सोसल मिडिया कम्पनी फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताका लागि सोमबार नयाँ गेमिङ एप लञ्च गरेको छ ।
फेसबुक गेमिङ (Facebook Gaming) नामको उक्त गेमिङ एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ । यसअघि आगामी जुन महिनामा गेमिङ एप ल्याउने योजना रहेकोमा फेसबुकले दुई महिनाअगाडि नै एप लञ्च गरेको हो । कोरोना भाइरसको लकडाउनका कारण विश्वका करोडौँ मानिसहरु मोबाइलमा लिप्त भैरहेको मौका छोपी फेसबुकले गेमिङ एप लञ्च गरेको हो ।
फेसबुकले ल्याटिन अमेरिका तथा दक्षिण पूर्वी एसियामा कतिपय देशहरुमा विगत डेढ वर्षदेखि यो एपको परीक्षण गरिरहेको थियो ।
फेसबुकको उक्त एप औपचारिक रुपमा गुगलको प्लेस्टोरमा उपलब्ध हुने बित्तिकै सुपरहिट बनेको छ । प्ले स्टोरमा उपलब्ध भएकै दिन सोमबार बेलुकीसम्म फेसबुक गेमिङ एप ५० लाख पटक डाउनलोड भैसकेको छ ।
फेसबुकको एपमा रहेको गेमिङ ट्याबकै परिस्कृत तथा अलग्गै संस्करणको रुपमा फेसबुकले नयाँ गेमिङ एप ल्याएको हो । फेसबुकमा अहिले अढाई अर्ब प्रयोगकर्ता रहेकोमा दैनिक ७० करोड प्रयोगकर्ताहरु फेसबुकको गेमिङ ट्याबमार्फत् दैनिक गेम खेल्ने गरेका छन् ।
फेसबुकको यो गेमिङ एप प्लेटोरबाट डाउनलोड गरेसँगै यसमा लगइन गर्नका लागि प्रयोगकर्ताले आफ्नो फेसबुकको विवरणहरु हाल्नुपर्ने हुन्छ । त्यसपछि यो एपमा मज्जाले आफै गेम खेल्न सकिनुका साथै विभिन्न अनलाइन गेमहरु हेर्न सकिन्छ ।
हालका लागि एन्ड्रोइड प्लाटफर्ममा उपलब्ध गराइएको यो गेमिङ एपले एप्पलबाट स्विकृति पाउने बित्तिकै एप स्टोरमा पनि उपलब्ध हुने बताइएको छ ।
फेसबुकको एप्लिकेसन विभागका प्रमुख फिडजी सिमोले गेमिङ एप प्रयोगकर्तालाई सक्रिय तथा अन्तक्रियात्मक बनाउनुका साथै तथा एक आपसमा जोड्ने मनोरञ्जनको साधन भएको भन्दै क्वारेन्टाइनको समयमा फेसबुक गेमिङ एपका प्रयोगकर्ताको संख्या उच्च रुपमा बढ्ने विश्वास गरेका छन् ।
एजेन्सी
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4