Comments Add Comment

१३ हजार लिएर नक्कली बिरामी बोक्ने एम्बुलेन्स ट्राफिकको फन्दामा

एक साताको लागि धादिङ बजार ‘सिलबन्दी’

४ वैशाख, धादिङ । लकडाउनका कारण हिजोआज पृथ्वी राजमार्गमा कि त खाद्यवस्तु ढुवानी गर्ने सवारी गुड्छ कि एम्बुलेन्स । तर, यसरी सडकमा गुड्ने एम्बुलेन्सले नक्कली बिरामी बोक्ने गरेको पाइएको छ ।

बिहीबार धादिङको आदमघाटमा छड्के चेकजाँच गर्ने क्रममा फर्जी बिरामी बोक्ने एम्बुलेन्स फन्दामा परेको छ । अत्यावश्यक सेवाका लागि दिइएको सवारी पासको दुरुपयोग भएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल आफैँ चेकजाँचमा निस्किएका थिए ।

त्यसक्रममा टोलीले काठमाडौंबाट आएको एम्बुलेन्सहरुमा समेत चेकजाँच गरेको थियो । त्यसक्रममा ना ५ च १८१२ नम्बरको एम्बुलेन्सका चालकले पायल्सको बिरामीलाई ग्रिन सिटी हस्पिटलबाट डिस्चार्ज गरेर बुटवल लैजान लागिएको बताए । तर एम्बुलेन्समा ८ जना थिए भने डिस्चार्ज गरेको अस्पतालको कागजसमेत उनीहरुसँग थिएन ।

ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले भने, ‘१३ हजार रुपैयाँ लिएर भैरहवा लिएर जान लागेका रहेछन् । उनीहरुले अस्पतालको कागज त देखाए तर डिस्चार्ज गरेको कागज पत्र देखिएन ।’

सवारी दुरुपयोग गरेको पाइएपछि चालकलाई पाँच हजार जरिवाना गरिएको छ । बिरामी बनेर जान खोजेकाहरु भने आफ्नो व्यवस्था आफैँ गर्छौं भनेर एम्बुलेन्सबाट निस्किएर गएको भट्टले जानकारी दिए । एम्बुलेन्समा ८ यात्रुले यात्रा गरेका थिए ।

एक साताका लागि अघोषित सिलबन्दी

जिल्ला प्रशासन कार्यालयले वितरण गरेको पासको दुरुपयोग भएको पाइएपछि जिल्ला सदरमुकाम धादिङबेसीलगायतका बजार क्षेत्रमा एक साताको लागि अत्यावश्यक सेवा सञ्चालनमा समेत रोक लगाइएको छ ।

राजमार्गबाहेक अरु बजार क्षेत्रमा अत्यावश्यक सेवाको लागि समेत सवारी सञ्चालनमा कडाइ गरिएको सहायक प्रजिअ मल्लले जानकारी दिए । ‘जिल्ला उद्योग वाणिज्य संघले जिल्लावासीलाई चाहिने सबै खाद्यान्न लगायत पर्याप्त रहेकोले एक साताको लागि जिल्लाको राजमार्ग बाहेकका सहरी क्षेत्रमा कडाइ गरिएको हो’ उनले भने ।

बजारमा ‘सिलबन्दी’

जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर कार्कीकाअनुसार बजार क्षेत्रमा कुनैपनि गतिविधि सञ्चालन नगर्ने निर्णयको माइन्युट नै गरिएको छ ।

बुधबार भएको छलफलमा संघले नै बजारका सबै सेवाहरु बन्द गर्न प्रस्ताव गरेको थियो । ‘धादिङमा गरिएको र्‍यापिड टेस्टका क्रममा केही रिपोर्ट पोजेटिभ देखिएपछि धादिङबेसीका व्यवसायीहरू त्रासमा रहेकोले सबै गतिविधि एक साताको लागि बन्द गर्न हामीले नै आग्रह गरेका हौँ’ कार्कीले अनलाइनखबरसँग भने, ‘त्यसमा प्रशासनले पनि सहमति जनाएको छ ।’

जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले बजार क्षेत्रका सबै गतिविधि बन्द गराउने र राजमार्ग क्षेत्रमा अवरोध नगर्ने निर्णयको माइन्युट नै गरिएको छ ।

यसरी अघोषित रुपमा सिलबन्दी गर्ने निर्णय भएपछि बिहीबार धादिङमा व्यवसायीहरुको अगुवाइमा नै बैङ्क तथा वित्तीय संस्था लगायतका सबै व्यवसाय बन्द गरिएको उनले जानकारी दिए । सहायक प्रजिअ मल्ल भने पास वितरणमा कडाइ मात्र गरिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment