Comments Add Comment

दुई घण्टा खोल्दा दोकानमा भिड, सीडीओ भन्छन्– दिनभरि खोलौँ

काठमाडौंभन्दा भक्तपुरमा लकडाउन व्यवस्थित

८ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको एक महिना पुग्न लागेको छ । लकडाउन कडा गर्ने नाममा बिहान एकाध घण्टा मात्रै पसल खुल्दा झनै भिडभाड देखिन थालेको छ ।

दुईघण्टा मात्रै पसल खुल्दा काठमाडौंका तरकारी, दूध डेरी, ग्यास, पानी तथा खाद्यान्न पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको छ ।

प्रहरीले माइकिङ गरेर हरेक बिहान दुई घण्टा मात्र पसल खोल्न उर्दी गरेपछि बिहान-बिहान पसलमा मानिसहरुको भिड लाग्न थालेको हो ।

तर, प्रहरीले आफूखुसी उर्दी गरे तापनि कोभिड-१९ नियन्त्रण उच्चस्तरीय समिति र गृह मन्त्रालय समेतले दुई घण्टा मात्र पसल खोल्न दिने कुनै निर्णय गरेको छैन । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी महानगरस्तरमा पनि यस्तो निर्णय नभएको बताउँछिन् ।

उपप्रमुख खड्गी यस्तो संकटका बेला तरकारी तथा खाद्यान्न पसललाई कसरी अझै व्यवस्थित तरिकाले सञ्चालन गर्ने भन्नेमा आफूहरू लागि परेको बताउँछिन् । तर, विभिन्न वडाहरूले आफैँ यस्तो निर्णय गरेर अत्यावश्यक पसल पनि दिनभरि बन्द राखेका हुन ।

सिडिओ कार्यालय भन्छ– बिहानमात्रै खोल्नु भन्ने आदेश छैन

कृष्णबहादुर कटवाल

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल जिल्ला प्रशासन कार्यालयले खाद्यान्न पसलहरू बिहान मात्रै खोल्नु भन्ने आदेश नदिएको बताउँछन् । वडाहरूले आफैँ निर्णय गरेर दुई घण्टा मात्रै पसल खोल्न दिएको उनको भनाइ छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय निश्चित अवधि तोकेर पसल खोल्दा झनै भिडभाड हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘पर्याप्त सुरक्षाका उपाय अपनाएर बिहानदेखि साँझसम्म खोल्न दिँदा भिडभाड हुँदैन ।’

ललितपुर जिल्लामा साना पसलहरू बिहान ६ बजेदेखि र डिपार्टमेन्ट स्टोरहरू १० बजेदेखि साँझ ८ बजेसम्म खोल्न दिइएको पाण्डेयले जानकारी दिए ।

भक्तपुर जिल्लामा पनि अत्यावश्क पसल दिनभरि खोल्न पाइन्छ । सबैभन्दा बढी जनसंख्या भएको भक्तपुर नगरपालिकाले घरबाहिर निस्कने हरेकका लागि अनिवार्य पासको व्यवस्था गरेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मास्क, पञ्जा, सेनिटाइजरको प्रयोग गरेर दुरी कायम गरी खुल्ला गर्दा पसलमा धेरै मानिस जम्मा नहुने बताउँछिन् । पाण्डे भन्छिन्, ‘हामीले सकेसम्म भिड कम गर्ने उपाय खोज्नुपर्छ ।’

मान्छे नियन्त्रण गर्नै गाह्रो भयो : वडाध्यक्ष

काठमाडौं वडा नम्बर ३१ मा बिहान ४ बजेदेखि ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइन्छ । बाँकी समय घरबाहिर निस्कन पाइँदैन ।

३१ नम्बरका वडाध्यक्ष नारायणप्रसाद भण्डारी तरकारी, दूध किन्ने नाममा मान्छेहरूको आवत-जावत बढ्न थालेपछि बिहान ९ बजेसम्म मात्रै पसल खोल्न दिइएको बताउँछन् ।

‘मान्छे दिनभरि हिँडेर प्रहरीलाई नियन्त्रण गर्नै गाह्रो भएपछि बिहान मात्रै खोल्ने निर्णय गरेका हौँ’, वडाध्यक्ष भण्डारी भन्छन् ।

भक्तपुरबाट सिक्ने कि ?

भक्तपुर नगरपालिकाले भने अत्यावश्यक सामग्री खरिदका लागि दुई घण्टा मात्रै पसल खोल्नुपर्ने नियम बनाएको छैन । बिहानदेखि साँझसम्मै पसल खोल्ने अनुमति दिइएको छ ।

लकडाउनअघि ७ स्थानमा रहेको तरकारी पसललाई २५ ठाउँमा पुर्‍याइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।

भक्तपुरबाट तरकारी वा दूध किन्नका लागि घरबाट एकपटकमा एक जना मात्रै निस्कन पाइन्छ, त्यो पनि पास लिएर ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतीका अनुसार पसलमा भिडभाड नहोस् भनेर पासको व्यवस्था मिलाइएको हो । नगरपालिकामा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाउने २० हजार पास जारी गरिएको उनले जानकारी दिए ।

घरबाहिर निस्कनेले प्रहरी वा स्वयंसेवकले मागेको अवस्थामा त्यस्तो पास देखाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment