+
+
Shares

कोभिड-१९ र नेपालमा खाद्य सुरक्षाको सवाल

बद्री ओझा बद्री ओझा
२०७७ वैशाख ८ गते ११:१०

सायद २०३३, ३४ सालतिर होला पूर्वी पहाडमा लामो दाना भएको मकै देखियो । त्यसलाई ‘अम्रिकाने मकै’ भनिन्थ्यो । गाउँघरमा भोकमरी लागेपछि अमेरिकाले खाद्यान्न सहयोग मार्फत त्यो मकै पठाएको बुज्रुकहरू बताउँथे । कोही भने अमेरिकाले भण्डारमा सडेको मकै गरिब देशमा पठाएको हो भन्ने आरोप लगाउँथे । यी दुवै विषयको स्वतन्त्र रुपमा पुष्टि भने भएको पाइएन । त्यो अमेरिकी मकै थियो वा थिएन भन्ने पनि थाहा भएन ।

अहिले न ‘अ‍म्रिकाने मकै’ आउँछ, न रुसी नै । अहिले सबैतिर भोकमरी चल्ने पक्कापक्की भइसकेको छ । यस्तो कठिन परिस्थितिमा सरकारहरूले खाद्यान्न र औषधि उत्पादन तथा भण्डारणलाई प्राथमिकतामा नराखे विश्व भोकमरी र रोगले ग्रसित हुने निश्चित छ । भोलिका दिनमा विश्व समुदायले कोभिड-१९ को उपचारका लागि नै सबैभन्दा बढी खर्चिने समय आउँछ ।

शिक्षा वा अन्य मानवीय आवश्यकतालाई पछि सुधार गरे हुन्छ । नपढे पनि मानिस मर्दैन । नखाए मर्छ, रोग लागे मर्छ। मानव जातिले जति नै फुर्ती गरे पनि हालसम्म विश्व त्यति अगाडि बढ्न सकेको रहेन छ भन्ने कोभिड-१९ ले प्रमाणित गरिदिएको छ ।

विकसित मानिने राष्ट्रहरूले पनि आफ्नो सम्पूर्ण ध्यान अस्त्र होडमै मात्र खर्च गरेका रहेछन् भन्ने पनि देखियो । मानिस अझै पनि निरीह रहेछ । अझै पनि भगवान भरोसामा जीवन अडेको छ भन्ने देखियो । अब हामीहरूले आफ्ना लागि खानेकुराको कसरी जोहो गर्ने भन्नेबारे सोच्ने बेला आएको छ । सर्वसाधारणले समेत चिन्ता गर्ने विषय यही हो । स्वास्थ्य उपचारबारे उसले चिन्ता गरेर पनि केही गर्न सक्दैन । त्यो सरकारहरूको काम हो ।

सन् २००८ मा विश्व अर्थतन्त्रमा आएको गिरावटपछि विश्वमा खाद्यान्नको मूल्य दुई गुणाले बढेको संयुक्त राष्ट्रको तथ्यांकले बताउँछ। यसको निराकरणका लागि ‘फिड द फ्युचर’ नामक कार्यक्रम नै तय गरिएको थियो । त्यस कार्यक्रम अन्तर्गत अमेरिकी सहयोग नियोगले नेपालमा पनि कार्यक्रमहरू सञ्चालन गरेको थियो। कार्यक्रम अझै चल्दैछ।

बद्री ओझा

अबको अवस्था त्योभन्दा धेरै भयावह हुन्छ। खासगरी चीन, भारत, ब्राजिल, अमेरिका जस्ता जनसंख्या बढी भएका मुलुकहरूले खाद्यान्न संग्रहित गर्न थालेपछि किनेर मात्र खाने मुलुकहरू खाद्यान्नको चपेटामा फस्छन् । त्यसको प्रत्यक्ष असर नेपाल जस्तो सानो अर्थतन्त्र र मानिसको क्रयशक्ति कम भएको मुलुकलाई पर्छ । हामी अरू मुलुकहरू जस्तो प्रतिष्पर्धा गरेर खाद्यान्न खरिद गर्न सक्दैनौँ ।

अहिले मानव जातिलाई सुरक्षित पार्न भएभरको खर्च औषधि उपचारमै खर्च गर्नुपर्ने बेला आएको छ । त्यसैले भोलि आर्थिक संकट आइपरे विश्व समुदायले पनि सहयोग गर्नसक्ने अवस्था रहन्छ नै भन्न सकिँदैन । उही अमेरिकी राष्ट्रपतिले झैं हाम्रामाभन्दा चीनमा धेरै मरे भनेर चित्त बुझाउनु बाहेक केही हुँदेन । हाम्रोमा त एकछाक त पाइएको छ, ‘उ हेर त फलानो देशमा त दुई दिनमा एक छाक मात्र खान पाएछन् रे’ भनेर जनतालाई चित्त बुझाउनुपर्ने अवस्था आउँदैन भन्न सकिँदैन । त्यतिबेला अँगेनामा लोहोरो पोल्न हालेर खाद्यान्न खोज्न हिँडेका बाबु फर्केलान् र खान पाइएला भन्ने आशामा बसेका बालबालिकाले जीवन गुमाएको कथा जस्तो अवस्था हुँदैन भन्न पनि सकिँदैन ।

त्यसैले नेपाल सरकारले अहिलेलाई स्वास्थ्य र कृषिमा बाँकी बजेट लगानी गर्नुपर्छ । शिक्षा, बाटोघाटो आदि क्षेत्रमा पछि देशको अवस्था सामान्य भएपछि लगानी गरौँला ।

के कस्ता खाद्यान्न उत्पादन गर्न सकिन्छ भनेर गाउँका बुढाबुढी, रैथाने बालीसम्बन्धी ज्ञान भएका ग्रामीण बुज्रुकहरूलाई सोधखोज गर्नुपर्छ। उनीहरूसँग भोकमरीमा कसरी बाँच्न सकिन्छ भन्ने ज्ञान छ। अहिलेका हाम्रा विज्ञहरूलाई यस्ता विषयमा खासै ज्ञान नहुन पनि सक्छ । एउटा सानो उदाहरण लि‍औं । अहिले तरुल रोप्ने बेला हो । सधैंभन्दा बढी तरूल रोपौँ । भोलि खानै नपाउने अवस्था आयो भने तरूल खाएर पनि बाँच्न सकिन्छ । तरूलबाट रोटी पनि बनाउन सकिन्छ । आलु रोपाइँमा वृद्धि गरौँ, यसबाट छाक टार्न सकिन्छ ।

यतिबेला मकै र चैते धानको पनि सिजन छ । कृषि मन्त्रालय मार्फत सरकारले चैते धान र मकैको उत्पादनमा अलिक बढी लगानी गर्नुपर्छ । सधैंभन्दा अलि बढी उत्पादन गरियो भने भोलि खानै नपाएर मर्ने अवस्थाबाट मुक्ति पाउन सकिन्छ । अझ बढी भए त निर्यात नै गरौँला । अब अरूको मुख ताक्ने होइन । मल छैन भने पशुपालनमा जोड दिऔँ। हामीलाई रासायनिक मल नै चाहिन्छ भन्ने होइन । अब पशु आहारा पनि आउला भन्न सकिन्न । खानकै लागि खाद्यान्नको कमी भए पशु आहारको कुरै भएन । त्यसैले घाँस उत्पादनमा प्राथमिकता दिऔँ । प्रशस्त घाँस खान पाए कुनै पनि पशुलाई आहारा नभए पनि पुग्छ । बरु घाँसका भेराइटीमा ध्यान दिऔँ । पौष्टिक घाँस लगाऔँ । परम्परागत रुपमा बंगुरपालन गर्नेहरूले पिँडालुका साँप्रा र लुँडेको साग मिसाएर ख्वाउने गर्थे, अब त्यसको सिको गरौँ ।

छिटो बढ्ने पशुपन्छी जस्तै बंगुर, कुखुरा , टर्की, परेवा आदि पालन गरौँ । कुखुरा, बंगुर ३/४ महिनामा तयार हुन्छन् । टर्की ६ महिनामा १० केजीसम्मको हुन्छ । मासुको मात्रा बढ्यो भने खाद्यान्नको कमी भए पनि छाक टार्न सकिन्छ ।

सन् २००८ मा आएको आर्थिक मन्दीपछि थाइल्यान्डले यस्तै गरेको थियो । थाई सरकाले कुखुराको उपभोग बढाउन र चामल खपत कम गर्न जनतालाई आग्रह गरेको थियो । यसबाट बढी हुन आएको चामल निर्यात गरेर राष्ट्रिय ढुकुटी बलियो बनाउने प्रयास गरेको थियो ।

हामीले पनि अहिले साग र तोरीको उत्पादनलाई वृद्धि गर्नुपर्छ । मधेसमा अझै पनि तिल लगाउन सकिन्छ । तिलको उत्पादनमा वृद्धि गर्न सके तेलको समस्या समाधानमा सहयोग पुग्छ । तोरी तीन दिनमै उम्रिन्छ । अहिले तोरीको गुन्द्रुक बनाएर राख्न सके भोलि गुन्द्रक खाएरै भए पनि तरकारीको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

त्यसैले, अहिले अन्य विकासे काममा खर्च हुन नसकेको रकम कृषिमा लगाऔँ। कृषि कर्म गर्नका लागि सर्वसाधारणलाई प्रोत्साहित गरौँ । निश्चित मात्रामा खाद्यान्न उत्पादन गर्नेलाई एक वर्षका लागि निश्चित रकम अनिवार्य उपलब्ध गराउने राष्ट्रिय कार्यक्रम घोषणा गरौँ ।

निश्चित संख्यामा पशुपन्छी हुर्काउनेलाई तोकिएको रकम अनिवार्य उपलब्ध गराउने कार्यक्रम घोषणा गरौँ। जुनसुकै पार्टीको कार्यकर्ता भए पनि नेपाली हो । भोक सबै दलकालाई लाग्छ । पैसा खाएर कसैको पनि जीविका चल्दैन । त्यसैले यतिबेला खाद्यान्न सुरक्षाका लागि सजक रहौँ । भोलि पर्ने संकट मुक्तिका लागि जग बसालौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?