Comments Add Comment

बलात्कार आरोपी ६ महिनापछि पक्राउ

११ वैशाख, बनेपा । किशोरी बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-६ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा ६ महिनादेखि फरार तीन जनालाई बुधबार पक्राउ गरिएको हो ।

गत २०७६ असोज १३ गते विभिन्न प्रलोभन देखाई बा५च ३८४९ नंको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका-६ स्थित काभ्रे क्याम्पसभन्दा माथिको जङ्गलमा लगि गाडीभित्र नै जबर्जस्ती करणी गरेको आरोपमा असोज १६ गते जाहेरी परेको र १७ गते नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले खोजतलास सुरु गरेको थियो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-८ कुन्ताबेँसी स्थायी घर भइ हाल बनेपा नगरपालिका-१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, पनौती नगरपालिका- ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ शेरा स्थायी घर भइ हाल बनेपा नगरपालिका-१० डेरा गरी बस्ने १९ वर्षीय सविन दुलाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत जबर्जस्ती करणीअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक थापाले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment