Comments Add Comment

‘घोषणा गरेको सहुलियत कार्यान्वयन हुन्छ’

११ वैशाख, काठमाडौं । बैंकका सञ्चालकहरुको संगठन नेपाल बैंकर्स परिसंघका उपाध्यक्ष भोजबहादुर शाहले बैंकर्स संघले असल संस्कार नदेखाएको बताएका छन् ।

उपाध्यक्ष शाहले परिसंघले गरेको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै बैंकर्स संघका अधिकारीहरुले बोल्दै हिँड्नु राम्रो संस्कार नभएको प्रतिक्रिया दिएका हुन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले एक/दुई दिनमै छलफल हुने र त्यसपछि निकास निस्कने बताए । परिसंघले दिने भनेको सहुलियत पनि कार्यान्वयन हुने उनले बताए ।

परिसंघले केही दिन अघि कोरोनाका कारण ऋणीहरु समस्यामा परेको भन्दै ब्याजदर घटाउने तथा वैशाखसम्म तिर्दा हर्जना ब्याज मिनाहा गर्ने निर्णय गरेको थियो । उता बैंककै सीईओहरुको संगठन नेपाल बैंकर्स संघले भने परिसंघले गरेको निर्णय कार्यान्वयन गर्न नसकिने बताउँदै आएको छ ।

केही समस्या भए संवादमार्फत समाधान गर्नु पर्ने र समाधान नभएको अवस्थामा मात्रै सञ्चारमाध्यममा आफ्ना कुरा राख्नु पर्ने उनले बताए । संवाद र सहकार्य गरेर सबैले असल संस्कार र सहकार्यको विकास गर्नु पर्ने उपाध्यक्ष शाहले बताए ।

‘केही जिज्ञासा गुनासा भए बसेर छलफल गर्ने हो, दुवै संगठन एक अर्काका परिपुरक हुन् भनेर सहकार्य र कार्यान्वयनका लागि भनेर वहाँहरुकोमा पठाएका छौं,’ उनले भने, ‘हामीसँग संवाद र सहकार्य गरेरमात्रै कुनै समाधान भएन भने बल्ल पत्रपत्रिकामा आफ्ना कुरा राख्ने हो, हामीले असल संस्कार र सहकार्यको विकास गर्ने हो ।’

सीईओहरु पनि सञ्चालक समितिकै माताहतका भएका भन्दै उनले छलफलबाटै समाधान निस्कनु पर्ने बताए । केही दिनमा नै परिसंघ र बैंकर्स संघबीच छलफल गरेर निकास निस्कनेमा आफू ढुक्क भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment