Comments Add Comment

सरकारको निष्कर्ष : लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा

१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ ।

लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।

शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘केही कमीकमजोरीका बाबजुद कोरोना नियन्त्रणका लागि हामीले जे उपाय अवलम्बन गरेका छौँ, त्यो प्रभावकारी भएको छ भन्ने हाम्रो निष्कर्ष छ ।’

यो पनि पढ्नुहोस हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको समन्वय समितिको निष्कर्ष रहेको सुनाए । उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको भन्दै उनले भने, ‘हामी सही ट्र्याकमा छौँ । तर, छिमेकी मुलुकहरूको अवस्थालाई हेरेर जानुपर्छ । अब कति दिन थप्ने, के गर्ने भन्ने मन्त्रिपरिषद्ले गर्नेछ ।’

उत्पादन, ढुवानी र वितरणलाई सहज बनाउने, हिमाली जिल्लाहरूमा खुला गर्ने लगायतका सुझाव पनि बैठकमा आएको थियो । एक मन्त्रीले भने, ‘बैठकमा भएको छलफलका आधारमा उपप्रधानमन्त्रीसहित सचिवहरूको टिम बसेर प्रस्ताव तयार पार्छ । त्यसअनुसार मन्त्रिपरिषदले आवश्यक निर्णय गर्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment