Comments Add Comment

राहत नपाएको भन्दै पर्साको जिराभवानीमा प्रदर्शन र तोडफोड

१० वैशाख, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरण नगरेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा स्थानीय पत्रकारसहित केही सर्वसाधारण घाइते भएका छन् । गाउँपालिकाको ४  र प्रहरीको ४ गरी ८ वटा मोटरसाइकलमा समेत क्षति पुगेको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।

लकडाउन सुरु भएको तीस दिन बितिसक्दा समेत विपन्नलाई राहत वितरण नगरेको भन्दै बिकाउ भण्डारीको नेतृत्वमा केही स्थानीय गाउँपालिका पुगेका थिए । छलफल चलिरहेकै समयमा विवादले उग्ररुप लिएपछि स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झडपमा परी समाचार संकलनका लागि पुगेका स्थानीय पत्रकार कृष्ण मोहन साह घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले ना १ ब ३५७८ ना २२ प २४३० ना १ ब ३५८८ ना १ ब ३५८६ ना ३५ प २३९ ना ५५ प ६४९४ बा २ प ५७०३ र गाउँपालिकाको जेसिबी र रोलर समेत तोडफोड गरेका छन् । प्रदर्शनले उग्ररूप लिएपछि पूर्वसभासद जयप्रकाश थारु, गाउँपालिका अध्यक्ष रामपृत महतो, उपाध्यक्ष उषा देवी थरुनी, प्रशासकीय अधिकृत कुलोत्तमप्रसाद पोखरेल लगायतले स्थानीयलाई सम्झाइबुझाइ गरेर घर फर्काएका थिए । उनीहरूले बिहीबारदेखि नै राहत वितरण गर्ने प्रतिवद्धता जनाएको स्थानीयले बताएका छन् ।

प्रदर्शनले उग्ररुप लिएपछि इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली, इलाका प्रहरी कार्यालय सेढवा मातहत रहेका सबै प्रहरी चौकी र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुर र भिखमपुरबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment