 
																			६ वैशाख, चितवन । कोरोना भाइरस (कोभिड–१९) संंक्रमण देखिएको राप्ती नगरपालिका–८ का आमाछोराको सम्पर्कमा आएको तीन परिवारलाई क्वारेन्टाइनमा राखिने भएको छ ।
बेलायतबाट ३ चैतमा फर्किएका आमाछोरामा कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।
जनस्वास्थ्य प्रमुख चितवन दीपकबाबु तिवारीका अनुसार नजिकको सम्पर्कमा रहेको तीन परिवारको पहिचान गरिएको छ । ‘उहाँहरु ११ जना हुनुहुन्छ’ उनले भनेका छन्, ‘आज आरडीटी चेक गर्छौ । र, क्वारेन्टाइनमा राख्छौं ।’ सम्पर्कमा आएको २० दिन पुरा नभएकाहरुलाई क्वारेन्टाइनमा राखिने उनले बताए ।
गाउँमा जोखिम बढ्यो : वडाध्यक्ष
विदेशबाट आएका आमाछोरामा संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बढेको छ ।
विदेशबाट आएर आफन्तहरुसँग भेटघाट गर्दै हिँडेको पाइएकाले जोखिम बढेको राप्ती नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बुद्धिराज थपलियाले संक्रमितहरूले गाउँमा गरेको गतिविधिले चुनौती थपिएको बताए । ‘सुरुमा त आएको पनि थाहा भएन । थाहा भएपछि सम्झाउने काम गर्यौं’ उनले भने, ‘त्यसअघि गाउँमा खानपिन बसउठ लगायतका गतिविधी गरेको जानकारी भयो ।’
भरतपुर अस्पतालको आइसोलेसन क्याविनमा बसेका संक्रमितका दाजुले भने गाउँमा त्यस्तो कुनै गतिविधी नगरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले कोरोनाबारे पूर्व जानकारी भएकाले होम क्वारेन्टाइनमा बसेको उनको दावी छ ।
विदेशबाट आएपछि राप्ती नगरपालिका वडा नं. ९ मा रहेका आफन्तहरुसँग भने भेटघाट भएको भन्दै उनले भने, ‘हाम्रा आफन्तहरू वडा नं. ९ मा छन्, उनीहरुसँग भने भेटघाट भएको थियो । ककसलाई भेटेको भनेर टिपाएका छौं ।’
भेटघाट गरेका सबैलाई क्वारेन्टाइनमा राखिने
वडाध्यक्ष थपलियाले बिदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा राखिने बताएका छन् ।
ब्रम्हनगर माविमा क्वारेन्टाइन बनाउने निर्णय भएको छ । नगरपालिकाले बुद्धशान्ति माविमा क्वारेन्टाइन बनाएको थियो । तर स्थानीयबासीले अवरोध खडा गरेपछि आफ्नै वडामा क्वारेन्टाइन बनाउन लागिएको वडाध्यक्ष थपलियाले बताए । संक्रमितका भतिजा र बहिनी भने अहिले होम क्वारेन्टाइनमा छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4