+
+
Shares
बजेट बहस :

जीडीपीको ५ प्रतिशत बराबरको राहत प्याकेज चाहिन्छ

अब 'भी सेप' हैन 'यू सेप' रिकभरी

शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
२०७७ वैशाख १५ गते ८:४५

कोभिड-१९ को प्रकोप सुरु हुनुभन्दा पहिला नै हाम्रो अर्थतन्त्र विस्तारै ‘स्लो डाउन’ मा गइसकेको थियो । एसियाली विकास बैंक (एडिबी) ले  नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिसकेको थियो । अहिलेको अवस्थामा त हाम्रो वृद्धि सकारात्मक भयो भने मात्रै पनि भाग्यमानी मान्नुपर्छ ।

कोरोनाको सन्त्राश र लकडाउनले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करिब ५ सय अर्ब रुपैयाँको नोक्सान भइसकेको छ । हामीले करिब १२० अर्बको राजस्व पनि गुमाएका छौं । त्यो भन्दा पनि महत्वपूर्ण कुरा हाम्रो अर्थतन्त्रको मेरुदण्डका रुपमा जो आप्रवासी कामदारहरु छन्, उनीहरुमध्ये करिब ५ लाख विदेशबाट फर्किने संकेत पनि देखिएको छ । विश्वव्यापी महामारी र त्यसले तेलको मूल्यमा परेको प्रभावले वैदेशिक रोजगरी संकटमा छ ।

त्यस्तै नेपालको पर्यटन क्षेत्रमा पनि दुई वर्ष जति प्रभाव रहन सक्छ । त्यसले देशभित्रै ठूलो बेरोजगारी सिर्जना गर्नेछ । अहिलेसम्म पर्यटन क्षेत्रले पनि धेरै रोजगारी सिर्जना गरेको थियो । त्यसैले आउने समय हाम्रो लागि चुनौतीपूर्ण हुन्छ भन्नेमा दुई मत छैन ।

अब ‘यू सेप’ रिकभरी

हुन त नेपालको निजी क्षेत्रले धेरै चुनौतिहरु पहिला पनि देख्दै र भोग्दै आएको हो । हामीले राजनीतिक परिवर्तनका बेला धेरै संक्रमणकालहरु भोगेका छौं । श्रम सम्बन्ध बिग्रेको अवस्था पनि पार गरेका छौं । ऊर्जा संकट पनि भोगेकै हो । भूकम्प, नाकाबन्दी जस्ता संकटको पनि सामना गरेकै हौं ।

जस्तोसुकै समस्या पर्दा पनि हामीले विगतमा ‘भी सेप रिकभरी’ गरेका थियौं । यसपाली कोभिड १९ को संकटपछि भने पुनरुत्थान त्यति द्रुत हुँदैन कि जस्तो लागेको छ । हामीले यो अवस्थाबाट माथि उठ्न लामो यात्रा तय गर्नुपर्ने जस्तो देखिन्छ ।

नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान निकै राम्रो थियो । रेमिट्यान्सले उपभोग बढाएको थियो । त्यसले हाम्रो राजस्व पनि वृद्धि गर्न सहयोग गरेकै थियो । यी दुवै क्षेत्र समस्यामा परेका छन् । रेमिट्यान्स घट्दा उपभोग घटेर त्यसको असर राजस्वमा पर्नेछ ।

यसबाट विकास आयोजनाहरु पनि प्रभावित हुने अवस्था देखिन्छ । यस्ता धेरै प्रभाव र कारणहरु छन्, जसका कारण अब हामीले ‘भी सेप रिकभरी’ नभएर ‘यू सेप रिकभरी’ मा जान्छौं होला । यू सेप रिकभरी भनेको धिमा गतिमा हुने पुनरुत्थान हो ।

अब धेरै सजिलो अवस्था छैन । हामी भन्न चाहँदैनौं कि यो अवस्थामा निजी क्षेत्र बाँच्न सक्दैन । तर, अब रोजगारी सिर्जना कसले गर्ने, राजस्व कसरी उठाउने भन्ने चिन्ता छ ।

निजी क्षेत्रका माग

सिंगै निजी क्षेत्रले यो अवस्थामा एउटा साझा धारणा बनाउनुपर्छ । हामीलाई थाहा छ कि अहिले सरकारको खर्च गर्ने क्षमता कमजोर छ । सरकार आफ्नै चुनौतीसँग लडिरहेको छ । त्यसैले हाम्रा केही सुझावहरु छन् । सरकारसँग केही लिने भन्दा पनि यो चुनौती पार लगाउन के गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ ।

हाम्रो पहिलो सुझाव बैंकिङ क्षेत्रसँग सम्बन्धित छ । राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरण प्रयोग गरेर ऋणको ब्याजदर घटाउन सक्छ । हामीले के भनेका छौं भने एक खर्बको पुनःकर्जा बजेट सरकारले बनाउनुपर्छ । ५ प्रतिशतमा निजी क्षेत्रले पहुँच पाउनुपर्छ । यसमा सरकारको कुनै जोखिम छैन । सम्भाब्य जोखिम वाणिज्य बैंकहरुले लिन्छन् । यो प्रभावित उद्योग व्यवसाय जगाउन महत्वपूर्ण अस्त्र हुन सक्छ ।

अहिले बैंकको जुन सीसीडी रेसियो छ, त्यसलाई कम्तिमा एक वर्षका लागि खुकुलो बनाउँदा निजी क्षेत्रलाई राहत मिल्छ । त्यसैगरी ऋणको पुनसंरचना गर्न दिन पर्‍यो । अहिले आवधिक कर्जा तिर्न चुनौतीको अवस्था हो । त्यसैले पुनःसंरचनाका लागि अलि खुकुलो नीति आयो भने निजी क्षेत्रले छिटो रिकभर गर्न सक्छ ।

हामीले लकडाउन अवधिमा ५० प्रतिशत मात्रै तलब दिन सक्छौं भनेका छौं । देशमा पर्यटन, साना-मझौला उद्योग व्यवसायहरु धेरै छन्, जसले अहिले श्रमिकको तलब दिन सकेका छैनन् । व्यापार-व्यवसाय नहुँदा पनि ठूलो खर्च गर्नुपर्ने अवस्था छ ।

हामीले एक वर्षका लागि श्रमसम्बद्ध सामूहिक सौदाबाजीलाई रोक्नुपर्छ भनेका छौं । एक वर्षसम्म यस्तो सामूहिक सौदाबाजी भयो भने अर्को समस्या थपिने कुरामा सचेत गराएका छौं ।

त्यसैगरी कुनै उद्योगले आफ्नो क्षमता घटाउन र बन्द गर्न चाहन्छ भने श्रम ऐनअनुसार निकै गाह्रो छ । यो अवस्थामा त्यस्ता उद्योगलाई सहज रुपमा मौका दिनुपर्छ । त्यसो भयो भने मात्रै भोलि उसले अर्को उद्योग लगाएर वा पुनः सञ्चालनमा ल्याएर रोजगारी सिर्जना गर्न सक्छ ।

हामीले ४ महिनासम्मको विद्युतको डिमान्ड चार्ज लिन हुँदैन पनि भनेका छौं । अहिले धेरै उद्योग बन्द भइराख्दा पनि डिमान्ड चार्ज विद्युत प्राधिकरणले लिइरहेको छ । यो हुनु हुँदैन ।

हामीले भुक्तानीको समय पनि केही विस्तार होस् भनिरहेका छौं । अहिले विद्युत खपत बढाउने नीति सरकारको हुनुपर्छ । विद्युत प्राधिकरण नाफामुलक संस्था हैन ।  सेवा गर्नुपर्ने संस्थाले खपत बढाउनका लागि महसुलमा बल्कमा २० प्रतिशत छुट दिनुपर्छ ।

जीडीपीको ५ प्रतिशतको प्याकेज

सबैभन्दा ठूलो अपेक्षा चाहीँ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तिमा ५ प्रतिशत बराबर हुने गरी उत्प्रेरणा प्याकेज आओस् भन्ने हो । त्यो प्याकेजको रकमलाई त्यसलाई सरकारले निम्नवर्गीय सामाजिक-आर्थिक समूह  लगानी गर्नुपर्छ, या त उनीहरुलाई वितरण गर्नुपर्छ । त्यसले उपभोग बढाउँछ र त्यसबाट मात्रै अर्थतन्त्र ट्र्याकमा फर्किन्छ । जीडीपीको ५ प्रतिशत लक्षित समूह र समुदायमा खर्च गर्न सकियो भने अहिले जुन नोक्सान भएको छ, त्यो रिकभर हुन सक्छ ।

यसैगरी अहिले निजी क्षेत्रको कतिपय रकम फसिरहेको छ । भ्याट वा कुनै अदालती प्रक्रियामा पनि जति पनि प्राप्त हुनुपर्ने रकम छन्, त्यसलाई निकासा गर्न सकियो भने निजी क्षेत्रलाई नगद प्रवाहमा सहज हने थियो ।

हामीले सरकारलाई कुनै ठूलो आर्थिक भार नहुने गरी काम गर्न सल्लाह दिएका छौं । हाम्रो सुझाव अनुसारको प्याकेज आयो भने यो संकटबाट बाहिर आउन सक्छौं । हामीले अरु-अरु देशको पनि तुलनात्मक सूची बनाएर सरकारलाई दिएका छौं । हाम्रोजस्तै अर्थतन्त्र भएका देशले के-के गरेका छन् भनेर पनि हेर्नुपर्छ ।

समग्रमा हामीले यो संकटलाई अवसरका रुपमा लिएका छैनौं, चुनौतीमा रुपमा बुझेका छौं । हामीले उद्योग, व्यवसाय बचाउनको लागि मात्र केही राहत चाहियो भनेका हौं ।

(द एसोसियसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालले गरेको प्रि–बजेट अन्तरक्रियामा  गोल्छाले राखेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?