Comments Add Comment

दिने र लिने दुवै सन्तुष्ट हुने उत्तम दान : अन्नदान

दान दिनु अभावमा छट्पटाइरहेका लागि हो : भोकले छट्पटाइरहेका, रगतको अभावमा अस्पतालमा छट्पटाइरहेका, जाडोले कठ्याङ्गि्ररहेका, तिर्खाले छट्पटिरहेका । भोकले छट्पटाइरहेका व्यक्तिहरूलाई अन्नदान र भोजनदान दिनुभन्दा उत्तम दान केही हुँदैन । दान धर्म, कर्म र पुण्यसँग जोडिएको छ । ऋषिमहषिर् र हाम्रा पुर्खाहरूले दानलाई धर्मसँग जोडेर पुण्य लाभ लिन प्रेरित गरे ।

पौराणिक काव्यमा महादान दिने बलिको प्रसङ्ग आउँछ । त्यसैबाट बलिदान भएको हो । महादान दिनुलाई बलिदानसरह मानिन्छ । पौराणिक काव्यकाअनुसार दानवीर कर्णले आफू असुरक्षित हुने गरी आफ्नो रक्षाकवज नै दान दिए । राजा शिविले आफ्नो शरीरै दान दिए । बुद्ध दर्शनमा दानको ठूलो महत्व छ । मुस्लिम धार्मिक परम्परामा दानलाई उत्कृष्ट कार्य मानिन्छ ।

वि.सं. २०७७ साल वैशाख ६ गते शनिवार बिहान उज्यालो एफएम सुनिरहेको थिएँ । बिहान पौने ६ बजे हाम्रो खगोल कार्यक्रममा कार्यकम सञ्चालक वरिष्ठ ज्योतिष बलराम उपाध्याय खकुरेलले वैशाख ६ गते परेको वरुथिनी एकादशीको सम्बन्धमा वर्णन गर्नुभएको थियो । मलाई सम्झना भएअनुसार उहाँले वरुथिनी एकादशी ज्यादै पवित्र एकादशी भएको भन्नुभएको थियो ।

यसको पुष्टि गर्दै धर्मराज युधिष्ठिरले यस एकादशीका सम्बन्धमा भगवान् श्रीकृष्णसँग सोधेको प्रसङ्ग उल्लेख गर्नुभएको थियो । वरुथिनी एकादशीका सम्बन्धमा श्रीकृष्ण भगवानले एकादशीहरूमा ज्यादै उत्तम र पुण्य लाभ हुने वरुथिनी एकादशी भएको उल्लेख गर्दै दानका सम्बन्धमा युधिष्ठिरलाई ज्ञान दिएको थियो भन्ने प्रसङ्ग उल्लेख गर्नुभएको थियो ।

एफएममा सुनेका कुरालाई आधार मान्दै मैले मनमनै केही कुरा गुनेँ । त्यही भावनालाई यहाँ प्रस्तुत गरेको छु :

सबैभन्दा उत्तम दान घोडादान हो । घोडादान भन्दा पनि उत्तम हात्तीदान हो । हात्तीदान भन्दा पनि उत्तम जग्गादान हो । जग्गादान भन्दा पनि उत्तम सुनदान हो । सुनदान भन्दा पनि उत्तम तिलदान हो । तिलदानभन्दा पनि उत्तम अन्नदान हो ।

अन्न नै समस्त प्राणीहरूको जीउने आधार हो । यो पृथ्वीमा जन्मेका सबै जीवजन्तु, प्राणी, वनस्पति सबैलाई आहार चाहिन्छ । मानिस, चराचुरुङ्गी, जीवजन्तु आहारमा नै बाँचेका छन् । पैसादान, सुनदान, जग्गादान जति दिए पनि दान ग्रहण गर्ने मानिसले बाहिर देखावटी रुपमा पुग्यो भन्छ तर भित्री मनमा अझै दिए हुन्थ्यो भन्ने लालसा रहिरहेको हुन्छ । अन्य दान जे गरे पनि र जति दिए पनि मानिसले पुग्यो भन्दैन र पुर्‍याउन पनि सकिँदैन ।

खगराज बराल

दान दिएपछि लालसा नराख्ने अन्नदान हो अर्थात भोजनदान हो । कुनै एकजना भोको व्यक्तिलाई भोजनदान गरेर पुग्यो भन्ने बनाउन सकिन्छ । संसारमा यो मात्र यस्तो दान हो जसबाट दान ग्रहण गर्ने व्यक्ति पूर्ण सन्तुष्ट हुन्छ, भित्री रुपमा पनि र बाहिरी रुपमा पनि । भोको मानिसलाई एक पेट खान दिएपछि जति चोटि थपौं भन्दा पुग्यो, भो पर्दैन, नाइँ जस्ता उद्गार पाइन्छ । यसबाट दान दिने र लिने दुवैलाई पूर्ण सन्तुष्टि मिल्छ ।

अन्नको विकल्प छैन । पैसाको विकल्प विगतमा पनि थियो, अहिले पनि छ । सुनको विकल्प त विगतमा मात्र होइन, अहिले पनि छ । अनि सुन नहुँदैमा आकाश खस्ने पनि होइन । जग्गाको छुट्टै विकल्प छैन तर जग्गाको व्यवस्थापन गर्न सकिन्छ । उपयुक्त जग्गा नभए पनि इजरायली प्रवृत्ति प्रयोग गरी खेती गर्न सकिन्छ । तर, फेरि पनि भन्न सकिन्छ, अन्नको कुनै विकल्प छैन ।

भोको पेटलाई पैसा, सुन, जग्गा, घोडा, हात्तीलगायत अत्याधुनिक सामान दान दिए पनि कुनै अर्थ हुँदैन । भोको पेटले खोजेको अन्न नै हो । अन्न पितृका लागि पनि प्रयोग हुन्छ, देव कार्यमा पनि प्रयोग हुन्छ । समस्त प्राणीजगत् आहारमा नै बाँचेका छन् । अधिकांशको मुख्य भोजन अन्न नै हो ।

दान अन्य पनि हुन सक्छन् । कन्यादान, गाईदान, भूमिदान, विद्यादान, रक्तदान, लुगादान, मतदान, श्रमदान, अङ्गदान, क्षमादान पनि दानकै प्रकृति हुन् । दानको सरल अर्थ दिनु हो तर कसले कसलाई के दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

दानलाई त्यागको अर्थमा हेरिन्छ । यसको मतलब दान दिँदा कुनै स्वार्थ हुनु हुँदैन । दानमा परोपकार मात्र हुनुपर्छ । दान दिँदा पनि जे पायो त्यही दान दिन नहुने र दान लिनुपर्दा पनि जे पायो त्यही नलिने हिन्दु वैदिक सनातन धर्मको मान्यता पनि छ । दान दिने र लिने दुवै सत्पात्र हुनु जरुरी हुन्छ । लुटेको सम्पत्ति, शोषेको सम्पत्ति, कालो र अकल्याणको धन, भूमि, सुनजस्ता वस्तु दान लिनु हुँदैन ।

देवघाटमा रहेका आश्रममा बसी अध्ययन गर्ने बटुक, भोजनका समयमा आउने आगन्तुकलाई निःशुल्क भोजन गराइन्छ । भोको व्यक्ति जोसुकै पुगे पनि भोजन गराउने परम्परा छ । यो भोजनदानको परम्परालाई अन्नदानले नै सहयोग गरेको छ ।

वर्तमान समयमा चीनको वुहान सहरमा उत्पत्ति भई विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को असर नेपालमा पनि पर्‍यो । विश्वव्यापी फैलावटलाई रोक्न नेपालसहित विश्वका प्रायः सबै राष्ट्रहरूले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरे, अन्तर्राष्ट्रिय उडान बन्द गरे । प्रायः सबै देशले आम नागरिकको आवतजावतलाई रोक्न बन्दाबन्दी गरे ।

नेपालले पनि चैत ११ गतेदेखि देशभर बन्दाबन्दी -लकडाउन) गर्‍यो । यसको प्रत्यक्ष प्रभाव नेपाली जनजीवनमा पर्‍यो । स्कुल कलेज बन्द भए, सार्वजनिक तथा निजी सवारी साधन बन्द भए । औद्योगिक प्रतिष्ठान, उद्योग, औपचारिक तथा अनौपचारिक काम गर्ने क्षेत्र बन्द भए । मन्दिर, देवल तथा गुम्बाहरूमा पूजापाठ रोकियो, दर्शन गर्ने काम रोकियो । अत्यावश्यक सेवाबाहेकका कार्यालयमा कर्मचारीको उपस्थिति भएन । अधिकारप्राप्त निकायको पूर्वस्वीकृतिमा सरकारी सवारी साधन सञ्चालन गर्न दिइयो ।

कोरोनाको फैलावटलाई रोक्न आम मानिसहरू घरघरमै बस्न थाले । यसको प्रभाव मन्दिर तथा देवालय, ठूलाठूला भवनमा बस्ने परेवा, मानवको आश्रयस्थलमा बस्ने परेवा र भँगेरा, टोलटोलका स्थानीय कुकुर, पशुपतिनाथ र स्वयम्भूनाथ लगायतका स्थानमा रहेका बाँदरमा पनि पर्‍यो । अहिले यी पशुपक्षीहरू भोकभोकै परेका छन् । यिनीहरू पनि अन्न खाएर नै जीवन निर्बाह गर्छन् ।

देशमा कार्यान्वयन भएको बन्दाबन्दी (लकडाउन) को असर सबै नेपालीमा परे पनि ज्यादै ठूलो असर दैनिक ज्याला मजदूरी गरी पैसा कमाएर दिनदिनै पसलबाट खाद्यान्न किनेर खाने श्रमजीवी श्रमिकलाई परेको छ । एकातिर काम बन्द भएको छ, अर्कोतिर खाद्यान्न किन्ने पैसा सकिएको छ । काम पनि छैन, माम पनि छैन । काम त पछि पाइएला, पेटले माम पछि पाइएला भनेर पर्खदैन । श्रमिक वर्गहरू हुलका हुल रातदिन हिँडेर पूर्वपश्चिम लागेका खबर सुनिएको छ, हेरिएको छ । यसको मुख्य कारण खाना हो, अन्न हो । यदि यी श्रमजीवी जनताले खान पाउँदा हुन् त यत्रो लामो यात्राको जोखिम उठाउँदैनथे ।

पेटका कारण लामो यात्रामा हिँडेका श्रमजीवी जनतालाई पैसादान चाहिएको छैन, सुनदान पनि चाहिएको छैन, भूमिदान पनि चाहिएको छैन, अन्नदान अर्थात् भोजन दान गरिदिए पुग्छ । भोजनदान जति पुण्य अरू केही हुँदैन ।

देशमा बन्दाबन्दी भएका समयमा आफूसँग भएको अन्न सबैसँग बाँडिचुडी खाऔं । हिँडिरहेका बटुवालाई भोजनदान गरौं । सक्नेले धेरैलाई भोजनदान गरौं, नसक्नेले एक-दुई जनालाई बाँडेर भोजनदान गरौं । कोही पनि भोकभोकै बस्नु नपरोस्, भोकभोकै हिँड्नु नपरोस् ।

अहिले तराई, पहाड र हिमालतिरका उब्जाउ जमिन बाँझै छन् । गाउँघरका बारी, टारी र बेंसीका खेत बाँझै छन् । मानिस गाउँबाट बेंसी झरेको छ । मुरीका मुरी धान, गहुँ, आलु, मकै उब्जनी हुने बेंसीका खेत कंक्रिटै कंक्रिट बनेका छन् । सहर र सहरोन्मुख ठाउँका उब्जाउ जमिनलाई चिराचिरा गरी प्लटिङ गरिएको छ । घर घडेरीमा बिक्री गरिएको छ । घर बनेका स्थान र कंक्रिटमा अन्न उब्जदैन ।

गाउँघर, सहरबजार, तराई, पहाड र हिमाल, बारी, टारी र बेंसीमा अन्न उब्जाउने, जमिनको रक्षा गर्दै आम नेपालीमा अन्न उब्जाउन, अन्नका लागि अरूको भर नपर्न, खाद्यान्नमा आत्मनिर्भर हुन, अन्नदान र भोजनदानको संस्कृति फैलाउन अहिलेको कोरोना भाइरसको प्रकोपले हामीलाई पाठ सिकाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment