
५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओ अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अहिलेको अवस्थामा यो संख्या आंकलन गरिएको बताए । तर यो संख्यामा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ ।
यसअघि अफ्रिकामा इबोलाको महामारी फैलिँदा डब्ल्यूएचओले गरेको अनुमान मिलेको थिएन ।
त्यतिबेला मानिसहरुले आफ्नो बानीमा परिवर्तन गरेको कारण सबैभन्दा खराब अवस्था आउनबाट बचेको भन्दै याओले अहिले पनि त्यो अवसर रहेको बताए ।
अहिलेसम्म अफ्रिकामा १७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । भाइरसको कारण अफ्रिकामा करिब नौ सय मानिसको मृत्यु भइसकेको छ ।
अन्य क्षेत्रको तुलनामा यो केही कम हो । तर, अफ्रिकाको कमजोर स्वास्थ्य सेवाको कारण यो भाइरसको संक्रमण केही दिनमै ह्वात्तै बढ्नसक्ने आशंका छ ।
स्रोत : अल जाजीरा
प्रतिक्रिया 4