेछन् । जसलाई आजका सरकार र राज्य संरचना भित्रबाट सम्बोधन गर्न असम्भव हुनेछ । जसका लागि बिल्कुलै फरक सोच र संरचनाहरूको अवश्यकता पर्नेछ । राज्यहरूको नीति तथा कार्यक्रमहरूमा सामान्य परिमार्जन होइन, ‘प्याराडाइम सिफ्ट’ नै जरुरी हुने छ ।

यो इतिहासमा ‘मध्ययुग’ बाट ‘पुनर्जागरण’ युगमा संक्रमण भए जस्तै अवस्था हुनेछ । फरक के भने, ‘मध्ययुग’ कोे मानव सभ्यताले धर्म (सम्प्रदाय) बाट विज्ञान तर्फ, ईश्वरीय चिन्तनबाट भौतिकवादी (शास्त्रीय) चिन्तनतर्फ संक्रमण गरेको थियो । आजको सभ्यताले शास्त्रीय चिन्तनबाट आधुनिक चिन्तनतर्फ, भौतिकवादी विश्व दृष्टिकोणबाट ‘जैविक विश्व दृष्टिकोण’ तर्फ संक्रमण गर्नु पर्नेछ ।

अर्थात् समाजमा समग्र आस्था, विश्वास, पद्धति र मूल्यमान्यताकै प्याराडाइम सिफ्टको आवश्यकता टड्कारो बन्ने छ । जसका कारण सामान्य राजनीतिक प्रणालीको बहस मात्रले आगामी समाजको नेतृत्व गर्न असम्भव हुनेछ । प्रकृति विज्ञान, जीव विज्ञान, मनोविज्ञान, स्वास्थ्य विज्ञान, समाजशास्त्र, अर्थशास्त्र, व्यवस्थापनशास्त्र र राजनीति जस्ता सबै विधामा ‘प्याराडाइम सिफ्ट’ सहितको चेतना आवश्यक पर्नेछ ।

यस सम्बन्धमा तत्काल केही सुखद् र केही दुःखद् पक्षहरू छन् । सुखद् पक्ष के हो भने तात्विक विज्ञानका सबै विधाहरूमा यस प्रकारको ‘प्याराडाइम सिफ्ट’, दशकौं अगाडि नै हाँसिल भइसकेको छ । त्यसैले यस क्षेत्रमा पर्याप्त सन्दर्भ सामग्री सजिलै उपलव्ध हुन सक्छन् । दुःखद् पक्ष के हो भने, समाज विज्ञानका विधाहरूले तात्विक विज्ञानको प्रगतिसँग कदम मिलाएका छैनन् । अर्थात् समाज विज्ञानका क्षेत्रमा ‘प्याराडाइम सिफ्ट’ को प्रभाव कमजोर छ । त्यसैले यस क्षेत्रका सन्दर्भ सामग्रीहरू पर्याप्त उपलब्ध हुने छैनन् ।

यसको अर्थ, सामाजिक क्षेत्रमा अझै पनि शास्त्रीयता नै हाबी छ । राज्यहरूको नीति निर्माणको क्षेत्रमा त झन शास्त्रीयता जब्बर छ । सरकारहरू परम्परावादी नै छन् । जो संकटको प्राविधिक परिभाषा र समाधानमै दिन काटिरहेका छन् । अर्कोतिर संकटको यस घडीमा परिस्थितिलाई समाल्न प्रयास गर्नु त कता हो कता, सरकारहरू उल्टो जनआक्रोश बढाउने खालका अभिव्यक्ति र कृयाकलापमा संलग्न भइरहेछन् । राजनीतिक/सामाजिक आन्दोलनको क्षेत्रमा पनि ‘प्याराडाइम सिफ्ट’ सहितको दृष्टिकोण र एजेण्डा बोक्ने दल र अभियन्ताहरू लगभग शून्य छन् । त्यसैले यसलाई दुःखद् पक्ष भनिएको हो ।

तत्काल यसको परिणाम यो हुन सक्छ कि लकडाउन खुले लगत्तै घर कोठामा भोकभोकै बस्न बाध्य भएका श्रमजीवी समुदाय आ–आफ्ना सरकारविरुद्ध विद्रोहमा उत्रिन सक्छन् । हठात् रोजगारी गुमाएका करोडौंको बेरोजगारहरूको फौजले सरकार तथा ठूलाठूला कर्पोरेट हाउसहरूलाई निसाना बनाउन सक्छन् । गैरजिम्मेवार निजी अस्पतालहरू यस्ता मानिसहरूको ‘तारो’ बन्न सक्छन् ।

यसरी समाजमा आम विद्रोह देखापर्न सक्छ । जब यस प्रकारको विद्रोह देखा पर्छ । तब सरकारहरू परिस्थिति सम्हाल्न नसकेर निकम्मा साबित हुनेछन् वा दमन गर्न पट्टि लाग्ने छन् । यसले अवस्था झन खराब भएर जानेछ । तर, त्यो बेला विद्रोहलाई सुनिश्चित दिशा दिने युगान्तकारी चेत सहितको राजनीतिक शक्ति र नेतृत्व पङ्क्ति सडकमा देखा पर्ने छैनन् । फलतः विद्रोह आम अराजकतामा रुपान्तरण हुन सक्छ । यसरी संकटमाथि संकट थपिने सम्भावना बढेको छ ।

समाजवादको भ्रम

कोरोना संकटसम्म आउँदा विश्वमा उदारवादी लोकतन्त्रको भ्रम त धेरै हदसम्म टुटिसकेको छ । तर ‘समाजवादी’ भ्रम भने यदाकदा बाँकी नै रहेको देखिँदैछ ।

वास्तविकतामा आजको संकट पैदा हुनुमा उदारवाद र समाजवाद दुवै बराबर जिम्मेवार छन् । त्यसैले समाजवाद आजको संकट समाधानको विकल्प बन्न सक्दैन ।

समाजवाद भनाैं वा ‘पर्यावरणीय समाजवाद’ भनाैं, दुवै भ्रम हुन् । ‘समाजवादी विकल्प’ यस्तो भ्रम हो जसले प्रकृति, जीवन र समाजको शास्त्रीय (भौतिकवादी) परिभाषालाई अझै अकाट्य सत्य मान्छ । विगतमा समाजवादी भनिएका सत्ताहरूले प्रकृति जीवन र समाजमाथि गरेका कृयाकलापमा गल्ती देख्दैन । सम्पूर्ण दोष उदारवादीलाई दिन्छ र आफूलाई ‘पानी माथिको ओभानो’ भएको दाबी गर्छ । फलतः आजको संकट सिर्फ उदारवादीहरूले पैदा गरेको समस्या मान्दछ ।

‘पर्यावरणीय समाजवादी’ विकल्प यस्तो भ्रम हो । जसले विगत र वर्तमानका समाजवादी सत्ताहरूले पर्यावरण विनाशको गल्ती गरेका थिए वा छन् भनेर त स्वीकार गर्दछ ।

तर, त्यसलाई सैद्धान्तिक गल्ती नभएर व्यवहारिक गल्ती मान्दछ । सैद्धान्तिक मामिलामा भने यसले पनि विगतका शास्त्रीय निष्कर्षहरूलाई नै अकाट्य सत्य मान्दछ । त्यसैले यिनीहरूका लागि पनि कोरोना संकट भनेको उदारवादीहरूले पैदा गरेको संकट नै हो । यसमा यदि समाजवादीहरूको गल्ती नै छ भने त्यो प्रकृतिलाई व्यवहार गर्ने सवालमा भएको सामान्य व्यवहारिक गल्ती मात्र हो ।

कथित समाजवादीहरूको यो बुझाइ शास्त्रीय बुझाइ मात्र हो । वास्तविकतामा उदारवादी वा समाजवादी लगायत सबै प्रकारका भौतिकवादी विचार धाराहरू प्रकृति, जीवन र समाजको स्वभावकाविरुद्ध छन् । प्रकृति विज्ञान, जीव विज्ञान, मनोविज्ञान र समाजशास्त्रका विधाहरूमा भएको पछिल्लो विकासले उदारवाद र समाजवादको सैद्धान्तिक जग नै भत्काइसकेको छ । त्यसैले समाजवाद नामको शास्त्रीय विचार, पद्धति र सत्ताका कृयाकलापलाई यो वा त्यो प्रकारले बचाउ गर्नु भनेको कि त विज्ञानको विकाससँग अद्यावधिक नहुनु हो, कि त देश दुनियाँप्रति बेइमानी गर्नु हो ।

प्रकृति जीवन र समाजलाई व्यवहार गर्ने सवालमा समाजवादी सत्ताहरूले पनि पुँजीवादीहरूले जत्ति नै गल्ती गरेका छन् । जुन गल्तीको श्रोत व्यवहारिक होइन, सैद्धान्तिक नै हो । फरक यति हो पुँजीवादीले ‘व्यवसायिक स्वतन्त्रता’ का नाममा गल्ती गरेका छन् । समाजवादीले ‘समाजवादको रक्षा’ का नाममा वा ‘सर्वहारा वर्गको हित’ का नाममा गल्ती गरेका छन् । जे नाममा गल्ती गरे पनि उदारवादी र समाजवादी दुवै सिद्धान्त प्रकृति, जीवन र समाजको स्वभावकोविरुद्ध छ ।

त्यसैले यिनीहरूले न त स्वतन्त्रताको ग्यारेन्टी गर्दछन्, न त गरिबको भलो गर्दछन् । दुवै भौतिक सुख (धन सुख, पद सुख र शरीर सुख) को ‘माया’ले ग्रस्त छन् । दुवैले राज्यलाई शासकीय महत्वाकांक्षाको पागलपनमा घिसार्छन् । त्यसैले यिनीहरूबीच तात्विक अन्तर छैन । यी दुवै शाब्दिक आडम्बर मात्र हुन् । यिनीहरूबाट आजका चुनौतीहरूको समाधान हुँदैन ।

‘प्याराडाइम सिफ्ट’ भनेको उदारवादबाट समाजवाद तर्फ ढल्किनु पटक्कै होइन । बरु उदारवाद वा समाजवाद वा राष्ट्रवाद वा नैतिकतावाद जस्ता सारा शास्त्रीय (भौतिकवादी) वैचारिकीलाई अतिक्रमण गरेर ‘जैविक वैचारिकी’ पक्रिनु हो । अर्थात्, भौतिकवादी विश्व दृष्टिकोणलाई नै अतिक्रमण गरेर जैविक विश्व दृष्टिकोण पक्रिनु हो । त्यसैले उदारवाद वा समाजवाद अबको विकल्प बन्न सक्दैनन । विकल्पको लागि प्याराडाइम सिफ्टसहितको समाधान खोज्न जरुरी हुन्छ ।

वैकल्पिक प्याराडाइम

कोरोना महामारीलाई नियन्त्रण गर्नु आजको प्राथमिक काम हो । तर, दिगो समाधानको उपाय खोज्नु पनि यतिबेलाको अर्को उत्तिकै महत्वपूर्ण काम हो । त्यसैले वैकल्पिक प्याराडाइमको बहस आजको लागि महत्वपूर्ण विषय हो ।

विज्ञानका समकालीन विधाहरू र प्राचीन ऋषिहरूको मौलिक जीवनदृष्टि नै वैकल्पिक प्याराडाइमको आधार बन्न सक्छ । त्यस्तो वैकल्पिक अवधारणालाई ‘जैविक समाज’ भन्न सकिन्छ । यो जैविक विश्वदेखि जैविक देश, जैविक नगरहुँदै जैविक व्यक्ति बन्ने तथा बनाउने प्रकृया हो । यसले निम्नानुसार शास्त्रीय दृष्टिकोण एवं मूल्यमान्यतालाई उल्टाइ दिन्छ ।

कोरोना महामारीलाई नियन्त्रण गर्नु आजको प्राथमिक काम हो । तर, दिगो समाधानको उपाय खोज्नु पनि यतिबेलाको अर्को उत्तिकै महत्वपूर्ण काम हो

पहिलो, भौतिक तत्व साधन र अभौतिक तत्व लक्ष्य हो : मनुष्यले भौतिक तत्वलाई साधन र अभौतिक तत्व (निजत्व) लाई लक्ष्य मान्नु पर्दछ । व्यक्तिहरूले आफ्नो गुणधर्म अनुसारको कर्ममा आनन्दित हुने प्रयास गर्नु पर्दछ । धनसुख, पद सुख र शरीर सुखलाई साधनसम्म मान्नु ठिक छ, तर साध्य मान्नु हुँदैन । यसको उपयोगसम्म गर्नु ठिक छ तर यसैमा लिप्त हुनुहुँदैन । लोभवृत्तिविनाको जीवन नै सार्थक जीवन हो । स्वधर्ममा रमाउने जीवन नै सार्थक जीवन हो । अर्थात्, अपरिग्रह र निजत्वको प्रस्फुटन (आत्मज्ञान) नै मनुष्य जीवनको पुरुषार्थ हो ।

दोश्रो, राज्यको कुनै गन्तव्य हुँदैन : यो संसारमा व्यक्ति र ब्रम्हाण्डको मात्र गन्तव्य हुन्छ । राज्य र समाजको गन्तव्य हुँदैन । ब्रम्हाण्डको गन्तव्य शून्य (व्लाकहोल) हो भने व्यक्तिको गन्तव्य पनि शून्य (आत्मा/कग्नीसन) हो । तर, समाज वा राज्य गन्तव्यहीन प्रकृया हुन् । किनकी समाज वा राज्यको आत्मा हुँदैन । समाज वा राज्य तात्विक चिज नै होइन । यो व्यक्तिहरूका सम्बन्धहरूको जोड मात्र हो । त्यसैले समाज वा राज्यको आवश्यकता हुन्छ, गन्तव्य हुँदैन । समाज वा राज्यको कर्तव्य भनेको आफ्ना सदस्यहरूका आवश्यकता र सम्बन्धहरूको न्यायपूर्ण व्यवस्थापन गरिरहनु हो । गन्तव्यको खोजी गर्नु होइन ।

तेश्रो, सर्वाङ्गीण एजेण्डा : समाज वा राज्यमा, भूगोल/समुदाय, सामाजिक/आर्थिक संरचना, राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वबीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । सबै पक्षको गतिशील सन्तुलनले मात्र समाज उन्नत बन्दछ । त्यसैले राज्य र राजनीतिले एकाङ्गी होइन, सर्वाङ्गीण हुन जरुरी छ । अर्थात्, लोकतन्त्र, आर्थिक अधिकार (सामाजिक न्याय), ‘जातीय मुक्ति’ र सदाचार, यी चारै एजेण्डामध्ये कुनै एक वा दुई रोज्न सकिँदैन । मनुष्य जीवनका लागि यी चारै मुद्दा उत्तिकै जरुरी छन् । त्यसैले राज्य वा राजनीतिका एजेण्डाहरू सर्वाङ्गीण सोचमा आधारित हुनुपर्दछ ।

चौथो, अपरिग्रह र आनन्द : अर्थतन्त्र पनि ‘जीवन’ हो । वृद्धिविना जीवन मर्छ । त्यसैले अर्थतन्त्र आर्थिक वृद्धिमै आधारित हुनु जरुरी छ । तर, यो लोभवृत्ति वा महत्वाकांक्षामा आधारित हुनु हुँदैन । अर्थात् यो एकल रेखीय वृद्धि वा असिमित वृद्धिको सोचमा आधारित हुनुहुँदैन । स्वस्थ र गुणात्मक वृद्धिमा आधारित हुन पर्दछ । यसको अर्थ राज्यले पनि अधिक धन संग्रहको लोभवृत्ति पाल्नु हुँदैन । आवश्यकतामा आधारित उत्पादन (अपरिग्रह) मा चित्त बुझाउनु पर्दछ ।

यहाँ स्वस्थ तथा गुणात्मक वृद्धि भन्नाले उत्पादन प्रकृयामा वृद्धि–क्षय–नवीकरणको चक्र पूरा भएको हुनु हो । यसका अतिरिक्त उत्पादन प्रकृया र सेवा किफायती हुनुपर्दछ । नविकरणीय उर्जा प्रयोगलाई प्राथमिकता दिएको हुनुपर्दछ । हानिकारक ग्यास उत्सर्जन शून्य हुनुपर्दछ । प्राकृतिक पर्यावरणको स्थायित्व कायम गर्ने खालको हुनुपर्दछ । एकोहोरो नाफा कमाउने होइन, सेवामुखी हुनुपर्दछ । अर्थात् आफ्नो हित खोज्दा अरुको हितमा हानि नपुग्ने हुनुपर्दछ । यो व्यक्ति र राज्य दुवैमा बराबर लागु हुनुपर्दछ ।
यसको अर्को पक्ष पैसाभन्दा नागरिकहरूको जीवन र आनन्दलाई मूल्यवान मान्नु पर्दछ भन्ने पनि हो । त्यसैले अर्थतन्त्रको गुणस्तरलाई मौद्रिक गणकमा होइन, गरिबी, स्वास्थ्य, समता, शिक्षा, समावेशिता, पर्यावरण र आनन्द (खुसी) जस्ता गणकबाट मापन गर्नुपर्दछ ।

पाँचौं, सहकार्य र सन्तुलन ः निजी धन र सामूहिक धनमध्ये कुनै एकले अर्कोलाई निषेध गर्दैनन् । यी दुवै पवित्र वा अपवित्र पनि छैनन् । बरु दुवै प्राकृतिक र परिपूरक छन् । त्यसैले निजी धन नभएको, सार्वजनिक धन मात्र भएको वा सार्वजनिक धन नभएको निजी धनमात्र भएको समाज असम्भव र अप्राकृतिक कुरा हो । राज्यमा यी दुवैको अस्तित्व सदाकाल रहिरहन्छ । त्यसैले निजी धन र सामूहिक धनबीच सन्तुलन र सहकार्य जरुरी हुन्छ ।

प्राकृतिक सम्पदा (जल, जंगल जमिन र पर्यावरण), शिक्षा, स्वास्थ्य र सार्वजनिक सरोकारका संरचनाहरूलाई निजी धन वा व्यापारको विषय बनाउन हुँदैन । व्यक्तिको व्यक्तिगत श्रमले आर्जित धनलाई राज्य वा समुदायकरण गर्नु पनि हुँदैन । किसानहरूको पेशागत उत्पादनबाहेक दुर्लभ प्राकृतिक सम्पदालाई वैश्विक व्यापारको विषय बनाउनु पनि हुँदैन।

छैटौं, सहअस्तित्व र नियन्त्रण : प्रकृति, जीवन र समाजमा सजीव र निर्जीव, मानव र गैरमानव भनेर भेद गर्नुहुँदैन । सबैको सहअस्तित्वमा मात्र मानव जीवन पनि समुन्नत बन्दछ । यो तथ्यलाई व्यक्ति र राज्य दुवैले स्वीकार गर्नुपर्दछ । आज विज्ञानको सहारामा मनुष्यले आफ्नो जातिको मृत्युमा त नियन्त्रण कायम गरेको छ । तर, त्यही अनुसार जन्ममा नियन्त्रण कायम गरेको छैन । जसका कारण पृथ्वीमा मानव जनसंख्याले हद पार गरेको छ । यसले पर्यावरण, वनस्पति र गैरमानव जीवनलाई संकटमा पारेको छ ।

आजको सामाजिक संकटको एउटा कारण यो पनि हो । त्यसैले अबको केही दशक लोपोन्मुख जातिबाहेक अन्य मानव जातिको जन्मसंख्यालाई घटाउन विभिन्न प्रोत्साहन कार्यक्रम चलाउन जरुरी भएको छ । बच्चा नजन्माउने जोडीहरूलाई विशेष पुरस्कार र वृद्धावस्थामा संरक्षणको ग्यारेन्टी गर्ने कार्यक्रम बनाउन जरुरी भएको छ ।

यसका अतिरिक्त जैविक शिक्षा, जैविक स्वास्थ्य, जैविक कृषि, जैविक विकास जस्ता विषयहरूमा पनि निश्चित दृष्टिकोण र कार्यपद्धति तय गर्नु जरुरी भएको छ । कोरोना जस्ता महामारीबाट बच्न वा आगामी दिनमा हाम्रो ग्रह र सभ्यतालाई बचाउन अब यही र यस्तै जैविक बाटो नै अन्तिम विकल्प हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment