Comments Add Comment

दम्पतीबीच धेरैजसो झगडा के निहुँमा हुन्छ ?

दम्पतीबीच के निहुँमा झगडा पर्छ ? धेरै दम्पतीले यसबारे चासो राखेकै हुँदैनन् । अर्थात्, आफूहरूबीच हुने झगडाको कारण वा बिउ के हो ? उनीहरूले सायदै हेक्का राख्छन् । यद्यपि झगडा भने भइरहेकै हुन्छ । मनमुटाव भइरहेको हुन्छ । भनाभन भइरहेको हुन्छ। कति दिनसम्म बोलचाल बन्द भइरहेको हुन्छ ।

तर, दम्पतीले फर्केर सोच्दैनन् कि हामीबीच झगडा हुने मुख्य कुरा के हो ?

यदि उनीहरूले यसको खोजी गर्ने हो भने झगडाको समाधान निकाल्न पनि सहज हुन्छ । जब झगडाको निहुँ फेला पर्छ, दुवैले धैर्यतापूर्वक त्यसमा बहस गर्न सक्छन् । गल्ती वा कमजोरी कहाँ भइरहेको छ ? थाहा पाउन सक्छन् ।

के झगडा नराम्रो हो ?

त्यसो त दम्पतीबीच हुने झगडामा दुई किसिमको प्रवृत्ति पाइन्छ ।

एक, कतिपय झगडा यस्ता हुन्छन्, जो भुसको आगो झैं भित्रभित्रै सल्कन्छ । त्यसले निकै भयानक रुप लिन्छ । दम्पतीबीच सानोतिनो निहुँमा भनाभन परिरहन्छ। एकअर्कामा अविश्वास र असहयोगको स्थिति हुन्छ । यसले परिवारमा कलह ल्याउँछ भने दम्पतीमा फाटो आउँछ ।

दुई, अर्को पाटो पनि छ यसको । दम्पतीबीच हुने झगडाले कतिपय भ्रम, असमझदारीलाई मेट्छ । आफ्ना पार्टनरलाई के कुरामा चित्त बुझेको छैन वा बुझ्दैन भन्ने कुरा थाहा हुन्छ । उनीहरू एकअर्कालाई चित्त नबुझेको कुरा खुलेर व्यक्त गर्छन् । यसले उनीहरूलाई एउटा समझदारीको विन्दुमा पुर्‍याउँछ । अतः यस किसिमको झगडाले दम्पतीबीचको सम्बन्ध अरू परिपक्क र बलियो हुँदै जान्छ ।

के निहुँमा हुन्छ झगडा ?

दम्पतीबीच हुने झगडाको निहुँ उनीहरूको दाम्पत्य अवधिले पनि निर्धारण गर्छ । सुरुवाती दिनमा दम्पतीबीच एकअर्काको रुचि र आकांक्षालाई लिएर हुने गर्छ । त्यसपछि बच्चाको निहुँमा । त्यसपछि फेरि घर व्यवहारको निहुँमा ।

पहिलो चरणमा : एकअर्काको रुचि, आनीबानी र आकंक्षा

दुवै एकअर्कासँग राम्ररी परिचित भइसकेका हुँदैनन् । अर्थात्, एकअर्काको आनीबानी, प्रवृत्ति, सोच, रुचिबारे दुवैलाई थाह हुँदैन। विवाहको सुरुवाती दिनमा उनीहरूलाई एकअर्काको व्यवहार र सोच र चिन्तन बुझ्नै समय लाग्छ । यहि क्रममा उनीहरूबीच कतिपय असझदारी हुन्छ । ठाकठुक पर्छ ।

दोस्रो चरणमा : बालबच्चको निहुँमा

बच्चा जन्माइसकेपछि भने उनीहरू एक हिसाबले परिपक्क भइसकेका हुन्छन् । आफ्ना पार्टनरले के चाहन्छन्, के रुचाउँछन् भन्ने कुरा बुझिसकेका हुन्छन् । यद्यपि बच्चाको विषयलाई लिएर उनीहरूबीच झगडा हुन्छ ।

बच्चालाई राम्ररी स्याहार नगरेको, बच्चालाई राम्ररी नखुवाएको आदि निहुँमा दम्पतीबीच झगडा हुन्छ । बच्चा फोहोरमा खेले, चोटपटक लागेमा पनि उक्त विषयलाई लिएर दम्पतीबीच भनाभन पर्छ ।

तेस्रो चरणमा : घरायसी विषयलाई लिएर

बच्चा हुर्किँदै गएपछि उनीहरूले बच्चाकै निहुँमा झगडा गर्न छाड्छन् । यद्यपि अर्को निहुँ बन्छ घरायसी कुरा । घरायसी व्यवहार मिलाउने क्रममा दुवैबीच ठाकठुक पर्छ । घरको खर्च कसरी कम गर्ने, सामग्रीहरू कसरी जतन गर्ने, चाडपर्व कसरी टार्ने भन्ने विषयमा भनाभन पर्छ । यसैगरी आमाबुबा, सासुससुरा, नन्द भाउजू आदिलाई निहुँ बनाएर पनि उनीहरूबीच मनमुटाव हुन्छ ।

चौथो चरण : आपसी आशंका र अविश्वास

सबै दम्पतीबीच यो विषयले प्रवेश पाउँछ भन्ने छैन । पहिलो चरणमै परिपक्क भइसकेका दम्पतीबीच अविश्वास र आशंकाको स्थिति रहँदैन । तर, कतिपय दम्पतीबीच भने एकअर्कामा आशंका गर्ने वातावरण बन्न थाल्छ । अहिले फेसबुक जस्ता सामाजिक सञ्जाल यसको अर्को निहुँ बनेको छ ।

आफ्ना पार्टनर हरक्षण मोबाइलमा लिप्त भइरहँदा वा अरू नै साथीहरूसँग रमाइरहँदा दम्पतीबीच आशंका पैदा हुन्छ ।

साइड इफेक्ट

दम्पतीबीचको झगडा उनीहरूमा मात्र सीमित हुँदैन । यसले सबैभन्दा बढी पिरोल्ने भनेका साना बालबच्चालाई हो । उनीहरू बेकसुर आमाबुबाको झगडाको सजाय भोग्न बाध्य हुन्छन् । त्यसैगरी यसले पारिवारिक माहोल बिथोल्छ । परिवारका अन्य सदस्यलाई पनि समस्यामा पार्छ ।

के छ उपचार ?

दम्पतीले यदि कुनैपनि असमझदारी वा अविश्वास भए त्यसमा छलफल गर्न सक्छन् । हुन त रिसलाई नियन्त्रण गर्न कठिन छ, यद्यपि पारिवारिक सुखका लागि यो आवश्यक पनि छ । त्यसैले, धैर्यता र विनम्रता नै दम्पतीबीच हुने झगडाको ओखती हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment