Comments Add Comment

सवा करोड जनसंख्याका लागि चार वटा भेन्टिलेटर भएको एउटा देश

कोरोनाको महामारीमा विश्वभर चुलिँदै छ भेन्टिलेटरको अभाव

७ वैशाख, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख नाघिसकेको छ भने एक लाख ५५ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

संक्रमण फैलिएका मुलुकका अस्पतालहरुमा विरामीको चाप बढेको छ । र, जीवन रक्षा गर्न सक्ने स्वास्थ्य उपकरणको अभाव चुलिनसक्ने चेतावनी विशेषज्ञहरुले दिएका छन् ।

उदाहरणको लागि दक्षिण सुडानलाई लिन सकिन्छ । एक करोड २० लाखभन्दा बढी जनसंख्या भएको सुडानमा केवल चार भेन्टिलेटर छन् भने २४ ओटा आईसीयू बेड छन् । अर्थात औसतमा ३० लाख मानिसका लागि एउटा भेन्टिलेटर मात्र छ ।

त्यस्तै बुर्किना फासोसँग ११ ओटा भेन्टिलेटर छ । सेरेना लियोनमा १३ र दक्षिण अफ्रिकी रिपब्लिकमा तीनओटा मात्र भेन्टिलेटर छ ।

भेनेजुयलामा तीन करोड २० लाख मानिसका लागि केवल ८४ ओटा आईसीयू बेड छ । यो मुलुकको ९० प्रतिशत अस्पतालमा औषधि र महत्वपूर्ण उपकरणको अभाव छ ।

इन्टरनेशनल रेस्क्यु कमिटीका उपाध्यक्ष तथा प्रोग्राम डेलिभरीकी प्रमुख एलिनोर राइकेसले निकै राम्रो मानिएको स्वास्थ्य प्रणाली अहिले ध्वस्त भइसकेको अवस्थामा कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकबारे चिन्ता शुरु भएको बताइन् ।

विश्वव्यापी संकट

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार यो भाइरसको संक्रमण देखिएका पाँचमध्ये एक जनालाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने हुन्छ । भाइरसको महामारी सबैभन्दा धेरै फैलिएका मुलुकहरु अहिले भेन्टिलेसन जुटाउने प्रयासमा छन् । यसले गम्भीर अवस्थमा पुगेका बिरामीलाई भेन्टिलेसनको सहयोगमा बिरामीको रगतमा सोझै अक्सिजन प्रवाह गरिन्छ । यसबाट बिरामीलाई बचाउन सकिन्छ ।

अमेरिकालाई यो महामारीमा पाँच लाखसम्म भेन्टिलेटर आवश्यक हुनसक्ने जोन्स हप्किन्सको सेन्टर फर हेल्थ सेक्युरिटीले बताएको छ । अमेरिकाको आईसीयूमा बिरामीको चाप बढेसँगै यस्तो अनुमान गरिएको हो ।

एक लाख १० हजारभन्दा धेरै संक्रमित पुगिसकेको बेलायत थप १८ हजार भेन्टिलेटरको खोजीमा छ । युरोपको सबैभन्दा प्रभावित मुलुकमध्येको इटालीले अहिले प्रभावित क्षेत्रमा दुई हजार सात सयभन्दा धेरै भेन्टिलेटर वितरण गरिसकेको छ ।

फ्रान्सले १० हजार रेस्पिरेटर उत्पादन गर्ने लक्ष्य राखेको छ भने १० हजार आईसीयू बेड निर्माणको लागि काम गरिरहेको छ । स्वास्थ्य उपकरणको मामिलामा केही अगाडि देखिएको जर्मनीले स्पेनमा ५० र बेलायतमा ६० भेन्टिलेटर पठाएको थियो ।

विशेषज्ञहरुका अनुसार कोभिड–१९ का अस्पतालमा भर्ना भएका बिरामीमध्ये १५ देखि २० प्रतिशतसम्म मानिसलाई भेन्टिलेटर आवश्यक पर्छ । साथै आईसीयूमा लगिएको ७० प्रतिशत बिरामीलाई यसको आवश्यकता पर्छ ।

अफ्रिकाबारे चिन्ता

अहिले स्वास्थ्य प्रणालीबारे सबैभन्दा धेरै चिन्ता व्यक्त गरिएको क्षेत्र अफ्रिका हो । अफ्रिकामा अहिलेसम्म १२ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । डब्ल्यूएचओको अफ्रिकाको क्षेत्रीय निर्देशक मात्शिडिसो मोइटी अफ्रिकाको सामाजिक आर्थिक अवस्था राम्रो नहुनुले पनि यहाँ भाइरसको जोखिम बढी रहेको बताउँछन् ।

डब्ल्यूएचओका अनुसार अफ्रिकाका ४१ मुलुकमा समग्रमा दुई हजार भेन्टिलेटर पनि छैनन् । साथै ४३ मुलुकमा आईसीयू बेडको संख्या पाँच हजारभन्दा कम छ । यसको अर्थ अफ्रिकामा १० लाख मानिसलाई केवल पाँचओटा बेड छन् । जबकी यूरोपमा १० लाख मानिसलाई चार हजार बेड उपलब्ध छन् ।

त्यसो त चिनियाँ अर्बपति ज्याक माले पनि अफ्रिकाका केही मुलुकमा पीपीई, भेन्टिलेटर, मास्क र ग्लोभ्सजस्ता स्वास्थ्य सामग्री पठाएका थिए । अहिले अफ्रिकामा अहिले कोरोना भाइरसको संक्रमण कम देखिए पनि अहिले नै यो क्षेत्रमा क्षयरोग, एचआईभी, औलो र मधुमेहजस्ता रोग उल्लेख्य संख्यामा रहेकाले यो भाइरस अर्को समस्याको कारण बन्न सक्ने देखिएको हो ।

धेरै क्षेत्रमा असर

स्वास्थ्यकर्मी र विशेषज्ञहरुले यो भाइरसको असर अफ्रिकामा मात्र नभई अहिले नै युद्धको समस्या खेपिरहेका मुलुकमा पनि देखिन सक्ने बताएका छन् । सिरिया, अफगानिस्तान र यमनजस्ता मुलुक यो भाइरसबाट निकै प्रभावित बन्न सक्ने चेतावनी दिइएको छ । युद्धको कारण यी मुलुकको स्वास्थ्य प्रणाली निकै कमजोर बनिसकेको छ । साथै मुलुकको सबै स्थानमा राम्रोसँग स्वास्थ्य सेवा पुर्याउन सकिने अवस्था पनि नरहेकाले स्थिति अझ भयानक बन्न सक्ने बताइएको छ ।

आईआरसीकी राइकेस मानवीय संकटको सामना गरिरहेका यमन, भेनेजुयला र बंगलादेशमा यो महामारीले थप समस्या सृजना गर्न सक्ने बताउँछिन् । उनका अनुसार अहिले विश्वभरका सबै संकटभन्दा ठूलो संकटको रुपमा कोभिड–१९ देखिएकाले यसले अन्य धेरै समस्या पनि सृजना गर्न सक्ने उनको चेतावनी छ । उनका अनुसार यो संकटसँगै विश्वभर खाद्य असुरक्षा, अझै धेरै मानिस विस्थापित हुन सक्ने र केही अवस्थामा विश्वभर द्वन्द्व झनै बढ्नसक्छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment