Comments Add Comment

सरकारको नीति– सकेसम्म जहाँको त्यहीँ राख्ने, अलपत्रलाई गन्तव्यमा पुर्‍याउने

८ वैशाख, काठमाडौं । आइतबार राति उर्जामन्त्री वर्षमान पुन आफैं भक्तपुर पुगेर अलपत्र मजदूरलाई गाडीमा हाली रोल्पा पठाए । उता थानकोटमा चाहिँ आइतबार बेलुका जिल्ला जान खोज्नेहरुलाई त्रिभुवन पार्कमा रोकियो । यी दुई घटनाका कारण सरकारको नीति के हो भन्ने प्रश्न उठेको छ ।

भक्तपुरका विभिन्न ईंटाभट्टा बन्द भएर अलपत्र परेका करीव ५ सय मजदूरको मन्त्री पुनको पहलमा उद्धार भएको छ । सरकारले औपचारिकरुपमा अलपत्र यात्रुलाई गन्तव्यमा पुर्‍याउने निर्णय नगरे पनि जनप्रतिनिधिकै समन्वयमा मान्छेहरु विभिन्न जिल्लातर्फ गाडीमा गइरहेका छन् ।

यस्तो काम विशेष गरी जनप्रतिनिधि, स्थानीय प्रशासन र स्थानीय सरकारको आन्तरिक समझदारीहरुमा भइरहेको स्रोतले जनाएको छ । के सरकारले विभिन्न नाका र राजमार्गमा निस्किएका सर्वसाधारणलाई आ–आफ्नो गाउँमा पठाउने नीति लिएको हो ?

यो प्रश्न गर्दा एकजना मन्त्रीले सरकारको नीति कसैलाई पनि अलपत्र नपार्ने र भोकै नराख्ने रहेको बताए । उनले सुरक्षा निकाय र प्रदेश तथा स्थानीय सरकारको समन्वयमा उनीहरुको उद्धार भइरहेको जानकारी दिए ।

मन्त्रीले भने– अहिले सरकारले निर्णय गरेर आपतमा परेकालाई घरसम्म लगिदिने भन्यो भने थाम्न सकिन्न र लकडाउनको अर्थ पनि हुन्न । तर, विभिन्न जिल्लाबाट मजदूरहरु हिँडेर काठमाडौं छिरेका छन् । बाहिरबाट पनि नाकामा आएका छन् । उनीहरुलाई अलपत्र नपार्ने र भोकै नराख्ने प्रधानमन्त्रीको निर्देशनको पालना भएको हो ।

सकेसम्म जो जहाँ आइपुगेका छन्, त्यहीँ खाने बस्ने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । सोहीअनुसार थानकोटको त्रिभुवन पार्कमा अस्थायी क्वारेन्टाइन नै बनेको छ । त्यहाँ खाने बस्ने व्यवस्था नेकपा चन्द्रागिरी नगर कमिटीले गरेको छ भने त्यस क्षेत्रका सांसद कृष्णगोपाल श्रेष्ठ, अञ्जना बिसंखे लगायतले समन्वय गरेका छन् ।

सो ठाउँमा अहिले पनि करीव २ सयजना विभिन्न जिल्लाबाट आएका मजदूरलाई राखिएको छ । चन्द्रागिरीका मेयर र सांसदहरुबीच कुरा नमिलेपछि उनीहरुलाई गन्तव्यमा पठाउन सकिएको छैन । मेयर कांगे्रेसबाट निर्वाचित हुन् भने सांसदहरु नेकपाका । विवादकै बीच केही गाडीमा आइतवार बेलुका मजदूहरुलाई पठाइएको थियो ।
काठमाडौंमा रहेका धेरै श्रमिकहरु यसअघि नै हिँडेर चार भञ्ज्याङ कटिसकेका छन् । अहिले ललितपुर, काठमाडौं र भक्तपुरका डाँडाकाँडाका नाकामा आइपुगेकाहरु भनेका बाहिर जिल्लामा काम गर्ने श्रमिक हुन् । उनीहरुलाई सम्बन्धित जिल्लाका सांसद तथा नेताहरुका पहलमा अनौपचारिकरुपमै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरेर पठाइएको छ ।

विभिन्न ठाउँबाट हिँडेर आएका मजदूरलाई दिउँसो एकै ठाउँमा खान दिएर राख्ने र राति समन्वय गरेर पठाउने गरिएको छ । उनीहरुलाई पठाउनुअघि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरुले निश्चित विन्दूबाट जिम्मा लिने भएपछिमात्र पठाउने गरिएको अनेरास्ववियूका नेता दिपेश पुनले बताए ।

सरकारले सकेसम्म जो जहाँ छन् त्यही राख्ने नीति लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । जहाँ छन् त्यहीँ राखेर खान बस्न दिनू भन्ने प्रधानमन्त्रीको निर्देशन रहेको भन्दै उनले कतिपय अवस्थामा सुरक्षा निकाय र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर अलपत्र व्यक्तिको उद्धार गरिएको हुन सक्ने बताए ।

प्रदेश ५ सरकारले यसअघि नै आफ्नो सीमा क्षेत्रभित्र प्रवेश गरेकाहरुलाई अस्थायी क्वारेन्टाइनमा खान बस्न दिने र सम्बन्धित स्थानीय तहमा समन्वय गरेर गन्तव्यमा पठाउने नीति लिइसकेको छ । मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनपछि अहिले ५ नम्बर प्रदेशभित्रका मजदूरलाई गाडीमा चढाएरै सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको छ ।

विभिन्न आयोजनामा कार्यरत मजदूरहरु काम बन्द भएपछि हिडेरै आ आफ्ना घरतर्फ लागेका छन् । खानै नपाएर भन्दा पनि लकडाउन कहिलेसम्म रहने भन्ने अन्यौलले गर्दा पनि उनीहरु हिँडेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । धेरै ठाउँमा प्रहरीले नै मानवीय हिसाबले गाडी, ट्रकहरु रोकेर त्यस्ता अलपत्र यात्रुलाई उद्धार गरिरहेको छ ।

आइतबार मात्रै लमजुङ, पोखरालगायतका ठाउँबाट हिँडेर आएका मजदूरलाई प्रहरीले उपलब्ध सवार साधन रोकेर गन्तव्यतर्फ पठाइदिएको छ । हिँडेर जुत्ता फाटेका, खुट्टामा घाउ भएकाहरुको अवस्था देखेर मानवीयरुपमा उनीहरुलाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय आँबु खैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धि सुवेदीले बताए ।

विभिन्न स्थानीय तहले ठाउँ–ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई सुरक्षा निकायसँग समन्वय गरी आ–आफ्नो गाउँपालिका वा नगरपालिकाको क्वारेन्टाइनमा लगेर राखिरहेको गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यसैबीच काठमाडौंबाट मान्छे हिँडेर बाहिरिने क्रम नरोकिएपछि सत्तारुढ नेकपाले खान बस्न नपाउने अवस्थामा पुगेकाहरुको जिम्मा लिने भन्दै कसैलाई हिँडेर बाहिर नजान आग्रह गरेको छ । नेकपा काठमाडौंका नेताहरुको नम्बरसमेत दिएर आपतमा परेकाहरुको उद्धारमा सघाउन अपीलसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment