Comments Add Comment

कोरोना संक्रमण समुदायस्तरमा, हटस्पट बन्यो उदयपुरको भुल्के

एकै दिन थपिए ११ संंक्रमित

९ वैशाख, काठमाडौं । मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रमा संक्रमित भेटिएका हुन् ।

जनस्वास्थ्य विज्ञहरुले यसलाई नेपालमा कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश मानेका छन् ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भयो ।

लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमुना संकलन गरिएको थियो । काठमाडौंबाट गएको नेपाली सेनाको टोलीले संकलन गरेको थ्रोट स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ।

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित ४२
निको भएको
मृत्यु
अपडेटः २०७७ वैशाख ९ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यस्तै अन्य ६९ जनाको नमुना कोशी अस्पताल, विराटनगर पठाइएको थियो, त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भयो ।

‘यदि उनीहरु भारतमा संक्रमित भएर लकडाउनको बीचमा आएको मान्ने हो भने पनि उनीहरुबाट अरुलाई सरेको छ । एक वा दुई जनामा होइन, १०/११ जना संक्रमित भइसकेका छन् । यो कोरोनाको कम्युनिटी ट्रान्समिसन (समुदायस्तरको संक्रमण) हो ।’

थपिएका ११ संक्रमितमध्ये दुई महिला हुन् भने बाँकी पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उनीहरु मध्ये ५ जना निको भइसके ।

समुदायस्तरमा पुग्यो संक्रमण

कुल संक्रमितमध्ये २४ जना उदयपुरको भुल्केमा भेटिएका हुन् । उनीहरु मध्ये ११ जना भारतीय, दुई जना विराटनगरका जमाती हुन् भने मंगलबार संक्रमण देखिएका ११ जना सबै भुल्केकै स्थानीय हुन् ।

यसले कोरोना संक्रमण तेस्रो चरण (समुदाय स्तरमा) पुगेको पुष्टि भएको छ भने हटस्पट भुल्के बनेको छ ।

‘यो केसको कनेक्सन यसअघि संक्रमण देखिएका भारतीय नागरिकहरुसँग छ । र, उनीहरु चार महिना अगाडि नेपाल आएको भन्छन्’ जनस्वास्थ्यविद् डा. अनुप सुवेदी भन्छन्, ‘त्यसो हो भने उनीहरुको संक्रमणको स्रोत के हो ? त्यो खोज्नुपर्‍यो । उनीहरुको कुरा मान्दा नेपालको समुदायस्तरबाट नै संक्रमण भएको बुझ्न सकिन्छ ।’

उनले अघि भने, ‘यदि उनीहरु भारतमा संक्रमित भएर लकडाउनको बीचमा आएको मान्ने हो भने पनि उनीहरुबाट अरुलाई सरेको छ । एक वा दुई जनामा होइन, १०/११ जना संक्रमित भइसकेका छन् । यो कोरोनाको कम्युनिटी ट्रान्समिसन (समुदायस्तरको संक्रमण) हो ।’

भुल्केकै संक्रमणले नेपालमा कोरोना संक्रमणले कुन रुप लिन्छ भन्ने निर्धारण गर्ने सुवेदी बताउँछन् ।

यद्यपि सरकारले अहिले नै कोरोना संक्रमण तेस्रो चरणमा पुगेको घोषणा गरेको छैन । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘अहिलेसम्म संक्रमण देखिएका क्लोज कन्ट्याकमा आएकाहरु छन् । अहिले हामी केही केसलाई हेर्दैछौं, त्यसपछि मात्र समुदायस्तरमा पुगेका नपुगेको निक्र्यौल गर्छौं ।’

सबै संक्रमितमा लक्षण छैन

भुल्केमा भेटिएका संक्रमितहरुमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण भने देखिएको छैन । नगरपालिका स्वास्थ्य सेवा शाखाका अवधनारायण चौधरी भन्छन्, ‘कुनै लक्षण देखिएको छैन तर नमुना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।’

संक्रमितहरुको विराटनगरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । १३ जना त्यहीँ उपचाररत थिए भने मंगलबार संक्रमित भएकाहरुलाई पनि विराटनगर नै लगिएको छ ।

सबै नाका सिल, परीक्षण तीब्र बनाइने

धेरै संख्यामा कोरोना संक्रमित भेटिएसँगै उदयपुर जिल्लालाई सिल गरेर सबै नाका बन्द गरिने भएको छ । प्रदेश सुरक्षा समन्वय समितिको बैठकले लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएको छ । साथै संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय त्रियुगा नगरपालिकाले गरेको छ ।

शहरउन्मुख भुल्के क्षेत्रमा बाक्लो बसोबास छ । नेपाली सेनाको १८ नम्बर बाहिनी नजिकै रहेको त्यो क्षेत्रमा नुरी मस्जिद वरीपरी ५०/५२ परिवार मुस्लिम परिवार बस्छन् भने नजिकै चौधरी र ब्राम्हण क्षेत्री परिवारको पनि बसोबास छ ।

स्थानीय जनप्रतिनिधिहरुका अनुसार भुल्केका मुस्लिम समुदायका पुरुषहरु खसीबोकाको व्यापार गर्छन् भने महिलाहरु सागसब्जी बेच्न बजार जाने गर्छन् । अहिले संक्रमण देखिएकाहरु जमातीहरुसँग क्लोज कन्ट्याकमा गएकाहरु हुन् ।

ठूलो संख्यामा संक्रमित भेटिएसँगै सीमा जोडिएको दुई नम्बर वडालाई पनि सिल गरिएको छ । भुल्केका २१ सयको र्‍यापिड डायग्नोस्टिक विधिबाट र २५० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णयसमेत भएको छ ।

स्थानीय तहसँग पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगायतका सुरक्षा सामग्री भने पर्याप्त छैन । त्रियुगा नगरअन्तरगत ३ वटा स्वास्थ्य चौकी र तीन वटा शहरी स्वास्थ्य केन्द्र छन्, जसमा ८० भन्दा बढी कार्यरत छन् ।

तर अहिले स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रलाई स्थानीय स्तरमा बसेको पीपीई दुईदुई सेट दिइएको छ । ‘अहिले हामी थप सुरक्षा सामग्रीको खोजीमा छौं’ चौधरीले भने, ‘तर किन्न पनि महंगो भन्छन्, विल पनि दिन मान्दैनन् ।’

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित भने अब त्यो क्षेत्र पूर्ण रुपमा सिल गरेर हरेक परिवारलाई आइसोलेट गर्नुपर्ने बताउँछन् । समुदाय स्तरमा संक्रमण पुगिसकेको भन्दै उनले भने, ‘एउटा घरबाट अर्को घरमा पनि जान दिनुहुँदैन । उनीहरुलाई चाहिने वस्तुहरु त्यही पुर्‍याउने गरी आइसोलेट गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment