+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

दैनिक साढे २ करोड आम्दानी गुमाउँदै अन्तर्राष्ट्रिय विमानस्थल

अच्युत पुरी अच्युत पुरी
२०७७ वैशाख ८ गते १४:३०

४ वैशाख, काठमाडौं । कुनै समय जहाजको अधिक चापका कारण एक घण्टासम्म आकासमै होल्ड गर्नुपर्ने अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक मुस्किलले एक/दुई उडान हुन्छन् । नियमित उडान नभएपछि दैनिक करोडौं रुपैयाँको राजस्व गुम्न थालेको छ ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार  सामान्य अवस्थामा त्रिभुवन विमानस्थलबाट मात्र नेपाल नागरिक उड्डयन मन्त्रालयले मासिक ७० करोड रुपैयाँ औसत आम्दानी गर्छ । यो रकम एरोनोटिकल, ननएरोनटिकल र विमानस्थल विकास शूल्कका नाममा उठ्ने गरेको थियो । जहाजहरु आइसकेपछि विमानस्थलमा अवतरण तथा ल्यान्ड गरेको शूल्क तिर्नुपर्छ ।

यसबाहेक विमानस्थल क्षेत्रभित्र रहेका पसलहरुले समेत नियमित भाडा तिर्नुपर्छ । प्रत्येक अन्तराष्ट्रिय हवाई यात्रुबाट उठाइने १ हजार रुपैयाँ विमानस्थल विकास शुल्क समेत यस अवधिमा उठेको छैन । यसरी विमानस्थलबाट मात्र दैनिक औसत साढे २ करोड आम्दानी गुमिरहेको उनले जानकारी दिए ।

अहिले दिनमा फाटफुट उड्ने जहाज पनि व्यवसायिक प्रयोजनमा उडेका होइनन् । या नेपाली सेनाले देशका विभिन्न स्थानमा जम्मा भएका कोरोनाका नमुना काठमाडौं ल्याउनु परेमा जहाज उड्छन् या गम्भीर प्रकृतिका बिरामीलाई उद्दार गर्नुपर्दा विशेष अनुमति लिएर हेलिकोप्टर उड्छन् । केही दिनअघि सम्म नेपालमा रहेका विदेशी नागरिकलाई फिर्ता लैजान धमाधम उडान भएका थिए । तर, अहिले त्यो क्रम पनि पातलिएको छ ।

सामान्य अवस्थामा त्रिभुवन विमानस्थलबाट दैनिक साढे तीन सय उडान-अवतरण हुने गरेको छ । सन् २०१९ को तथ्यांकअनुसार त्रिभुवन विमानस्थलबाट वर्षभर कूल ७३ लाख २७ हजार ४२ जना यात्रुले सेवा लिएका छन् । यस तथ्यांकअनुसार त्रिभुवन विमानस्थलले दैनिक २० हजार यात्रुको व्यवस्थापन गर्दै आएको छ ।

कामदार अभावले संरचना निर्माणमा समेत बाधा

विमानस्थल भित्र अहिले पनि विभिन्न संरचना निर्माणको काम भने जारी छ । तर, कामदारको अभावले अपेक्षाकृत कामलाई गति दिन नसकिएको महाप्रवन्धक केसीले जानकारी दिए ।

‘लकडाउन अगाडी नै धेरैजसो कामदारले काठमाडौं छाडिसकेको अवस्था रहेछ,’ उनले भने,’अहिले धावनमार्गको लम्बाई बिस्तारमा केही कामदार खटिएको भएपनि अपेक्षाअनुसार काम गर्न सकिएन ।’ काठमाडौंमा भएका केही कामदारको भरमा विमानस्थलभित्र सीमित क्षेत्रमा काम शुरु गरिएको उनले बताए ।

लकडाउनयता करिव ४ हजारले छाडे नेपाल

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ११ चैतयता दुई दर्जनभन्दा बढी उडान-अवतरण भएका छन् । ती उडानहरु सबै चार्टर्ड उडान हुन । जसमा नेपाल एयरलाइन्सले चीनमा गरेको कार्गो उडान समेत जोडिएको छ ।

यी उडानबाट करीव ४ हजार मानिस नेपालबाट बाहिरिएका छन् । सरकारले विदेशबाट नेपालमा यात्रु आउन रोक लगाएका कारण यी जहाजले व्यक्ति बोकेर भने आउन पाउँदैनन् ।

तर, विदेशबाट रित्तै आएर नेपालमा रहेका नागरिक लैजान भने विभिन्न दूतावासले जहाज चार्टर्ड गरी उडाएका हुन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?