Comments Add Comment

कोरोना प्रभाव : चैतमा आधाभन्दा बढीले खुम्चियो वैदेशिक व्यापार

७ वैशाख, काठमाडौं । कोरोनाका कारण नेपालको वैदेशिक व्यापार आधाभन्दा बढीले संकुचित भएको छ। खासगरी आयातमा भएको संकुचनले समग्र वैदेशिक व्यापार प्रभावित भएको भन्सार विभागले जानकारी दिएको छ ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) को अवधिमा नेपालको समग्र वैदेशिक व्यापार १० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको पुगेको छ । चैत महिनामा मात्र कुल ६२ अर्ब २० करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । तर, फागुन महिनामा भने वैदेशिक व्यापार एक खर्ब ३० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको थियो ।

यसको मतलब समग्र वैदेशिक व्यापारमा आधाभन्दा बढीको गिरावट आइसकेको छ । कोरोनाका कारण समग्र वैदशिक व्यापार  अघिल्लो वर्षको तुलनामा समेत कम भएको छ । तथ्यांक अनुसार चालु आवमा गत वर्षको यसै अवधिको तुलनामा समग्र वैदेशिक व्यापार ६.१९ प्रतिशतले कम भएको छ । गत आव २०७५/७६ मा ९ महिनाको अवधिमा कुल वैदेशिक व्यापार ११ खर्ब ३१ अर्ब ४३ करोड बराबरको थियो ।

यसकारण घट्यो वैदेशिक व्यापार

नेपालमा ४ चैतबाट अन्तर्राष्ट्रिय उडान-अवतरणमा रोक लगाएको थियो । त्यसपछि हवाइमार्गमार्फत हुने व्यापार बन्द भएको छ । निर्यात बजारको ठूलो हिस्सा हवाइ कार्गो उडानमा निर्भर रहेको छ ।

११ चैतयता सरकारले लकडाउन घोषणा गरेपछि दक्षिणतर्फको सीमा नाकाबाट भइरहेको नियमित आयात-निर्यात प्रभावित भएको छ । यसअविधमा अत्यावश्यक वस्तुको आयात मात्र भएको छ ।

सरकारले पनि औषधीजन्य सामग्रीको आयातलाई प्राथमिकता दिएको छ । उत्तरतर्फको रसुवागढी नाका बन्द भएको करिब तीन महिना पुग्न लागिसकेको छ । जसले गर्दा पनि वैदेशिक व्यापारमा उच्च गिरावट आएको विभागको विश्लेषण छ ।

सरकारले १६ चैतबाट लागु हुने गरी महँगा गाडीको आयात रोकेको छ । यसबाहेक अन्य केही वस्तुको आयातमा समेत रोक लागेपछि वैदेशिक व्यापारमा संकुचन देखिएको हो ।

आयातमा गिरावट

चालु आवको नौ महिनासम्म आइपुग्दा यस वर्ष पहिलो महिनादेखि निरन्तर देखिएकै प्रवृत्ति दोहोरिएको छ । वैदेशिक व्यापार केही सन्तुलनमा आउँदा आयातमा उच्च गिरावट आएको छ भने निर्यात व्यापार सुधारोन्मुख छ । विभागका अनुसार चालु आवको नौ महिनामा नौ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ७.४५ प्रतिशतले कम हो । आव २०७५/७६ को पहिलो आवमा १० खर्ब ६१ अर्ब ६१ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

सुधारोन्मुख निर्यात

चालु आवको नौ महिनासम्म आइपुग्दा कुल ७८ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो आँकडा गत आवको तुलनामा १२.८८ प्रतिशतले बढी हो ।

गत वर्ष यस अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यसले समग्र वैदेशिक व्यापारमा निर्यातको हिस्सामा वृद्धि गरेको छ । जसले व्यापार घाटा समेत घटाएको छ ।

व्यापार घाटामा भने सुधार

आयातमा कमी र निर्यातमा भएको वृद्धिले यस वर्षको ९ औं महिनासम्म आइपुग्दा समेत वैदेशिक व्यापार घाटा भने सुधारोन्मुख नै रहेको छ । यसमा ठूलो हिस्सा भने फागुनसम्मको व्यापारले गरेको छ । नवौं महिनासम्मको तथ्यांक अनुसार चालु आवको कुल व्यापार घाटा नौ खर्ब तीन अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यस्तो व्यापार घाटा अघिल्लो वर्ष ११ खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ रहेको  थियो ।

यस वर्ष आयात र निर्यातको हिसातर्फ पनि क्रमशः निर्यातको हिस्सा बढ्दो क्रममा रहेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.४३ प्रतिशत रहेको छ ।

आयातको हिस्सा ९२.५७ प्रतिशत छ । यस वर्ष वैदेशिक व्यापारमा निर्यातको हिस्सा २०.३६ प्रतिशतले वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment