Comments Add Comment

अब लकडाउन के हुन्छ ? तीन ‘टी’ ले गर्नेछ निर्धारण

१२ वैशाख, काठमाडौं । एकातिर नयाँनयाँ स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन्, अर्कातिर घोषित लकडाउनको अवधि सकिन तीन दिन मात्र बाँकी छ ।

यसले वैशाख १५ पछि लकडाउन होला कि नहोला ? भए पनि कुन मोडलको होला भन्ने प्रश्न छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १५ पछि लकडाउन के गर्ने भन्ने प्रस्ताव ल्याउन कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् । एकातिर सहज जीवनको खोजी भइरहेको र अर्कोतिर नयाँ नयाँ ठाउँमा संक्रमण देखिएको भन्दै उनले भनेका छन्, ‘हामी अप्ठ्यारो अवस्थामा पुगेको छौँ । यस्तो बेला हेलचेक्र्याइँ गर्नु हुँदैन । काठमाडौंमा महामारी फैलियो भने थाम्न सक्दैनौँ । सबै परिस्थितिको विश्लेषण गरेर प्रस्ताव ल्याउनुहोला, मन्त्रिपरिषदमा छलफल गरौँला ।’

प्रधानमन्त्रीको निर्देशन लगतै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भोलि बिहान ११ बजे बैठक बोलाएका छन् ।

तर, वैशाख १५ पछि नै लकडाउन क्षेत्रगत वा अहिलेभन्दा खुकुलो हुने सम्भावना कम छ । एक साताका लागि लकडाउन लम्ब्याउने र यो अवधिमा हुने परीक्षणको रिपोर्टका आधारमा नयाँ रणनीति बन्ने देखिन्छ ।

स्वास्थ्यले तोकेका तीन आधार

लकडाउनको आगामी मोडलबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृहकार्य गरिरहेको छ । मन्त्रालयका आपतकालीन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार लकडाउनको मोडल कस्तो हुन्छ भन्ने तीन ‘टी’ आगामी दिनहरूमा हुने टेस्ट, ट्रेसिङ र ट्रान्समिसनले निर्धारण गर्छ ।

लकडाउन निर्धारणका लागि टेस्ट र ट्रेसिङसँगै कोरोना संक्रमणको ट्रान्समिसनका आधारलाई पनि हेरिनेछ । कम्युनिटी ट्रान्समिसन अर्थात् समुदायस्तरमा संक्रमण देखियो भने लकडाउन झन् कडा गर्नुपर्ने हुन्छ

उनकाअनुसार अबका केही दिन कोभिड–१९ को परीक्षण दैनिक १५ सय पुर्‍याइनेछ । शुक्रबार मात्र प्रदेश २ का सबै जिल्लामा गरी करिब १५२० नमुना संकलन गर्न छ वटा टोली काठमाडौंबाट पठाएको छ । बारा र पर्साका लागि एक टोली, धनुषा र महोत्तरीका लागि एक र बाँकी ६ जिल्ला रौतहट, सर्लाही सिराहा, सप्तरीका लागि एक—एक टोली हिँडेको हो । टोलीमा स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका ल्याब टेक्निसियन छन् ।

उनीहरूले प्रदेश–२ मा रहेका मस्जिदका जमाती समूह, बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरू र कोभिड–१९ का आशंकित व्यक्तिहरूको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षणका लागि धरान, विराटनगर, हेटौंडा, चितवन र काठमाडौंको ल्याबमा पठाउने छन् ।

यसरी संकलन गरिएको नमुनाको नजिताले लकडाउन रणनीति तय गर्न मद्दत गर्ने मन्त्रालयको विश्वास छ । डाक्टर लोहनी भन्छन्, ‘हाम्रो योजना पार्सियल लकडाउन नै हो, तर त्यसका लागि पनि प्रदेशस्तरीय केही रिजल्टहरू कुर्नुपर्छ ।’

डाक्टर लोहनीका अनुसार अहिले सम्भावित जोखिम क्षेत्रमा प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशलाई लिइएको छ । र, तीन वटै प्रदेशको दैनिक समीक्षा भइरहेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले पनि पछिल्लो टेस्ट, त्यसमा पोजेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ र टेष्ट गरेर मात्र सेफ जोन मार्किङ गर्ने तयारी भइरहेको छ । उनले अनलाइनखबरसँग भने, ‘५० हजार पीसीआर टेस्टको नतिजा आएपछि लकडाउनको एउटा मोडल निर्धारण हुन्छ ।’

लकडाउन निर्धारणका लागि टेस्ट र ट्रेसिङसँगै कोरोना संक्रमणको ट्रान्समिसनका आधारलाई पनि हेरिनेछ ।

कम्युनिटी ट्रान्समिसन अर्थात् समुदायस्तरमा संक्रमण देखियो भने लकडाउन झन् कडा गर्नुपर्ने हुन्छ भने संक्रमण अहिलेकै अवस्थामा रहिरह्यो भने पार्सियल लकडाउन गर्न सकिने विज्ञहरूको सुझाव छ । डाक्टर लोहनी भन्छन्, ‘टेस्टको नतिजा र ट्रान्समिसनको अवस्था नबुझिकन केही भनिहाल्ने अवस्था छैन ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पनि अबको एक साता लकडाउन पहिलेकै अवस्था लम्बिनसक्ने बताउँछन् । भारतमा कोरोना संक्रमण बढिरहेकाले पनि नेपालमा लकडाउन खुलाउँदा गम्भीर असर हुने सक्नेतर्फ ध्यान दिनुपर्ने भन्दै उनले भने, ‘हामीले देशको आर्थिक, सामाजिक र अन्य विविध क्षेत्रको असरसँगै सम्भावित जोखिमलाई हेरेर निर्णय गर्नुपर्छ । अहिले नै लकडाउन खोल्न हतार गर्दा झन् खतरा निम्तिन सक्छ ।’

स्वास्थ्यमन्त्री ढकाल क्षेत्रगत लकडाउनको बहस भएपनि कुन क्षेत्रलाई खुकुलो बनाउने र कुन क्षेत्रलाई कडा गर्ने निर्णय भइनसकेको बताउँछन् । विज्ञहरूको सुझाव अनुरुप उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडल निर्धारण गर्ने बताउँदै उनी भन्छन्, ‘१५ गतेसम्ममा केही निर्णय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment