Comments Add Comment

कोरोनाले भित्रभित्रै मकाएको एउटा दक्षिण अमेरिकी मुलुक

५ वैशाख, काठमाडौं । आफन्त गुमाएका मानिसले दक्षिण अमेरिकाको सबैभन्दा ठूलो चिहान भिला फोमोसामा राम्रोसँग शोक मनाउन पाउन छाडेका छन् ।

ब्राजिलमा मृत्यु हुनेको परिवारलाई बढीमा एक घण्टासम्म कफिनलाई आफ्नो साथमा राख्ने अनुमति दिइएको छ । १० जनाभन्दा बढी मानिस भेला हुन पनि पाइँदैन । यसको एउटै कारण कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको प्रयास हो ।

चिहान खन्ने र त्यहाँसम्म शव ल्याउने नियम अझै कडा छ ।

उनीहरुले अन्त्येष्टिको क्रममा उनीहरुलाई एउटा पत्र थमाइन्छ । जसको दायाँपट्टि सिरानमा एउटा कोड राखिएको हुन्छ ।

डी३ कोड भए कोरोना भाइरसको आशंकित वा पुष्टि भएर मृत्यु भएको शव हो भन्ने बुझिन्छ । त्यसैले उनीहरुले यसका लागि पूरै शरीर ढाक्ने लुगा, मास्क र ग्लोब्स लगाउनुपर्छ भन्ने हुन्छ ।

भिला फोर्मोसमा काम गर्ने कामदारहरु दिनानुदिन सामान्य अवस्थाभन्दा धेरै चिहान खनिरहेका छन् ।

औसतमा उनीहरुले चिहानमा ४० शव पुर्छन् । तर, यो संख्या अहिले औसतमा ६० पुगिसकेको छ । चिहान खन्ने काम गरिरहेका मानुएल पेरेरिराले नगरपालिकाले पाँच हजार बडी ब्याग खरिद गरेको र अझै धेरै मानिस चिहान खन्न बोलाइरहेको बताए ।

पछिल्लो समय कोरोनाको महामारी ब्राजिलमा बढ्दो क्रममा छ । त्यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार यो महामारी मे वा जुन महिनामा मात्र अहिलेसम्मकै उच्चबिन्दुमा पुग्ने बताएको छ ।

कठिन सामाजिक दुरी

ब्राजिलमा कोरोना भाइरसका आशंका लागेका मानिसको मृत्यु भएको खण्डमा परिवारले राम्रोसँग दिन अन्तिम श्रद्धाञ्जलि पाउँदैनन् । त्यसका लागि परिवारले मास्कगायत सुरक्षाको उपाय प्रयोग गरेर सामाजिक दुरी कायम राख्दै श्रद्धाञ्जलि दिन पाउँछन् ।

कोरोना भाइरसको कारण आफ्नी आमा गुमाएका सन्द्रो नुनेन्सले आफूले आमाको बिदाइ यस्तो होला भनेर कहिले पनि नसोचेको बताए । उनीले सुरुमा आफूले यो भाइरसलाई हल्का रुपमा लिएको, तर आफ्नो परिवारलाई पर्दा यसको पीडा थाहा भएको बताए ।

त्यस्तै पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको लक्षण देखिने तर त्यसको नतिजा आउनुभन्दा पहिला नै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ ।

ब्राजिलमा पर्याप्त मात्रामा परीक्षणको क्षमता नभएकाले यो अवस्था सृजना भएको हो । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण एक हजार नौ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने ३० हजारभन्दा धेरै संक्रमित पुष्टि भइसकेका छन् ।

पर्याप्त परीक्षणको कमी

ब्राजिलमा अहिलेसम्म १० लाख मानिसमध्ये केवल तीन सयभन्दा कमको दरमा मात्र कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको छ ।

अमेरिकामा प्रति १० लाखमा नौ हजार पाँच सय मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको छ ।

धेरै परीक्षण गर्न नसक्नुको एक कारण ब्राजिलले बाहिरबाट उल्लेख्य मात्रामा परीक्षण किट्स ल्याउन सकेको छैन ।

त्यसैले ब्राजिलमा लक्षण देखिएर अस्पतालमा पुगेका मानिसमा मात्र यो भाइरस परीक्षण गरिँदै आएको छ ।

ब्राजिलको सिभिल रजिष्ट्रिका अनुसार मार्च महिनामा अघिल्लो वर्षको तुलनामा श्वासप्रश्वासबाट मृत्यु हुनेको संख्यामा १० प्रतिशत वृद्धि भएको थियो । यस्तोमा ब्राजिलभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तथ्यांकमा समावेश नगरिएको आशंका बढेको छ । यसले ब्राजिलले कोरोना भाइरसको तथ्यांक लुकाइरहेको आशंकालाई मलजल गर्छ ।

भाइरस नियन्त्रणप्रति उदासीन

ब्राजिलले कोरोना भाइरसविरुद्धको आवश्यक कदम चाल्नमा भने निकै सुस्ती गरिरहेको छ । जनवरीमा ब्राजिलमा कोरोना भाइरसको पहिलो संक्रमण फेला परेको थियो । तर त्यसपछि पनि सरकारले कुनै सतर्कता अपनाएन । ब्राजिलमा लाखौं मानिसको राजनीतिक भेलालाई पनि विना कुनै सतर्कता अनुमति दिइएको थियो । त्यसैले अहिले ब्राजिल दक्षिणी गोलार्धको भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक बनेको छ ।

अत्याधिक संख्यामा परीक्षण गर्ने क्षमता नभएका मुलुकलाई सामाजिक दुरी कायम राख्नु नै सबैभन्दा उत्तम उपाय हो ।

तर यो मामिलामा ब्राजिल पछि रह्यो । ढिलै भए पनि अहिले ब्राजिलका धेरैजसो राज्यमा स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार सामाजिक दुरी कायम राख्ने प्रयास भइरहेको छ । तर राष्ट्रपति जेयर बोल्सोनारो यसको विपक्षमा देखिएका छन् । उनी मुलुकको अर्थतन्त्रमा असर पर्ने भाइरसको कारण अर्थतन्त्र प्रभावित हुन दिन नहुने बताउँदै आएका छन् ।

ब्राजिलका शोधकर्ताको एक समूहका अनुसार ब्राजिलमा अहिले तीन लाख १३ हजारभन्दा धेरै संक्रमित छन् । अहिले ब्राजिलमा निकै कम परीक्षण भइरहेको कारण वास्तवमा कति संक्रमित छन् भन्ने कुरा अझै पनि थाहा पाउन सकिएको छैन । भाइरस नियन्त्रणमा यसले पनि प्रभाव पारिरहेको छ । विशेषज्ञका अनुसार अहिलेसम्म ब्राजिलमा तथ्यांक नराखिएको कारण अवस्था धेरै बिग्रिएको जस्तो नदेखिएको बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment