Comments Add Comment

वीरगञ्जमा कोरोना : समुदायबाट सरेन, समुदायमा पनि सरेन !

१० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२ छप्कैयास्थित मक्की जामे मस्जिदमा बसिरहेका चार जना भारतीय जमातीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको १० दिन भइसक्यो ।

उनीहरूको सम्पर्कमा रहेकाहरूलाई खोजेर थ्रोट स्वाब परीक्षणका लागि पठाइएको छ भने समुदाय स्तरमा र्‍यापिड डायग्नोस्टिक विधिबाट परीक्षण पनि गरिएको छ । तर, भारतीय नागरिकमा देखिएको कोरोना संक्रमणको स्रोत सरकारले अझैसम्म पत्ता लगाउन सकेको छैन ।

भारतीय जमातीहरूमा कोरोना संक्रमण भएको २९ चैत २०७६ मा पुष्टि भएको थियो । ४ महिनाअघि विराटनगर हुँदै नेपाल प्रवेश गरेका उनीहरू नारायणी अस्पतालमा उपचाररत छन् । उनीहरू मोरङ, सुनसरी, सप्तरी हुँदै वीरगञ्ज आइपुगेका थिए ।

तर, उनीहरूमा कहाँबाट कोरोना संक्रमण भयो भन्ने पत्ता लगाउन सरकारी अधिकारीहरू असफल भएका छन् । त्यसमाथि वीरगञ्जबाट चैत १७ गते कैलालीको लम्कीचुहा गएकी एक महिलामा पनि कोरोना संक्रमण देखिएपछि यो प्रकरण अझ जेलिएको छ ।

कोरोना संक्रमण हुन अर्को संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा पुगेकै हुनुपर्छ । तर, तीन जना भारतीय जमातीमा संक्रमण कहाँबाट आयो भन्ने पत्ता लागेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय र सुरक्षा निकायको टोलीले संक्रमितहरूको ‘ट्राभल हिस्ट्री ‘ (यात्रा विवरण) लिएर ‘कन्ट्याक्ट ट्रेसिङ’ (प्रत्यक्ष सम्पर्कमा आएकाहरूको जाँच) गरेको पनि हो ।

तर, संक्रमित र सँगै रहेका जमातीले सही सूचना नदिँदा सुरुदेखि अधिकारीहरू समस्यामा परे । हालसम्म संक्रमितहरूको सम्पर्कमा आएका तीन तहका व्यक्तिहरूको पहिचान भएको छ । त्यसरी पहिचान गरिएका ९४ मध्ये २६ जनाबाहेक पीसीआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा नआएका तर संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको सम्पर्कमा भएकाहरूको पनि पहिचान गरिएको छ ।

यस्तै, समुदाय स्तरमा १३ सय ९३ जनामा गरिएको आरडीटी टेस्टको रिपोर्ट पनि नेगेटिभ आएको छ । पछिल्ला समय जमातीहरू पुगेको छपकैया र सुगौली मस्जिद आसपासका क्षेत्रमा परीक्षण गरिएको थियो ।

यो पनि पढ्नुहोस वीरगञ्जमा तीन भारतीयलाई कहाँबाट सर्‍यो कोरोना ?

तर, अझै केही प्रश्न अनुत्तरित छन् । के उनीहरू ४ महिनाअघि नै नेपाल प्रवेश गर्दा नै संक्रमित थिए वा बीचमा भारत पुगेर संक्रमित भएर आएका हुन् ? वा उनीहरू नेपालमै कुनै संक्रमितको प्रत्यक्ष सम्पर्कमा गएका थिए ? जस्ता प्रश्न अझै अनुत्तरित छन् ।

कन्ट्याक्ट ट्रेसिङमा संलग्न नेपाली सेनाको वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणा तीन जना भारतीयमा कहाँबाट संक्रमित भए भनेर पत्ता लगाउन कठिन रहेको बताउँछन् । ‘संक्रमण यहीबाट भयो भन्ने आधार भेटिएको छैन,’ उनले भने, ‘मोरङ, सुनसरी, सप्तरी हुँदै आएको भनिएको छ । कतै न कतै संक्रमितसँग भेटेको हुनसक्छ भन्ने अनुमानसम्म गरेका छौँ ।’

संक्रमित र उनीहरूको साथमा आएका जमातीले सही सूचना नदिएको बताउँदै उनले भने, ‘दुईजना बीचमा रक्सौल गएर आएकाले त्यहीबाट सर्‍यो कि ? उनीहरूले अरु मानिसलाई भेटेर ढाँटेका पनि हुन सक्छन् । न उदयपुरमा देखिएको केसलाई हेर्दा त्यहीँ पनि जोडिएको हो कि ? भन्ने अनुमान लगाउन सकिन्छ । । तर, तीन जना भारतीय नागरिक यहाँबाटै संक्रमण भयो भन्ने पत्ता लगाउन कठिन छ ।’

जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसिया भने संक्रमणको स्रोत पत्ता लगाउने पनि उनीहरू छपकैयाका अरुबाट संक्रमित भएका पनि होइनन् र उनीहरूबाट छपकैयाका अरुलाई संक्रमण भएको पनि छैन भन्ने निष्कर्षमा पुग्न सकिने सुनाए ।

‘उनीहरूले यहाँ अरुलाई सारे कि भन्ने चिन्ता थियो । त्यसैले उनीहरू कहाँबाट आए, कहाँ गए भन्ने हेर्‍यौँ । उनीहरू बसेको ठाउँ वरिपरि आरडीटी परीक्षण गर्‍यौँ । सबै रिपोर्ट नेगेटिभ आयो,’ उनले भने, ‘उनीहरूलाई यहाँबाट सारेको पनि होइन, उनीहरूबाट समुदायमा सरेको पनि छैन ।’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय पनि संक्रमितले खुलेर कुरा नगर्दा संक्रमण स्रोत पहिचानमा समस्या भएको बताउँछन् । ‘को कहाँकहाँ गएको हो ? व्यक्ति स्वयंले भन्नुपर्छ, तर उनीहरू खुलेर भन्दै भन्दैनन्,’ उनले भने, ‘त्यसैले कसरी संक्रमित भए भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment