Comments Add Comment

होटल तथा एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गरौँ : चेम्बर

१५ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित होटेल र एयरलाइन्स उद्योग बचाउन वित्तीय प्याकेज ल्याउनुपर्ने माग गरेको छ । चेम्बर अध्यक्ष राजेशकाशी श्रेष्ठले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष सुझाव पेश गर्दै होटल तथा एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न आग्रह गरेका छन्।

ऋण, ऋणको ग्यारेन्टी, कर्पोरेट बन्डमा सरकार वा राष्ट्र बैङ्कबाट टेवा दिनुपर्ने माग गरिएको छ । कर छुट तथा एयरपोर्ट चार्जलगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्न समेत चेम्बरले माग गरेको छ ।

कोरोनाका कारण सेवा क्षेत्र भित्र समेत पर्यटन र होटेल क्षेत्र बढी प्रभावित भएका छन् । किनकि मुख्य पर्यटकीय सिजनमा पर्यटक आगमनमा प्रतिबन्ध लाग्यो भने मुलुक भित्र पनि लकडाउनका कारण व्यवसाय शून्यमा रहेको छ ।

चेम्बरले आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरेको छ । कोरोनाको प्रभाव कम हुने वित्तिकै आन्तरिक पर्यटन प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने र यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारी र आम नागरिकहरूलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणमा प्रेरित गर्नुपर्ने चेम्बरको माग छ ।

निजी क्षेत्रलाई पनि प्याकेजमा छुट दिएर आन्तरिक पर्यटन प्रबर्द्धनको वातावरण बनाउनुपर्ने चेम्बरको माग रहेको छ ।

आगामी सिजनमा चीनबाट पर्यटक भित्र्याउ
अहिले चीनमा कोरोनाको संक्रमण कम भइरहेको सोहीकारण आगामी सेप्टेम्बर-अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न सहरबाट पर्यटक भित्राउने तर्फ सरकारी स्तरमै पहल थाल्नु पर्ने चेम्बरको सुझाव छ ।

नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरूले चीनको विभिन्न सहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटक भित्राउने तर्फ पनि पहल गरिनुपर्ने चेम्बरको भनाइ छ ।

पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रले पनि धेरै नाफा नराखी सेवाको सुनिश्चितता गर्नुपर्ने चेम्बरको पर्यटनमन्त्रीलाई सुझाव दिएको छ ।

डिसइन्फेक्सन गर
पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखी अनिवार्य गर्न समेत चेम्बरले सुझाव दिएको छ ।

हवाईजहाज, बस, कारसहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, र्‍याफ्टिङ बन्जी-प्याराग्लाइडिङ-साइक्लिङ-बोटिङ-हात्तीसफारीलगायत पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्न सुझाव दिइएको छ ।

पर्यटन पुनरुत्थान संयन्त्र बनाउ

भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउनुपर्ने चेम्बरको माग छ । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गत मुख्य निकायहरूका लागि थिङ्क ट्याङ्कको काम गर्ने परिकल्पना गरिएको छ ।

अन्य मुख्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रम बनाई कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने जिम्मेवारी संयन्त्रमार्फत अगाडि बढाउन सुझाव दिइएको छ ।

मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजमलगायत विधागत पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याउन समेत माग गरिएको छ ।

त्यसैगरी, आईकाओ तथा अन्य मुलुकका हवाई सेवा प्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा सञ्चालन गर्न सकिने सोवारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाई सञ्चालन गर्न पाइला चाल्न सुझाव दिइएको छ ।

पर्यटक चाप घटेका बेला पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिन, राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता समेत माग गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौन्दर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरूको मर्मत सम्भार लगायत काम यही बेलागर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिने चेम्बरको भनाइ छ ।

निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहनमूलक प्याकेज ल्याउन सकिने चेम्बरले जनाएको छ । हवाई उड्ययनतर्फ ऋण दिन वित्तीय संस्था हिच्किचाउने हुँदा ऋण, ऋणको ग्यारेन्टी, कर्पोरेट बन्डमा सरकार वा राष्ट्र बैङ्कबाट टेवा दिनुपर्ने माग गरिएको छ । कर छुट लगायत वित्तीय सहयोग प्रदान गर्नुपर्ने र अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाई भाडा दर पनि घटाइनुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment