Comments Add Comment

लकडाउनको मारमा परेका किसानको बाली असिनापानीले सखाप

नोक्सान पुगेपछि पर्सा र बाराका किसानले मागे क्षतिपूर्ति

९ वैशाख, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–३ कि रुना खातुनले एक कठ्ठामा लौका, घिरौला र काँक्रो लगाएकी थिइन् । लगाइएका यी बालीले फल दिन थालेका थिए । तर लकडाउनका कारण खासै बिक्री भएको थिएन ।

लकडाउनमा गुज्रिरहेका बेला सोमबार बेलुका असिना पानी आयो । जसले ठूलो नोक्सानी पुर्याएको छ ।

‘लगाइएका तरकारी लकडाउनले खासै बिक्री भएको थिएन । यही बेला सोमबार असिना पानी परेपछि नष्ट भएको छ,’ खातुनले निराश मुद्रामा भनिन् ।

रुनाले जस्तै बाराको छाता पिपरा कि शान्ति चौधरीले डेढ कठ्ठामा तरकारी लगाएकी थिइन् । आम्दानी गर्ने सपनासहित लगाइएको प्याज, खुर्सानी, लौका, काँक्रो, भिण्डी, बोडी लगायत तरकारी असिना र पानीले केहीबेरमै सखाप पारिदिएको छ । ‘राति आएको हावाहुरीसहितको असिनाले मकै लडेको छ, तरकारी बालीमा पनि क्षति पुगेको छ,’ उनले भनिन्, ‘हामी किसानलाई प्रकृतिले पनि सताउँछ । केही गर्दा पनि सुख छैन ।’

रुना र शान्ताको मात्रै होइन, बारा र पर्सामा हावाहुरी र असिनाले सयौं हेक्टर जमिनमा लगाइएको गहुँ, मकै, तरकारी बाली र फलफुलमा क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्र पर्साले दिएको जानकारी अनुसार, सोमबार बेलुका आएको हावाहुरी र असिनाले पर्सामा १ अर्ब ३२ करोड ९ लाखबराबरको क्षति भएको छ ।

केन्द्रले संकलन गरेको प्रारम्भिक क्षति विवरण अनुसार करिब ७ हजार २ सय २१ हेक्टर जमिनमा लगाइएको गहुँ, तरकारी र फलफुलमा क्षति पुगेको छ । ६ हजार ३ सय ५० हेक्टरको गहुँबाली, ५ सय ३० हेक्टरको तरकारी, १ सय ९८ हेक्टरको मकै र १ सय ४३ हेक्टर आँपमा क्षति पुगेको अनुमान गरिएको छ । किसानको बालीनालीमा पुगेको क्षतिको पूर्तिका लागि प्रदेश सरकारसँग पहल गरिने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्सागढी नगरपालिका–१, मनवा बजारमा रहेको सेतो गुराँस कृषि सहकारी संस्थाले गहुँको बीउ वृद्धि कार्यक्रम सञ्चालन गरिरहेको थियो । असिना र हावाहुरीले ३० हेक्टरमा गरिएको गहुँको बीउ वृद्धि कार्यक्रममा पूर्ण रूपमा क्षति पुगेको सहकारीका अध्यक्ष अनुरोधप्रसाद चौधरीले बताए । त्यसबाहेक बोडी, लौकालगायत तरकारी बालीमा पनि क्षति पुगेको उनले बताए । ‘मकै त खत्तम बनाइदिएको छ । तरकारी बालीमा पनि क्षति पुगेको छ,’ चौधरीले भने, ‘प्रकृतिक विपदका कारण हामी मर्कामा परेका छौं । किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ ।’

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामचन्द्र यादवका अनुसार, क्षतिको यकिन विवरण पठाउन स्थानीय पालिकालाई पत्राचार गरिएको छ । उनीहरुले विवरण पठाएपछि क्षतिपूर्तिका लागि प्रदेश सरकारसँग आग्रह गर्ने उनले जानकारी दिए ।

त्यस्तै, चारदिन अघि बारामा आएको हावाहुरी तथा असिनाले पनि अन्न, तरकारी र फलफुल बालीमा क्षति पुर्याएको छ । ५ हजार ४ सय ४३ हेक्टरमा लगाइएको तरकारी बालीमा ७५ प्रतिशत, ३ हजार ५ सय ३४ हक्टरको गहुँबाली, ४ हजार २८ हेक्टरमा लगाइएको मकै र २ हजार १ सय ९५ हेक्टरको आँपमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाराका निमित्त प्रमुख राज नारायणप्रसाद साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment