Comments Add Comment

कोरोनाको महामारीमा ट्रम्पको राजनीतिक दाउपेच

७ वैशाख, काठमाडौं । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर फैलिएको छ । यो भाइरसको इपिसेन्टर अहिले चीनबाट यूरोप–अमेरिका पुगेको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर कोभिड–१९ का संक्रमितमध्ये झण्डै एक तिहाइ अमेरिकामा मात्र छन् । अमेरिकामा जनवरी २१ मा पहिलो संक्रमित फेला परेको थियो । मार्च ८ सम्म यो संख्या पाँच सय चार थियो । जबकी यो अवधिमा चीनमा भने यो महामारीले उग्र रुप लिइसकेको थियो ।

जनवरी २१ मा चीनमा पाँच सयभन्दा कम संक्रमित थिए । तर, मार्च ८ सम्म आइपुग्दा चीनमा ८० हजार सात सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यस्तो अवस्थामा भाइरस नियन्त्रण गर्ने राम्रो मौका थियो अमेरिकालाई । तर, त्यसको एक महिना १० दिन बित्दा अमेरिकामा संक्रमितको संख्या सात लाख नाघेको छ । अझै बढ्दो क्रममा छ । जबकी यो अवधिमा चीनमा दुई हजारभन्दा कम संक्रमित मात्र भेटिएका छन् ।

अमेरिकामा यसरी भाइरस बढ्नुमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिने गरिएको छ । उनको गैरजिम्मेवार नीतिले नै कोरोना महामारी फैलिएको आलोचकहरु बताउँछन् । तर, ट्रम्प भने यो कुरा मान्न तयार छैनन् । उनले अमेरिकामा महामारी फैलिनुमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दोष दिएका छन् । केही दिनअघि ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले डब्लुएचओको गल्तीको कारण अमेरिकामा धेरै मानिस मरेको बताएका थिए ।

ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने निर्णय पनि गरिसकेका छन् । डब्लुएचओले भने ट्रम्पले महामारीमा राजनीति गर्न खोजेको आरोप लगाएको छ । साथै अमेरिकामा पनि यो महामारी डब्लुएचओको कारण नभई ट्रम्पकै गलत नीतिको कारण फैलिएको उसको जिकिर छ ।

ट्रम्पलाई यसअघि पनि कोभिड–१९ को महामारीमा राजनीति गर्न खोजेको आरोप नलागेको होइन । चीनबाट निस्किएको भनेर उनले यो भाइरसलाई ‘चिनियाँ भाइरस’ वा ‘वुहान भाइरस’ को संज्ञा दिने गरेका थिए । डब्लुएचओलाई पनि उनले यही नामलाई आधिकारिकता दिन दवाव दिए । तर, उनको प्रस्ताव डब्लुएचओ र जी ७ लगायतका अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेन ।

हालै मात्र ट्रम्पले अमेरिकाका धेरै राज्यमा लकडाउनको विरोधमा भइरहेको आन्दोलनको समर्थन गरेका छन् । उनले शुक्रबार अमेरिकाको मिनेसोटा, मिसिगन र भर्जिनियामा लगाइएको लकडाउन निकै कडा भएको बताएका थिए । अमेरिकामा विस्तारै लकडाउन खुकुलो बनाउने रणनीति उनले पेश गरेका छन् ।

अमेरिकामा निकै तीब्र दरमा कोरोना भाइरस फैलिएसँगै धेरै राज्यहरुले संक्रमण रोक्न घरबाट बाहिर निस्किन नपाउनेलगायतका प्रतिबन्धमा जोड दिएका छन् । यो नियमको अमेरिकामा विरोध भइरहेको छ । सरकारले आवतजावत र आर्थिक गतिविधि रोकेर बिनाकारण नागरिकलाई दुःख दिएको आन्दोलनकारीको आरोप छ ।

अहिले अमेरिकाको मिसिगन, ओहायो, नर्थ क्यारोलिना, मिनेसोटा, यूटा, भर्जिनिया र केन्टकीमा लकडाउनविरुद्ध प्रदर्शन भइरहेको छ । तर, ट्रम्पले भने आफ्नो ट्विटरमा विपक्षी डेमोक्रेट पार्टीको सरकार भएको राज्यको नाम मात्र उल्लेख गरेका छन् । यसबाट पनि उनले यो महामारीमा राजनीतिक दाउपेच हेरेको विश्लेषकहरुको निश्कर्ष छ ।

अमेरिकामा सन् २०२० को अन्तिममा आगामी कार्यकालको लागि निर्वाचन हुँदैछ । यो निर्वाचनमा राष्ट्रपति ट्रम्प विपक्षी पार्टीका जो बाइडनको बीचमा प्रतिस्पर्धा हुने लगभग निश्चित भइसकेको छ । त्यसैले अहिले ट्रम्पले विपक्षीहरुलाई निसाना बनाइरहेको विश्लेषकहरुको बुझाइ छ । लकडाउनले अर्थतन्त्र कमजोर भए त्यसको प्रभाव आफ्नो चुनावी अभियानमा पर्ने चिन्ता पनि उनलाई छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment