News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘परान’ले मर्मस्पर्शी पारिवारिक कथा प्रस्तुत गर्दै दर्शकबाट सुखद प्रतिक्रिया पाएको छ।
- निर्देशक दीपकप्रसाद आचार्यको डेब्यू निर्देशनमा बनेको फिल्मले कथावस्तु, अभिनय र प्रस्तुतिको कारण प्रशंसा बटुलेको छ।
- फिल्मले परिवारको अर्थ, बाबुछोराको सम्बन्ध र पूँजीवादले खलबलिएका नेपाली परिवारको द्वन्द्वलाई समेटेको छ।
काठमाडौं । प्रदर्शनरत फिल्म ‘परान’ले दर्शकबाट पनि सुखद प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
मर्मस्पर्शी पारिवारिक कथा पेश गर्ने फिल्म हेरेर दर्शक भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालमा सेयर भैरहेका छन् । हेरेकाले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
टिभी श्रृंखला ‘सक्किगो नि’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपकप्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, अभिनय र प्रस्तुतिको कारण प्रशंसा बटुलेको छ ।
प्रतिक्रिया जनाउने क्रममा डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकको भनाइ छ । केन्द्रीय भूमिकामा रहेका नीर शाहको कामलाई पनि उत्तिकै मनपराइएको छ । अन्य कलाकारले पनि आफ्नो कामका लागि प्रशंसा बटुलेका छन् ।
रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा पनि कलाकार, व्यवसायीका साथमा पत्रकार तथा सम्पादकले फिल्मलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको फिल्मको रूपमा प्रशंसा गरेका थिए ।
उद्योगपति शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सह-स्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा फिल्म निर्माण भएको हो ।
सुरुवाती दिनमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेपनि सप्ताहन्तपछिका दिनमा भने अकुपेन्सीमा वृद्धि भएको देखिन्छ । सोमबारदेखि फिल्मले पिकअप लिएकोले निर्माण पक्षसमेत हौसिएको छ ।
हल संख्या समेत बढेको निर्माताले जनाएका छन् । दर्शकले कथा र प्रस्तुतिलाई मनपराएका छन् । कथावाचनको लयले दर्शकलाई भावनात्मक रूपमा बाँध्दै लगेर कहिले हसाउँछ, कहिले सोचमग्न बनाउँछ, कहिले नोस्टाल्जिक बनाउँदै भक्कानिनेसम्म बनाउँछ ।
आफू जन्मिएको, हुर्किएको ठाउँभन्दा पर पुगेकालाई यसले अझ भावनात्मक बनाउने काम गरेको छ ।
यसले परिवारको अर्थ, बाबुछोराको सम्बन्ध, पूँजीवादले खलबलिएका नेपाली परिवार, दुई पुस्ताबीच सोच र सपनाले उत्पन्न हुने परिस्थितिका द्वन्द्वका कुरालाई फिल्ममा समेटिएको छ ।
फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङको शीर्ष अभिनय छ ।
प्रतिक्रिया 4