Comments Add Comment

तीन साताकी शिशुले जितिन् कोरोनाविरुद्धको लडाइँ

काठमाडौं । स्कटल्याण्डकी ट्रेसी मेग्वायर त्यो पल याद गर्छिन्, जहाँ डाक्टरले आफ्नो तीन साताकी छोरीको नाकमा कोरोना भाइरस परीक्षणका लागि स्वाब हाल्दै गरेको देखेकी थिइन् ।

यो उनका लागि निकै कठिन दृश्य थियो । उनी भन्छिन्, ‘यो पहिलो पटक थियो कि मैले मेरो बच्चाको आँखामा आँसु देखेकी थिए । म पनि रोइरहेको थिएँ । सायद त्यो अवस्थामा हामीले एकअर्कालाई साथ दिइरहेका थियौँ ।’

समयभन्दा पनि पहिला नै जन्मिएको उक्त बच्चाको तौल केवल डेढ किलो थियो । उनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि हुँदा उनको उमेर तीन साताको थियो ।

२६ मार्चमा उनको जन्म भएको थियो । उनी परिवारमा आएपछि परिवारले उनको स्वागतको लागि राखेका धेरै कामहरू रोकिएरै बसेका छन् ।

बच्चालाई जन्म दिएपछि पनि प्रि–एक्लेमप्सियाको समस्या हुनसक्ने भन्दै उनले लंकाशायरको विशाव अस्पताल पठाइएको थियो ।

बच्चालाई कोरोना भएको थाहा भएपछि…

बच्चालाई नुहाउँदा नै कोरोना भाइरसको केही लक्षण देखिएको थियो । तर, त्यस्ता लक्षणहरू पहिचान गर्नु निकै कठिन काम थियो । आफूले जन्माएको सन्तान मुलुकको सबैभन्दा कम उमेरको कोरोना संक्रमित बन्नु ट्रेसीको लागि पीडादायी समाचार थियो ।

ट्रेसीलाई डाक्टरहरूले बच्चाको अवस्था ठिक रहेको तर कोरोना भाइरसको संक्रमण रहेको बताएका थिए । उनीहरूले जति सान्त्वना दिए पनि ट्रेसीको मन भने आत्तिरहेको थियो । छोरीलाई कसरी कोरोना भाइरसको संक्रमण देखियो र यति सानो उमेरमा उसले कसरी कोरोना भाइरसँग लड्न सक्लिन् भन्ने चिन्ताले उनलाई सताइरह्यो । पेटोन (शिशुको नाम)लाई श्वासप्रश्वासमा सहज होस् भनेर स्टेरोयड दिइएको थियो । नर्सहरूले बच्चाको राम्रो स्याहार गरिरहेका थिए । यद्यपि अपरेसनपछि ट्रेसीलाई घर जान सुझाइएको थियो र १४ दिनसम्म शिशुभन्दा टाढा नै रहनुपर्ने बताइएको थियो ।

ट्रेसीले डाक्टरसँग शिशुसँग टाढा रहन नचाहेको सुनाइन् । उनको भावनालाई सम्मान गर्दै डाक्टरहरूले पनि सँगै बस्न सक्ने अनुमति दिए । तर, उनका पतिले भने घर आएपछि आइसोलेसनमा बस्नुपर्ने भयो ।

बिस्तारै दिनहरू बित्दै गए । स्कटल्याण्डमा कोरोना संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दै गए । तर, पेटोन भने ठिक हुँदै थिइन् ।

ट्रेसी पतिको स्थानमा आफूलाई राखेर हेर्दा भने आफू असहाय भएको पाउँछिन् । एक त उनकी छोरी जन्मिएको केही समयमा नै यो अवस्थामा पुगेकी थिइन् भने पत्नी पनि पूर्णरुपमा स्वस्थ छैनन् । तथापि उनी भने नजिक आउन पाउँदैनन् ।

डाक्टर र नर्समाथि भरोसा राख्नुहोस्

ट्रेसी आफ्नी छोरीसँग घर फर्किइन् । अहिले उनी र उनको परिवार डाक्टर र नर्सको प्रशंसा गर्ने गर्छन् ।

ट्रेसी उनीहरूले आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर अविश्वसनीय काम गरिरहेको बताउँछिन् । उनीहरूले आफ्नो कुनै चिन्ता नगरी छोरीलाई भोको नराखेकोमा टे«सीले आभार व्यक्त गरिन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment