Comments Add Comment

पोखरामा कोरोना राहत : कतै नाराबाजी, कतै वडाध्यक्षकै उजुरी

घरबेटी पनि थाल थाप्न आए, राहतको दुरुपयोग भयो : मेयर

१४ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको ९ नम्बर वडा कार्यालयमा आइतबार ठूलो संख्यामा मानिसहरू जम्मा भएर नाराबाजी सुरु गरे । आफूहरू मजदुर भएको र खान–लाउनै मुस्किल भएकोले राहत दिनुपर्ने उनीहरूको माग थियो ।

वडाले त्यहाँ जम्मा भएका सबैको नाम राहतका लागि टिपेपछि नाराबाजी साम्य भयो । तर, वडाको दाबी छ, ‘उनीहरू कसैले उक्साएर कराएका हुन् ।’

केही दिनअघि वडा नम्बर १७ मा राहतको नाममा एक डाडु तेल र दुई मुठ्ठी दाल दिएको भन्दै सर्वत्र विरोध भएको थियो । वडाको लापरबाहीले १४ जनाको नाममा आएको राहत ५० जना परिवारलाई बाँड्दा विवाद हुन गएको थियो ।

वडा नम्बर २१ मा ‘हुनेखाने नै राहतको लाइनमा आएको’ भन्दै वडाध्यक्ष आफैँले उजुरी गरेका छन् । वडाध्यक्ष खगराज आचार्य भन्छन्, ‘तँलाई चुनावमा भोट दिएका हौँ भन्दै राहत माग्न आउँछन् । भोट दिएको नाममा राहत माग्न आएर हुन्छ र ?’

पोखरा महानगर स्वयंले २१ हजार र विभिन्न संघसंस्थामार्फत १० हजारलाई राहत वितरण गरेको छ । तर, आफूले राहत नपाएको र दैनिकी गुजार्न मुस्किल भएकोभन्दै जिल्ला छाड्ने क्रम अझै रोकिएको छैन । विभिन्न वडामा राहतका लागि सिफारिस माग गर्दै पुग्नेको संख्या पनि घटेको छैन ।

श्रमजीवीलाई बाँडिएको राहतमा राजनीति गर्दा लक्षित वर्गमा पुग्न नसकेको पोखरा–२१ का वडाध्यक्ष आचार्य बताउँछन् । ‘सर्वदलीय बैठक बसेर राहत वितरण गरेका हौँ तर केहीले आफ्नो स्वार्थका लागि राहतमै राजनीति गर्न खोजे,’ उनले भने ।

राहतका थरिथरि ‘मोडल’ !

पहिलो चरणमा महानगरपालिकाले २१ हजार परिवारमा खाद्यान्न बाँडेको थियो । तर, सबै मजदुरको घरमा नपुगेको गुनासो बढेपछि थरिथरि उपाय अपनाएको छ । कतै निःशुल्क खाना खुवाउन समन्वय गरिएको छ त कतै घुम्ती राहत कार्यक्रम सञ्चालन गरेर घरमै खाद्यान्न पुर्‍याउँदै आएको छ ।

घुम्ती राहतका कार्यक्रमका लागि महानगरले ११८१ नम्बरको हटलाइन सेवा सञ्चालन गरेको छ । यो नम्बरमा पहिलो चरणमा राहत नपाएका वा अन्य कारणले चुलो निभ्ने अवस्थामा पुगेपछि सम्पर्क गर्नुपर्छ । त्यसपछि महानगरका कर्मचारी घरमै पुग्छन् र उसको अवस्था हेरेर राहत दिने वा नदिने छुट्याउँछन् ।

महानगर पञ्जीकरण शाखा प्रमुख चन्द्रकान्त तिमिल्सिनाले भने, ‘फोन आइसकेपछि हामी उनीहरू बसेकै ठाउँमा पुग्छौँ र उनीहरूको स्थितिबारे बुझेर मात्रै राहत बाँड्छौँ ।’ हालसम्म घुम्ती सेवामार्फत ६६ परिवारलाई राहत दिइएको छ ।

महानगरको समन्वयमा अहिले विभिन्न समूह, संघसंस्थाले निःशुल्क खाना खुवाउँदै आएका छन् । पौरखी स्वयंसेवक समूह, याक तिब्बेतियन रेस्टुरेन्ट, युनाइटेड क्लब लगायतले घरघरमै पुर्‍याउने गरी निःशुल्क खानाको व्यवस्था गरेका छन् ।

अब राहत बन्द गर्छौँ : मेयर जिसी

पोखरा महानगरपालिकाकाअनुसार अहिलेसम्म दुई करोड १५ लाखभन्दा बढीको राहत बाँडिसकिएको छ । यसरी बाँडेको राहत ७० प्रतिशत लक्षित वर्गलाई पुगेको र ३० प्रतिशत दुरुपयोग भएको मेयर मानबहादुर जिसी स्वयंले स्वीकार गरेका छन् ।

‘विपन्न वर्गलाई वितरण गरेको राहतमा घरबेटी पनि थाल थाप्न आए । त्यसले थोरै तलमाथि हुन गएको हो’ उनले भने, ‘नत्र राहत सबैलाई पुगेको छ ।’

अब फेरि राहत बाँड्न थप ७ करोड चाहिने भए पनि त्यो रकम महानगरको कोषमा नभएको उनले बताए । ‘अहिलेसम्मको राहत कार्यक्रम १५ गतेसम्मका लागि मात्रै हो । अब त्यसलाई बन्द गरेर मजदुरलाई फेरि काममा फर्किने वातावरण बनाइदिने योजनामा छौँ,’ मेयर जिसीले अनलाइनखबरसँग भने, ‘सधैं राहत बाँडेर बस्न महानगर सक्दैन । बजेट पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment