
७ वैशाख, विराटनगर । विराटनगर स्थित कोभिड-१९ विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई अब यन्त्र मानव (रोवोट) ले खानेकुरा पुर्याउने भएको छ । विराटनगर महानगरपालिकाले कोरोना विशेष अस्पतालका लागि तयार पारेको उक्त रोवोटले अस्पताल परिसरमा हानिकारक जिवाणु मार्न औषधि छर्ने काम पनि गर्नेछ ।
मेयर भीम पराजुलीले अस्पतालमा कोरोना संक्रमितलाई राखिएकाले उनीहरूको संसर्गबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर रोबोटको सहायता लिन लागिएको बताए ।
कोभिड-१९ अस्पतालमा अहिले उदयपुरबाट ल्याइएको १३ जना कोरोना संक्रमितलाई राखिएको छ ।
विराटनगर महानगरपालिका संयोजनमा कारखाना नामक संस्थाले पाँच दिन लगाएर यो रोर्बटको विकास गरेको हो । पाँच जना युवाको समूहले ५० हजार रुपैयाँको लागतमा रोवोट तयार पारेको रोबोट तयार पार्ने कामको नेतृत्व गरेका शिरब आर्चायले बताए ।
रोबोटलाई रिमोट कन्ट्रोलको सहायताले चलाउन सकिन्छ । रोबोटलाई गुडाउन स्ट्रेचरको पांग्रा जडान गरिएको छ ।
रोबोटले स्प्रे गर्ने समय आफैँ जानकारी गराउँछ भने ऊ हिँड्ने बाटोमा कुनै अवरोध भए हट्न सूचित पनि गर्छ । रोबोटमा १६ लिटर जिवाणुनासक झोल औषधि राख्न सकिन्छ, यसले चारै दिशातिर गुडेर स्प्रे गर्न सक्छ।
३.५ फिट उचाइ र ४० किलोग्राम वजन भएको रोबोट सोमबारदेखि सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।
आइतबार महानगर कार्यालयमा रोबोटको सहायताबाट कसरी काम गर्न सकिन्छ भनेर डेमो प्रदर्शन गरिएको थियो । महानगरले सोमबार प्रदेश सरकारलाई रोबोट हस्तान्तरण गर्ने जनाएको छ ।
प्रतिक्रिया 4